- सुरेन्द्र सुवेदी, काठमाडौं
इतिहासमै पहिलो पटक महिला लिलादेवी गड्तौला मुख्यसचिव बनेको भनेर चर्चा भइरहेको छ । लिलादेवी मुख्यसचिव हुँदा यसभित्रका दुई पक्षको भने चर्चा भएको पाइन्न, केवल ‘पहिलो महिला मुख्यसचिव’ भएको भनेरमात्र चर्चा भइरहेको छ ।
विचारणीय पक्ष के छ भने मुख्यसचिव बनाइएकी गड्तौलाभन्दा एघार जना सिनियर सचिवहरू नेपालको निजामति सेवामा कार्यरत छन् । सिनियर सचिवमा तोयानारायण ज्ञवाली, उदयराज सापकोटा, रामकृष्ण सुवेदी, रोशन पोख्रेल, रामेश्वर दंगाल, अर्जुनप्रसाद पोख्रेल, मणिराम गेलाल, दिनेश भट्टराई, एकनारायण अर्याल, कृष्णहरि पुस्कर र रामप्रसाद घिमिरे लिलादेवी गड्तौलाभन्दा सिनियर हुन् ।
अब प्रश्न उठ्छ– सिङ्गो कर्मचारी प्रशासन सञ्चालन गर्ने मुख्यसचिवले दर्जनको संख्यामा आफूभन्दा सिनियर सचिवहरूसित कसरी समन्वय गरेर काम गर्न सक्छिन् ? अनि उनले दिएका निर्देशन उनीभन्दा सिनियर सचिवहरूले कसरी पालना गर्लान् ? यी प्रश्नको बारेमा नागरिकस्तरमा अनभिज्ञता देखिएको छ । सामान्यतया मुख्यसचिव नियुक्ति गर्दा सिनियर तीन जना सचिवमध्येबाट गरिने गरेको पाइन्छ ।
अर्काे पक्ष भनेको निजामति कर्मचारीभित्र एमाले नेताका रूपमा चिनिएका लिलादेवी र एकनारायण अर्याल हुन् । प्रधानमन्त्री केपी शर्मा ओली हालका गृहसचिव अर्याललाई मुख्यसचिव बनाउन चाहनुहुन्छ । आगामी फागुनमा मात्र अर्याललाई मुख्यसचिव बनाउनुपर्ने बाध्यता छ, किनकि उनीभन्दा ८ जना सचिव सिनियर हुँदाहुँदै अर्याललाई बनाउन कठिनाइ बुझेका ओलीले एमालेसित नै निकट रहेकी गड्तौलालाई मुख्यसचिव बनाएर इतिहास पनि रचिने, महिलाहरूको समर्थन पनि हुने भएपछि त्यसो गरेको बुझिएको छ ।
मुख्यसचिव गड्तौला आगामी भदौ १५ मा सेवाबाट निवृत्त हुनेछिन् । त्यसपछि एकनारायणलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिने प्रधानमन्त्री ओलीको तयारी छ । एकनारायणको कार्यकाल आगामी फागुनसम्म छ । फागुनमा उनी पाँचवर्षे कार्यकाल पूरा गरेर निजामति सेवाबाट बाहिरिनुपर्छ । उनको कार्यकाल सकिनुअघि नै उनलाई निमित्त वा कायमुकायम दिएर फागुनमा मुख्यसचिव बनाउने प्रधानमन्त्री ओलीको तयारी रहेको जानकारहरूको बुझाइ छ ।
जे होस्, निजामती प्रशासनको ६९ वर्षे इतिहासमा लगातार २६ पुरुष मुख्यसचिव भए । गड्तौला नेकपा एमालेनिकट भएकै कारण ३५ दिनलाई मात्र भएपनि २७औं मुख्यसचिव बन्न सफल भने भइन् ।
प्रतिक्रिया