सरकारले पूर्वराजाको सुरक्षा नेपाली सेनाबाट हटाएर सशस्त्रमा झारेपछि यो विषयले अहिले निकै चर्चा पाएको छ । सर्वसाधारण जनतादेखि बौद्धिक समुदायसम्ममा आ–आफ्नै ढङ्गले प्रतिक्रिया सुनिएका छन् । सरकारको यो निर्णयले यो देशका पूर्वराष्ट्रप्रमुखको सुरक्षा कस्तो हुने भन्ने विषयलाई बहसमा ल्याउने काम गरेको छ पनि भन्न सकिन्छ । सर्वसाधारणले भने यसलाई कुनै गतिलो काम गर्न नसकेपछि उत्पन्न हीनताबोधलाई छोप्ने प्रयासका रूपमा लिएका छन् । पूर्वराष्ट्रप्रमुखको सुरक्षा हटाएर कुनै ठूलै उपलब्धि हासिल गरेझैं गरी गरिएको प्रचारले आमजनमानसमा वर्तमान सरकारप्रति झनै वितृष्णा फैलाएको छ । यसभन्दा बढी हास्यस्पदचाहिँ पूर्वराजाका बारेमा अहिले एमाले नेता माधव नेपालको टिप्पणी बजारमा आएको छ । पूर्वराजालाई जेल हाल्ने उनको चेतावनीसहितको टिप्पणी सुन्दा हाम्रा नेताहरूको अभिव्यक्ति कति सस्ता र हास्यास्पद छन् भनेर दया गर्न मन लाग्छ । माधव नेपालले सजिलै भने राजाको सुरक्षा हटाउने मात्र होइन चलखेल गरे जेल पनि हाल्न सक्छौँ । यो कुराले पत्रपत्रिकामा भन्दा पनि फेसबुकमा खुब चर्चा पायो । धेरैले यो अभिव्यक्तिले माधव नेपालको कद झनै घटाएको प्रतिक्रिया दिए, कतिले चाहिँ राजासँग आफू प्रधानमन्त्री हुन पाउँ भनेर बिन्ती पत्र हाल्दा नपाएको आक्रोश भने । कतिले भने– हा…हा…माधव नेपालले जेल हाल्ने हाँस्छु म त । माधवको अभिव्यक्तिलाई विगत केही समयदेखि पूर्वराजाले सर्वसाधारणबाट पाएको सम्मानप्रतिको आक्रोशको रूपमा धेरैले लिएका छन् । तर, अचम्म त के भने आफ्नै मुलुकमा हिँड्न नपाउने, समर्थकहरूबीच बोल्न नपाउने कुरा विश्वको कुनचाहिँ लोकतन्त्रमा छ बुझ्न सकिएको छैन । सस्तो लोकप्रियताका लागि बोल्न खोज्दा कहिलेकाहीँ त्यसको असर कतिसम्म नकारात्मक पर्न जान्छ भन्ने कुराको उदाहरण पनि बने यसपटक माधव नेपाल ।
आफ्नै अभिव्यक्तिका कारण विगत बनिसकेका कतिपय कुराहरू उप्किए । राजालाई जेल हाल्छु भनेपछि उनले प्रधानमन्त्री हुनका लागि राजासामु हालेको बिन्तीपत्रदेखि राजाको गद्दी आरोहणका बेला चढाएको दामसम्मका फोटाहरू पुनः एकपटक विगतको स्मरणका लागि सार्वजनिक गरिए । आफ्नो पृष्ठभूमि बिर्सन खोज्ने मानिसका लागि यी कुराहरू बाहिर आउनु जरुरी थियो, चाहे ती नेता हुन् या अरू । मानिसहरूले शक्तिमा हुँदा एउटा व्यवहार बाहिर हुँदा अर्को व्यवहार कतिसम्म गर्न सक्छन् भन्ने कुराको उदाहरणका रूपमा पनि यस्ता कुराहरूलाई लिन सकिन्छ । जति बेला राजा शक्तिकेन्द्र थिए, दाम राखियो, बिन्तीपत्र हालियो, जतिबेला उनी शक्तिविहीन एक सर्वसाधारण नागरिकको जीवन बाँचिरहेका छन् उनलाई बिनासन्दर्भ जेल हाल्ने कुरा गरिँदै छ । कसैले नितान्त आत्मसन्तुष्टिका लागि या सस्तो प्रचारका लागि बोल्दैमा कोही जेल जाने परिस्थिति बन्ने अवस्था छैन तथापि माधव नेपालको यो अभिव्यक्ति बलेको आगो ताप्ने नेपाली समाजको उत्कृष्ट नमुना उदाहरण हो । यसप्रकारका कुरालाई इतिहासले भोलि यसैगरी चित्रित गर्नेछ र भोलिको पुस्ताले पहिलाका मानिस कतिसम्म गर्न सक्थे भन्ने कुरालाई लिएर पाठ सिक्नेछन् । जसरी राणा शासकहरूले आफ्नै भाइ–भारदारलाई गरेको व्यवहार, हत्याहिंसा र चाप्लुसीबारे इतिहास पढेर अहिलेको पुस्ताले जानकारी लिएको थियो, लिइरहेको छ ।
