केक र फूलको गुच्छाको विकल्प

केक र फूलको गुच्छाको विकल्प


अचेल शहरी क्षेत्रमा जन्मदिनमा केक काट्नेको सङ्ख्या दिन-प्रतिदिन बढिरहेको छ । मानौँ केक नकाटे त जन्मदिन नै मनाएजस्तो नहुने ! जन्मदिनमा केक काट्ने चलन प्राचिन कालमा ग्रीस र आधुनिक कालमा जर्मनी, पश्चिम यूरोपबाट सुरु भएको हो । यो पूर्विय सभ्यता पक्कै होइन । हामी हाम्रो उत्कृष्ट सभ्यतालाई बिर्सेर जे चिज पनि पश्चिमेलीको नक्कल गरिरहेका छौँ ।

पूर्विय दर्शनअनुसार जन्मदिन मितिमा होइन, आफू जन्मेको तिथिमा मनाउनुपर्छ । तिथि भनेको हिन्दु पञ्चाङ्गअनुसार चन्द्र रेखाङ्कलाई सूर्य रेखाङ्क भन्दा १२ अंश माथि जानलाई जति समय लाग्छ, त्यसैलाई नै तिथि भनिन्छ । तिथिभित्र बार, मिति, नक्षत्र, करण र योग- यी पाँच चिज मुख्यरूपमा हुन्छन् । यसरी जन्मदिन तिथिमा मनाउँदा आफूले गर्ने सबै काम शुभ र आध्यात्मिकतातिर बढ्दै जन्मदिन मनाउने व्यक्तिलाई लाभकारी हुन्छ । अझ कतिजना त अङ्ग्रेजी तारिखमा मनाउँछन्, अनि कतिले नेपाली मितिमा । किनकि, कतिलाई आफू जन्मेको तिथि थाहा नहुने वा बिर्सिएको पनि हुनसक्छ । प्रायले मितिमा वा अङ्ग्रेजी तारिखमा मनाउने नै धेरै देखेको छु मैले अचेल ।

मलाई अहिले पनि सम्झना छ- म मेरी आमाको १६औँ सन्तानको रूपमा जन्मिएँ । मभन्दा माथिका ९ सन्तानहरू सानो उमेरमै परमधाम भए । त्यसैले पनि होला, मेरा बुबा-आमाले मेरो प्रत्येक वर्षको जन्मदिन पारिवारिक सदस्यहरूलाई बोलाएर तिथिमै मनाउनुहुन्थ्यो । बिहानै गुरु आउनुहुन्थ्यो, पुजाका सामाग्रीहरू सबै ठिक्क पारिएको हुन्थ्यो । गुरुले मलाई पूजा गर्ने ठाउँमा राखेर अष्टचिरञ्जीवीको पाठ गर्नुहुन्थ्यो, म गुरुले भनेअनुसार पुजा गर्दैजान्थेँ । पुराणमा वर्णन गरेअनुसार अष्टचिरञ्जीवी भनेको अहिले पनि जीवित भएकाहरूको एउटा समुह हो । जुन यसप्रकार छन्- अश्वस्थामा, बली, ब्यास, हनुमान, विभीषण, कृपाचार्य, मार्कण्डेय र पर्शुराम । यी बरदानप्राप्त आठ चिरञ्जीवी सत्य, त्रेता र द्वापर युगका हुन् र, अहिले कलीयुगमा पनि अदृश्यरूपमा घुमिरहेका छन् भनिन्छ । अष्टचिरञ्जीवीको संस्कृतमा मंत्रः अश्वत्थामा बलिव्र्यासो हनुमांश्च विभीषणः । कृपः परशुरामश्च सप्तेते चिरंजीविनः । सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम् । यो मन्त्र जसले दिनहुँ पाठ गर्छ उसको आयु लामो हुन्छ भन्ने मान्यता छ ।

