✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ साउन १५ गते तद्अनुसार सन् २०२४ जुलाई ३० तारिख मंगलबार श्रावण कृष्ण पक्षको दशमी तिथि कृतिका नक्षत्र वृद्धि योग वणि करण आनन्दादिमा गद योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२७ मा भयो र सूर्यास्त साँझ १८ः५२ मा हुनेछ । खिर खाने दिन ।
आजको राशिफल
मेष – लाभ हुने काम प्रारम्भ गर्ने समय छतर श्रम भने केही ज्यादा नै गर्नुपर्ने देखिन्छ । भौतिक साधन जुट्नाले प्रशन्नता मिल्ला । तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, सचेत रहनुहोला । अरूका लागि बुद्धि खर्चनुपर्ने योग छ । गोपनियतामा ध्यान दिनु हितकर हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकूद, भ्रमण तथा आमोदप्रमोदका क्रियाकलापमा आकर्षण रहला ।
वृष – शुभता बढ्नेछ । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने समय छ । आर्थिक लाभ हुने दिगो काम प्रारम्भ हुन सक्छ । बिनाप्रतिस्पर्धा धनलाभ होला । तर, कुनैपनि कार्यमा बलजफ्ती गर्दा हानि हुन सक्छ, ख्याल गर्नुहोला । छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुने योग छ । विभिन्न भौतिक साधन संग्रह गर्ने मौका जुर्नसक्छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।
मिथुन – पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् भने उपलब्धिले थप उत्साह जगाउनेछ । विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्ल रहला । कतै अतिथिको रूपमा सम्मान पाइने योग छ । स्वास्थ्य सबल रहनेछ । शत्रुमाथि विजय प्राप्त हुने देखिन्छ ।
कर्कट – भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने समय छ । हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । आय वृद्धि हुनेछ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । प्रतिष्ठा कमाउने बेला छ । प्रेम र मित्रताको बन्धन कसिएर जाने देखिन्छ । बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनुपरे पनि जित तपाईंकै हुने योग छ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण रहला ।
सिंह – रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ । तर व्यावसायिक काममा खर्च केही वृद्धि होला । आजको दिन स्वास्थ्यमा अलि कमजोरी अनुभूति होला, आहारविहारमा विशेष ध्यान राख्नु उचित हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुखशान्ति रहनेछ ।
कन्या – आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । अवसरवादीहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । कमजोर मानसिकताले पछि परिने योग रहेकोले आत्मविश्वासको भाव जागृत गराउने प्रयत्न गर्नु उचित हुनेछ । घरेलु समस्याले सताए पनि प्रयत्न गर्दा विभिन्न काम सम्पादन हुनेछन् । शुभचिन्तकहरूले सहयोगका लागि तत्परता देखाउनेछन् । मान महत्व बढ्नेछ ।
तुला – जोखिम र खर्च वृद्धि हुने समय भएपनि हिम्मतले काम बनाउन सकिने र प्रतिस्पर्धीहरूलाई पछिपार्न सकिनेछ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर रहला । व्यवसायमा लगानी बढाउनुपर्ने देखिन्छ । कमजोरी लुकाउँदा पछि परिएला । बेसुरमा वचन दिनाले दुःख पाइनेछ, ध्यान राख्नुहोला । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने अवसर जुर्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण रहला ।
वृश्चिक – कार्यगति बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा कतै सम्मान पनि पाइएला । आजको दिन चिताएको काममा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूले तपाईंका योजनामा साथ दिनेछन् । व्यवसायले यात्राको अवसर जुटाउन सक्छ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।
धनु – इर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । आज स्वास्थ्य पनि केही कमजोर रहेको अनुभूति होला । आश्वासन दिनेको भर नपर्नु उचित हुनेछ । शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुनसक्ने योग भएकोले विशेष सचेतनाको दरकार छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । तथापि, पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त होला । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।
मकर – दिन सामान्य नै छ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । आम्दानी बढ्नेछ परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । साँझतिर अवसरवादीहरूले अप्ठ्यारोमा पार्न सक्छन् । हुलमुलमा धनमाल जोगाउने प्रयत्न गर्नु हितकर रहनेछ । प्रेमभाव बढ्नेछ भने नियमकानूनले साथ दिनेछ । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ ।
कुम्भ – व्यस्तता बढ्नेछ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । व्यापारमा पनि राम्रै फाइदा हुने देखिन्छ । रोकिएका काम बन्नुका साथै विभिन्न अवसर समेत प्राप्त हुनेछन् । नसोचेको धनलाभ हुन सक्छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
मीन – पराक्रम वृद्धि हुनेछ । नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुने देखिन्छ । शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन् भने प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ । चिताएको काम पनि पूरा हुनाले उत्साह वृद्धि होला । विभिन्न उपहार प्राप्त हुने योग छ । सहयोगीहरूको साथ जुट्नाले मन प्रशन्न रहला । साझेदारीको काम बन्नेछ ।
प्रतिक्रिया