धार्चे पहिरोमा बेपत्ता भएका पाँच जनाको खोजी जारी

धार्चे पहिरोमा बेपत्ता भएका पाँच जनाको खोजी जारी


उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ सिङ्लास्थित रेसेमा गत आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज (१४ साउन) बिहानैदेखि खोजी सुरु गरिएको छ । भीषण पहिरोमा परेर बेपत्ता भएका पाँच जनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि आज बिहानैदेखि खोजी गर्न थालिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठका अनुसार बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी जुटेका छन् । पहिरोले घर तथा कृषि फार्म धेरै पुरिएकाले बेपत्ता भएकाको अवस्था पत्ता लगाउन कठिन भइरहेको, सोमबार दिनभर खोजी गर्दा केही पत्ता नलागेपछि आज फेरि बिहानैबाट खोजीकार्य थालिएको उनको भनाइ छ । बेपत्ताको खोजीका लागि ‘जेसिवी मेसिन’को प्रयोग गरिएको छ ।

आइतबार राति डाँडाबाट खसेको लेदोसहितको पहिरोले स्थानीय जीतबहादुर गुरुङको कृषि फार्म र एक घर बगाउँदा उहाँसहित ३५ वर्षीया कान्छी गुरुङ, ६० वर्षीय सुलाल कान्छा गुरुङ, ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार बेपत्ता भएका थिए ।

डाँडाबाट खसेको पहिरो बुढीगण्डकी नदीसम्म पुगेकाले बेपत्ता भएकाहरूलाई नदीले बगाएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले बुढीगण्डकी नदी किनार आसपासका क्षेत्रमा पनि बेपत्ताको खोजी थालेको बताइएको छ ।

photo: rss