काठमाडौं-तराई द्रुतमार्ग खोकना खण्ड : साढे ६ किलोमिटरमा अवरोध कायमै

काठमाडौं-तराई द्रुतमार्ग खोकना खण्ड : साढे ६ किलोमिटरमा अवरोध कायमै


  • सुरेन्द्र सुवेदी, काठमाडौं

तराई जोड्ने छोटो मानिएको काठमाडौं-तराई द्रुतमार्गको साढे ६ किलोमिटर ललितपुरको खोकना खण्डमा स्थानीयको अवरोधले सडक निर्माण सुरु हुन सकेको छैन । यो द्रुतमार्गको कूल ७० दशमलव ९७ किलोमिटरमध्ये खोकना क्षेत्रमा स्थानीयले अवरोध गरेपछि नेपाली सेनाले सडक निर्माणको प्याकेज यो क्षेत्रलाई छोडेर अन्यतर्फ भने गरिरहेको छ ।

यो द्रुतमार्ग निर्माण गर्न सरकारले ७ वर्षअघि सेनालाई जिम्मा दिएको हो । सेनाका अनुसार खोकना क्षेत्रमा सुरुविन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापनसम्बन्धी निर्णय र जग्गा अधिग्रहणसम्बन्धी समस्या छ । स्थानीयले द्रुतमार्ग निर्माणमा अवरोध गर्नुको कारण मौलिक रैथाने सम्पदा नष्ट हुुने भन्ने छ ।

खोकना इलाका, प्रवेश बिन्दु यातायात व्यवस्थापनका कार्यहरू र समयमै पूरक वातावरणीय प्रभाव मूल्यांकन (एसईआईए) स्वीकृत नभए आयोजना तोकिएको समयमा सम्पन्न हुन गाह्रो हुने आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेलले बताएका छन् । परियोजना सम्पन्न गर्न सरकारले पटकपटक म्याद थप्दै आएको छ । पछिल्लो म्याद २०८३ साल चैत अन्तिमसम्म छ ।

‘खोकना समस्या समाधानपश्चात खरीद प्रक्रिया शुरू गर्ने तयारी हालतमा हामी छौं,’ उनले भने । खोकना क्षेत्रमा ११ नम्बर प्याकेजअन्तर्गत सेनाले काम गर्न खोजेको हो । यो प्याकेजअन्तर्गत खोकना इलाकाको शून्य किलोमिटरदेखि ६ दशमलव ५ किलोमिटर पर्छ । सेनाका अनुसार यो खण्डमा कुनै प्रगति भएको छैन । त्यसबाहेक अन्य १२ ओटा निर्माण प्याकेज निर्माणको चरणमा छन् ।

नेपाली सेनाले यो खण्डको काम छाडेर अन्यमा काम गर्दै आएको छ । तर, सेनाले खोकना समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिएको छ । ‘खोकना समस्या समाधानपश्चात खरीद प्रक्रिया शुरू गर्ने तयारीमा हामी छौं,’ उनले भने । निर्माण क्षेत्रमा अवरोध भएर काम रोकिँदा निर्माण व्यवसायीले थप दाबी भुक्तानी माग्न सक्ने जोखिम पनि रहेको छ ।

खोकनाको समस्या समाधान नहुँदा उक्त खण्डमा प्रयोग गर्न ल्याइएका बेलिब्रिज प्रयोगविहीन भएको सेनाले जानकारी दिएको छ । सेनाका अनुसार द्रुतमार्गका लागि सेनाले ४ हजार ८ सय ११ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । ३ सय ९४ रोपनी अधिग्रहण गर्न बाँकी छ । त्यसमध्ये खोकना-बुङमती खण्डमा ३ सय ७१ रोपनी अधिग्रहण गर्न बाँकी छ । त्यसबाहेक मकवानपुरमा १९ रोपनी र काठमाडौंमा ४ रोपनी जग्गा अधिग्रहण गर्न बाँकी रहेको सेनाले उल्लेख गरेको छ ।

द्रुतमार्गमा पर्ने ६ वटा सुरूङमध्ये ३ वटाको ८२ दशमलव ८९ प्रतिशत काम सकिएको सेनाले जनाएको छ । सेनाका अनुसार ३ दशमलव ३२ किलोमिटरको महादेओटार सुरूङको बाँकी १ किलोमिटर खन्ने काम चालू आर्थिक वर्षमै सम्पन्न हुनेछ । त्यसका लागि सेनाले रातिको समयमा पनि काम गरिरहेको छ । धेद्रे र लेनडाँडा सुरूङ छेडिएका छन् । सरकारले महादेओटार, धेद्रे र लेनडाँडा सुरूङमार्ग चालू आर्थिक वर्ष ०८१/८२ भित्र सक्ने लक्ष्य बजेटमा राखेको छ । परिमार्जित विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)बाट थप भएका बाँकी ३ वटा सुरूङको डिजाइन तथा पूर्वतयारीका काम भइरहेको पनि सेनाले जनाएको छ । सरकारले चालू आर्थिक वर्षमा यो परियोजनाका लागि २२ अर्ब ५४ करोड रुपैयाँ बजेट छुट्ट्याएको छ ।

file photo