गुरुले अन्त्यमा पुजा गरिएको तिल, जौ, सुपारी आदि एउटा रातो कपडामा राखेर मेरो पाखुरामा बाँधिदिनुहुन्थ्यो । जसलाई म तीन दिनसम्म बाँधेर अनि फुकाल्थेँ । पुजा सकिएपछि, घरसँगै रहेको दन्तकालीमाताको मन्दिरमा दर्शन गर्थें । मन्दिरबाहिर भेटिएका मानिसहरूलाई म लड्डु बाँड्दथेँ । अहिले पनि म जन्मेको तिथिको दिन अष्टचिरन्जीवी र महामृत्युंजयको पाठ गराउन गुरुलाई लगाउँदछु । महामृत्युंजयलाई मन्त्रहरू मध्यकोे सर्वश्रेष्ठ मन्त्र मानिन्छ । मन्त्र यसप्रकार छ- ॐ त्रर्यम्बकं यजामहे सुगन्ंिर्ध र्पुष्टिवर्धनम् । उर्वारुकर्मिव बन्र्धनान्मृत्योर्मुुक्षीय मामृर्तात । यो मन्त्र दिनहुँ जप्दा मृत्युलाई पनि जित्न सकिन्छ भनिन्छ । यसरी पाठ सकिएपछि म जन्मदिनको दिन आफूले सक्ने गक्षअनुसार कहिले वृद्धाश्रममा र कहिले अनाथ बालबालिकाको आश्रममा गएर खाना ख्वाउने गर्दछु । यसरी गरिएको सानो सहयोगबाट ति वृद्धवृद्धाबाट आशीर्वाद प्राप्त हुन्छ, अनि ती अनाथ बालबालिकाको अनुहारमा देखिएको मुस्कानले आत्मसन्तुष्टि मिलेर मन प्रफुल्लित हुन्छ ।

जन्मदिनको दिन अन्य कार्य पनि गर्न सकिन्छ । जस्तै, घरमा आँगन वा बारी छ भने एउटा विरुवा लगाउन सकिन्छ । आँगन नहुनेले कुनै अर्को ठाउँ वा मन्दिरमा पनि लगाउन सकिन्छ । घरमा यदि कोही दिवङ्गत हुनभएको छ भने, वहाँको सम्झनास्वरुप पनि लगाउन सकिन्छ । त्यो विरुवा हुर्कंदै जाँदा, तपाईंलाई वहाँप्रतिको सम्झना सधैं ताजा रहन्छ, अनि सामिप्यता र स्नेह सधैं रहिरहन्छ ।

१५औँ सताब्दीमा ग्रीसबाट सुरु भएको केक काट्ने चलन बिस्तारै संसारभरि नै फैलियो । हामी नेपालीहरू पनि अरुको नक्कल गर्न खप्पिस नै छौँ । हामी हाम्रो संस्कृति चटक्क बिर्सन्छौँ अनि अरुको नक्कल गर्दा सभ्य भएको ठान्दछौँ । केक खान त मिठो नै हुन्छ, तर सबैलाई यो पाच्य नहुन सक्छ । किनकि यसमा अण्डा पनि मिसाएको हुन्छ, साकाहारीले खाने कुरै भएन । अनि प्रशस्त चिनी हुने हुनाले अचेल घर-घरमा भएका मधुमेयका रोगीहरूलाई पनि यो विष नै हुने भयो । दुधको एलर्जी हुनेले पनि खाने कुरो भएन । त्यसैले, किन हामीले यसको विकल्प नखोज्ने त अब ?

जन्मदिन मनाउने भनेको तपाईं दीर्घायु हुनुहोस्, भगवान्ले तपाईंलाई आरोग्यता प्रदान गरुन्, रोगव्याध, दुःख-कष्ट कहिले नजिक नपरुन्, उन्नति र प्रगतिको पथ अघिबढोस् र समृद्ध जीवन व्यतीत होस् भन्ने नै हो । त्यसैले तपाईंको आस्थाको केन्द्र तपाईंले पुज्ने गरेको कुनैपनि देवी-देवता वा प्रकृति छन् भने सोहीबमोजिम तिथिअनुसारको जन्मदिन मनाउनुस्, तपाईंमा अथाह उर्जा पैदा हुनेछ अगाडिको जीवन व्यतीत गर्न ।

