बेलायतमा ‘साहित्यलाई पाककलासँग पस्किने’ अभियान

बेलायतमा ‘साहित्यलाई पाककलासँग पस्किने’ अभियान


  • फेल्ब्रिज (बेलायत)

‘साहित्यलाई पाककलासँग पस्किने अभियानको उद्घाटन कार्यक्रम गत आइतबार (२८ जुलाई) बेलायतमा सम्पन्न भएको छ । यो अभियानले नेपाली साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ भने नेपाली खानाप्रतिको साझा रुचिलाई पनि उत्सवको रुपमा मनाउँदछ ।

‘पुस्तक हस्ताक्षर र लेखकसँग भेटघाट कार्यक्रम आयोजना गर्न पाउँदा हामी निकै उत्साहित छौं । ‘साहित्यलाई पाककलासँग पस्किने’ यो अभियानले नेपाली साहित्यलाई मात्र प्रवर्द्धन नगरी हाम्रो पाककलाप्रतिको प्रेमलाई पनि उत्सवको रुपमा मनाउँदछ’- गुरखा वुडकक इन फेल्ब्रिजका सुरज पाण्डेले भनेका छन् । ‘नेपाली खाना बेलायतमा पहिले नै लोकप्रिय छ, र अब हामी हाम्रो ग्राहकहरूलाई पुस्तक हस्ताक्षर कार्यक्रमहरूको माध्यमबाट नेपाली साहित्यको स्वाद दिनेछौँ । आजको कार्यक्रम सुरुवात मात्र हो, हामी आगामी दिनहरूमा धेरै कार्यक्रमहरूको प्रतीक्षा गरिरहेका छौं’, उनको थप भनाइ छ ।

एक ग्राहकले लेखकलाई भेट्न पाएको र पुस्तकको हस्ताक्षरित प्रतिलिपि किन्ने अवसर पाएकोमा आफ्नो उत्साह यसरी व्यक्त गरे, ‘हामीलाई प्रायः लेखकहरूसँग भेट्ने मौका मिल्दैन, यो एक अद्भुत अवसर हो ।’ अर्का एक उत्साही सहभागीले थपे, ‘हामी नेपाली खाना मन पराउँछौं, र हामीलाई नेपाली साहित्यसँग परिचित गराउने यो कार्य सराहनिय छ । म पुस्तक पढ्न र अमेजनमा समीक्षा लेख्न आतुर छु ।’

भर्चुअल रूपमा कार्यक्रममा सहभागी भएका किताबका अनुवादक जयन्त शर्माले भने, ‘यो पहलले म निकै उत्साहित छु र, एक अनुवादकको रुपमा नेपाली साहित्यलाई विश्वमा पुऱ्याउने हाम्रो सहकार्य यसरी अगाडि बढेको देखेर म रोमाञ्चित छु ।’

कृतज्ञता व्यक्त गर्दै सङ्गीता स्वेच्छाले भनिन्, ‘मेरा कथा सिर्जनामार्फत नेपाली साहित्य साझा गर्नको लागि यो मञ्च प्रदान गरेकोमा म गुरखा वुडकक इन फेल्ब्रिजप्रति आभारी छु र, यहाँ हुने आगामी पुस्तक हस्ताक्षर कार्यक्रमहरूको लागि निकै उत्साहित पनि छु ।’

बुकहिल इन्टरनेशनलबाट प्रकाशित सङ्गीता स्वेच्छाको कथा संग्रह, ‘रोजेज ओडिसी’ गत अप्रिल २०२४ मा बेलायतमा विमोचित भएको थियो । पुस्तक हस्ताक्षर कार्यक्रमहरूमा धेरै प्रतिलिपिहरू बिक्रीसँगै यो पुस्तक गैर-नेपाली पाठकहरूमाझ लोकप्रिय हुँदै गइरहेको छ । बेलायतभरि ६ वटा सफल पुस्तक हस्ताक्षर कार्यक्रमहरू यूनिभर्सल पीस फेडेरेशन र फीड द माइन्ड्स जस्ता स्थानहरूमा भइसकेको छ भने लन्डनको फाउन्ड्रीमा (जहाँ तिसभन्दा बढी सामाजिक संस्थाहरु अवस्थित छन्) हुने आगामी कार्यक्रम ‘रोजेज ओडिसीको लागि अर्को रोमाञ्चक पक्ष हो । ‘रोजेज ओडिसी’ पुस्तक हस्ताक्षरको निमन्त्रणाहरू बेलायत अवस्थित विविध शैक्षिक संस्थानहरू, रेस्टुरेन्टहरू, च्यारिटी संस्थाहरू, र अन्य व्यापारिक संस्थाहरूबाट आइरहेकोमा रोजेज ओडिसिको यात्रा भने जारी रहने देखिएको छ ।