पूर्वराजाको सुरक्षाको विषयलाई लिएर सरकारले के ग¥यो या कुन नेताले के भने भन्ने कुराभन्दा पनि पूर्वराष्ट्रप्रमुखको सुरक्षा–प्रबन्ध के–कस्तो हुनुपर्छ भन्ने कुराचाहिँ प्रमुख मुद्दा हो । सदियौँदेखि यो मुलुकमा राजा नै राष्ट्रप्रमुख रहँदै आएका र बाँचुञ्जेल राज्य गर्ने प्रचलन रहेको हुँदा पूर्वराष्ट्रप्रमुखका लागि केही गरिरहनुपर्ने अवस्था नै थिएन । तर, मुलुकमा गणतन्त्र आएपछि अवस्था फरक भएको छ, यो पूर्वराजाको कुरा मात्र पनि होइन भोलिका पूर्वराष्ट्रपतिहरूको कुरा पनि हो । त्यसो त, शक्तिमा हुँदा सुरक्षा खतरा जति हुन्छ शक्तिबाट बाहिरिएपछि सोही अवस्था नरहन सक्छ । त्यसैले सुरक्षा नै किन चाहियो र ? पनि भनिएला तर जे जे भए पनि राष्ट्रप्रमुख भनेको राष्ट्रप्रमुख नै हो । विभिन्न देशको उदाहरणलाई हेर्ने हो भने अनेक नाममा जेल गएका पूर्वराष्ट्रपतिहरूलाई समेत पूर्वराष्ट्रप्रमुखको हैसियतमा उच्च सुरक्षा प्रदान गर्ने गरिएको देखिन्छ । विश्वका धेरै मुलुकमा कुन तहका मानिसले कस्तो सुरक्षा लिने भन्ने कुरा नीतिले नै तय गर्ने गरिएको छ । हाम्रोजस्तो मन लाग्दा सुरक्षा दिने रिस उठ्दा झिकिदिने भन्ने संसारमा कहीँ पनि हुँदैन । भारतमा धेरैअघिदेखि विभिन्न कालखण्डमा उच्च ओहोदामा रहेर काम गरेका व्यक्तिलाई फरक–फरक सुरक्षा अपनाइने गरिएको छ । अमेरिकामा ‘फरमर प्रेसिडेन्ट ऐक्ट’ भनेर पूर्वराष्ट्रपतिको सेवा–सुविधा ऐनद्वारा नै तोकिएको छ । अब हामी यो अभ्यासमा जाँदै छौँ भने हाम्रो के हुने भन्नेतर्फ पनि निश्चित मापदण्डसहितको नीति बन्नु जरुरी छ ।
वर्तमान परिस्थितिलाई हेर्दा पूर्वराजाको सुरक्षालाई लिएर त्यति धेरै चिन्ता लिनुपर्ने देखिँदैन । राजधानीका मठ, मन्दिर र विभिन्न जिल्ला जाँदा पूर्वराजालाई सर्वसाधारण जनताले दिएको सम्मान उल्लेखनीय छ । शक्तिविहीन पूर्वराजाबाट केही पाउला भनेर त्यो इज्जत र सम्मान दिइएको होइन भन्ने आधारहरू प्रसस्त छन् । पूर्वराजाको सवालमा सशस्त्र त के यसो रेखदेखका लागि प्रहरीको सानो टुकडी नै काफी हुन सक्छ । यसबीचमा राजनीतिकर्मीले गरेका व्यवहारबाट सर्वसाधारणमा वितृष्णा छाएर मात्र होइन राजाले मुलुकमा आएको परिवर्तनलाई चुपचाप आत्मसात् गरेबाट पनि जनतामा जे भए पनि राजा भनेको राजै हो भन्ने छाप परेको छ । बोलीचाली र अभिव्यक्तिहरूमा संयमता पनि पूर्वराजालाई मान्ने एउटा कारण हो भन्न सकिन्छ । तटस्थ भएर परिस्थितिलाई मूल्याङ्कन गर्ने हो भने राजा एक्लै हिँडे पनि कसैबाट असुरक्षित हुनुपर्ने परिस्थिति अहिले छैन । नेपाली जनता विशेषगरी युवा जमातले नै उहाँको सुरक्षा आफैं गर्ने देखिन्छ । यस्तो अवस्थामा हिजो पूरै नेपाली सेना आफ्नो हातमा हुँदा त केही नगरी चुपचाप दरबार छोडेर हिँडेका राजालाई अहिले आएर जेल हाल्छु भन्नु मरेको बाघको जुँगा उखेलेरै छाड्छु भने जस्तै हो । यस्ता सस्ता अभिव्यक्तिले माधव नेपालको कद धेरै नै घटाएको महसुस गरिएको छ । समय सधंै एकनासको रहँदैन र सधैं उस्तै भाषणले मानिसको मन जित्न सकिँदैन भन्ने कुराको उदाहरणका रूपमा पनि यसलाई लिन सकिन्छ ।
प्रतिक्रिया