केकको विकल्प के हुन सक्छ त ? हामी चाहे घरमा वा रेस्टुरेन्टमा जहाँ मितिअनुसार जन्मदिन मनाउँदैछौँ भने, केकको सट्टा ‘जुजु धौ’ वा दही केक काटेजस्तै गरेर काटेर पनि मनाउन सक्छौँ । दहीमा काजु, किसमिसलगायत पनि माथिबाट हाल्न सकिन्छ । काठमाण्डु उपत्यकामा त ‘जुजु धौ’ सजिलै प्राप्त हुन्छ, अनि अन्य ठाउँमा पनि जन्मदिनको दिन काटिने विशेष दही तयार गर्न सकिन्छ । डेरी खोलेर बस्नेले माग र चाहनाअनुसार तयार गरिहाल्छन् । जन्मदिनको लागि तयार गरिएको ‘जुजु धौ’ वा अन्य दही विशेष प्रकारको सजावटयुक्त भाँडोमा तयार गरिनुपर्छ । हेर्दा पनि आकर्षक देखिनेगरी । दहीलाई एउटा पौष्टिक आहाराको रूपमा मानिन्छ । दहीको धेरै गुणहरूमध्ये, यसले पाचन प्रणालीलाई राम्रो गर्छ, प्राकृतिक रुपमा शरीरको मजवुतीमा फाइदा, क्यान्सर रोग लाग्ने जोखिम कम गर्ने, उच्च रक्तचाप नियन्त्रणमा सहयोग र हृदयघात हुने खतराको जोखिम कम गर्ने, हड्डी मजबुत पार्ने, शरीर सुन्निनबाट जोगाउने, मधुमेय रोगको मात्रा घटाउन मद्दत गर्ने आदि । यस्तो बहुउपयोगी चिजलाई जन्मदिनको दिन प्रयोगमा ल्याए कति राम्रो हुने थियो । यो सबैको लागि गुणकारी र सबैलाई खान पनि मिल्ने !

पङ्क्तिकार ‘जुजु धौ’ वा अन्य दहीको व्यापारी पनि होइन र प्रचारमा लागेको पनि होइन । ‘जुजु धौ’ त नेपाल र नेपालीको एउटा पहिचान बनिसकेको छ । मलाई लाग्छ- यसको फाइदाबारे थाहा पाएपछि भविष्यमा विदेशीले पनि हाम्रो नक्कल गर्न सक्छन् । दही एउटा सर्वगुण सम्पन्न र परापूर्वकालदेखि खाइँदै आएको एउटा स्वस्थकर र खाएको चीजलाई पचाउने गुण भएको स्वादिष्ट व्यन्जनको रुपमा लिइन्छ । साथै यसो गर्दा स्वरोजगारीमा पनि सहयोग हुने र पशुपालक व्यवसायमा लागेका कृषकहरूलाई पनि फाइदा हुनेछ ।

त्यस्तै, जन्मदिनको दिन हामी अङ्ग्रेजीमा ‘ह्याप्पी बर्थ डे टु यु’ भनेर भन्छौँ, हामीलाई बानी परिसकेको छ । तर यही ह्याप्पी बर्थ डे, हामी अङ्ग्रेजीमा भनिसकेपछि नेपालीमा पनि त्यही लयमा दोहोऱ्याउन सक्छौँ । जस्तै, ‘जन्मदिनको शुभकामना, जन्मदिनको शुभकामना, जन्मदिनको, जन्मदिनको, जन्मदिनको शुभकामना…’ । अन्त्यमा जन्मदिन हुनेको नाम उच्चारण गरेर शुभकामनाको गीत टुङ्ग्याउन सक्छौँ ।

त्यस्तै, जन्मदिनमा, विवाह वा वैवाहिक वर्षगाँठको शुभ उपलक्ष्यमा हामी ताजा वा प्लास्टिकको फूलको गुच्छा (वुके) दिन्छौँ । फूलको गुच्छा दिनु राम्रो हो । सौन्दर्यले भरिपूर्ण फूलको गुच्छाले मोहकता पैदा अवश्य हुन्छ, झट्ट हेर्दा राम्रो पनि देखिएला । तर, त्यो क्षणभंगुर मात्र हो । किनकि तपाईंले दिएको त्यो उपहार ग्रहण गर्नेले घर लाँदैनन् । त्यो फूलको गुच्छा तपाईंले कति महँगो मूल्यमा किन्नुभएको थियो, आखिर त्यो त्यहीँ नै फालिन्छ । नेपालमा पनि कुन फूलको गुच्छा बनाउने वा किन्ने हो, फूलअनुसार दाम पनि फरक हुन्छ । कम्तीमा ५०० देखि १२,००० सम्मका वुकेहरू पाइन्छन् । हेर्नस् त पैसाको सत्यानास ! साथै फूलको गुच्छा किनेर उपहार दिने भनेको नै छिमेकी देशलाई धनी बनाउने हो । अर्बौंको फूल हामी खास गरेर भारत, भियतनाम र इन्डोनेसियाबाट बर्षेनी आयात गरिरहेका छौँ । त्यसैले यस्तो उपहार दिने चलन जब ग्रहणकर्ताले प्रयोग नै गर्दैनन् भने किन दिने ? हामीले अब यस्तो चलन त्याग्दै जानुपर्छ ।

