नवलपुर जिल्लाको धार्मिक पर्यटनको विकास गर्नका लागि धार्मिक पर्यटन विकास समिति बन्ने भएको छ ।
जिल्ला समन्वय समिती (जिसस) नवलपुर को आयोजनामा बिहीबार कावासोतीमा आयोजित भेलाले धार्मिक पर्यटन विकास समिति बनाउने निर्णय गरेको जिसस प्रमुख बाबुराम बिश्वकर्माले बताए ।
‘जिल्लास्थित सबै धाम, मन्दिर, मस्जिद , गुम्बा र चर्चका प्रतिनिधिहरु संग बृहद् छलफल गर्यौं, अब सबै पालिकाको प्रतिनिधित्व हुने गरि विकास समिति बनाउँछौ’, बिश्वकर्माले भन्नुभयो ।
नवलपुर जिल्लामा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै प्रमुख विश्वकर्माले यसलाई अब समिति नै बनाएर विकास गर्न लागिपर्ने बताए । उनले भने, ‘हामीकहाँ राष्ट्रिय स्तरमा चर्चित त्रिवेणी गजेन्द्रमोक्ष धाम, मौलाकालिका मन्दिर, दाउन्नेको देवी मन्दिर, गुम्बालगायत थुप्रै धार्मिक आस्थाका केन्द्र छन्, अब यसको व्यापक प्रचारप्रसार गरेर धार्मिक पर्यटक भित्र्याउनुपर्छ ।’
कार्यक्रममा त्रिवेणी गजेन्द्रमोक्ष धाम क्षेत्र विकास समितिका अध्यक्ष स्वामी कृष्ण प्रपन्नाचार्यले नवलपुर जिल्लाको धार्मिक पर्यटन विकासका लागि स्थानीय सरकारले लगानी बढाउनुपर्ने बताए । उनले धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको नवलपुर जिल्लामा धार्मिक क्षेत्रहरु राज्यको प्राथमिकतामा नपरेको भन्दै आगामी दिनमा यस क्षेत्रमा लगानी बढाउन सके आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र नवलपुर बन्ने बताए ।
पछिल्लो समय आफ्नो मौलिक धर्म परिवर्तन गर्ने होडबाजी चलेकोमा चिन्ता ब्यक्त गर्दै स्वामी प्रपन्नाचार्यले ुधर्म छाडा ु नबन्न सबैसंग आग्रह गरे । ‘हामीले परापूर्वकालदेखि मान्दै आएको हाम्रो धर्म छाड्न हुँदैन, यसो गर्दै गए धार्मिक पर्यटन पनि ओझेलमा पर्दै जान्छ । सबैले आफ्नो आफ्नो धर्म मानौं, जबर्जस्ती धर्म परिवर्तन गराउनु अपराध हो’- उनले भने ।
स्वामी प्रपन्नाचार्यले आफ्नो धर्म परिवर्तन गरेर हिँडेकाहरुलाई धार्मिक गुरु मान्न नसकिने भन्दै उनिहरुसँग सहकार्य पनि कठिनाइ हुने बताए । धार्मिक पर्यटन विकास समिति बनाउने कुरा सकारात्मक भएको उनको भनाइ थियो ।
कार्यक्रममा जिल्लास्थित विभिन्न धार्मिक सम्प्रदायका प्रतिनिधिहरु, होटल ब्यवसायी संघका जिल्ला अध्यक्ष सन्तोष राना, पर्यटन ब्यवसयी समिति नवलपुरका अध्यक्ष फन्सु महतो, होम स्टे एशोशियशनका अध्यक्ष प्रेमशंकर मर्दनिया लगायतले बोलेका थिए ।
प्रतिक्रिया