थपिए ९६ प्रहरी निरीक्षक : निरीक्षकको कूल संख्या १ हजार ५ सय १८

थपिए ९६ प्रहरी निरीक्षक : निरीक्षकको कूल संख्या १ हजार ५ सय १८


खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा ९६ जना थपिएका छन् । अब नेपाल प्रहरीमा प्रहरी निरीक्षकको संख्या १ हजार ५ सय १८ जना रहेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भिमप्रसाद ढकालले नेपाल प्रहरी प्रधान कार्यालयमा नयाँ प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरे ।

२०८० कात्तिक ३ गते प्रकाशित विज्ञापनअनुसार खुला प्रतियोगिताको २०८१ असार ९ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ६७ र खुलातर्फ २९ जना गरी कुल ९६ जना प्रहरी निरीक्षक उत्तीर्ण भएका छन् । जसमा ९ जना महिला रहेका छन् । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८१ साउन ३ गतेको निर्णयले साउन ९ गतेदेखि लागू हुने गरी प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन् ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी अतिरिक्त महानिरीक्षक ढकालले नवनियुक्त भएका प्रहरी अधिकृतहरूलाई आम नागरिकको केन्द्रविन्दुमा रहेर कर्तव्य निर्वाह गर्न आग्रह गरे । उनले आगामी दिनमा निष्ठावान, इमानदार र जवाफदेही भई अझ बढी व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारी बहन गर्नुपर्ने बताए ।