त्यसोभए यसको विकल्प के हुन सक्छ ? भन्ने सवाल पैदा हुनसक्छ । हो, अब विकल्पको कुरा गरौँ ? हामी हाम्रा आफ्नै देशका कृषकलाई धनी बनाउने सोच र व्यवहारमा लागौँ, नकि विदेशीलाई । त्यसैले जन्मदिन वा वैवाहिक वर्षगाँठ वा अरु यस्तै उत्सवहरूमा हामी सहभागी हुँदैछौँ भने फूलको सट्टा फलफुल वा तरकारी उपहार दिऔँ । एउटा सानो बाँसको बास्केट वा जनकपुरिया मिथिला ढक्कीमा यदि हामी तरकारी दिँदैछौँ भने कागती, चुकन्दर, गाजर, काँक्रो, सानो मुला, अकबरे खोर्सानी आदि हालेर राम्रोसँग आकर्षक रूपमा सजाएर उपहार दिऔँ । यदि हामी फलफुल दिन्छौँ भने एभोकाडो, स्याउ, ड्रागन फ्रुट, अंगुर, केरा वा सिजनअनुसारको फल एउटा डाली वा ढक्कीमा राम्रोसँग सजाएर दिने चलन किन नगर्ने ? वा, हामीले ड्राइफ्रुट्स (काजु, अंजिर, बदाम, ओखर, किसमिस, खजुर, नरिवल, छोगडा आदि ) पनि दिन सकिन्छ । यी उपहारहरूलाई ग्रहण गर्नेले प्रयोग गर्छन्, र पौष्टिकताको दृष्टिले हेर्दा पनि स्वस्थकर र फाइदाजनक देखिन्छ । डाली, ढक्की, बास्केटलाई साना उद्योगीले रंगिन पनि बनाउँदछन् । अथवा, प्लास्टिकलाई पुनः प्रयोग गरेर आकर्षक बास्केट पनि बनाउन सकिन्छ । हामीले बाँस, निगालो, बेत, जुट, गाँजा, वा अन्य रेसायुक्त बोटबाट पनि यस्तो बास्केट बनाउन सकिन्छ । गाउँदेखि शहरसम्म नै साना घरेलु उद्योगहरू फस्टाउने छन् ।

यसो गर्दा नेपाली कृषकहरू, बेरोजगार युवाहरू, महिला दिदीबहिनीहरू, फरक क्षमता भएकाहरूले टोल-टोलमा यस्ता पसलहरू खोलेर आर्थिक रूपबाट लाभान्वित हुन सक्छन् । प्राङ्गारिक फलफुल र तरकारीहरूको व्यवसायिकरूपमा खेती गरेर कृषकले लाभ लिन सक्छन् । किनकि, प्रत्येक दिन हजारौँको संख्यामा जन्मदिन मनाइन्छ, वा विवाह र वैवाहिक वर्षगाँठ मनाइन्छ । साथै अन्य उत्सव मनाउने चलन पनि अहिले नेपाली समाजमा व्यापक फैलिँदैगएको देखिन्छ । यस्तोमा दिइने ती फलफुल वा तरकारी उपहारहरू फूलको गुच्छा जस्तो पक्कैपनि खेर जाँदैन । ती हार्दिकताका साथ दिइएका उपहारहरू घर लगेर आत्मियताका साथ प्रयोग गर्न सकिने भयो । धेरै भए छिमेकी वा साथीभाइलाई पनि दिन पाइयो ।

त्यसैले हामीले केक काटेर र फूलको गुच्छा उपहार दिएर विदेशीको नक्कल गर्नु भन्दा, यूवाहरूलाई स्वरोजगार केही हदसम्म देशमै सृजना गर्न सकिन्छ । जन्मदिनमा, विवाहमा, वैवाहिक वर्षगाँठमा, वा अन्य उत्सवहरूमा उपहारको रूपमा माथि उल्लेखित तरकारी, फलफुल वा ड्राइफुट उपहारहरू दिन सुरु गरौँ । त्यस्तै, केकको सट्टा ‘जुजु धौ’ वा अन्य दही काट्न सुरु गरौँ । ‘जुजु धौ’को बिस्तार अन्य शहरमा पनि गर्दै जाउँ । किन नेपालले छुट्टै चिनारी नदिने ? के थाहा कालान्तरमा विदेशीले पनि हाम्रो नक्कल पो गर्ने हुन् कि ?

  • विजयपुर, धरान (हाल : मालीगाउँ, काठमाडौं)