लघुकथा समाजद्वारा पुरस्कार तथा सम्मान घोषणा

लघुकथा समाजद्वारा पुरस्कार तथा सम्मान घोषणा


लघुकथा समाज, नेपालद्वारा प्रदान गरिँदै आएका विविध पुरस्कार र सम्मानमध्ये ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान-२०८१’ र ‘धनमान लघुकथा पुरस्कार-२०८१’ प्रदान गर्नका लागि दुई जना लघुकथा स्रष्टाको नाम चयन गरिएको छ । लघुकथा समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिए अनुसार, ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ का लागि हेटौँडाका लघुकथाकार आर.आर. चौलागाईं र ‘धनमान लघुकथा पुरस्कार’ का लागि भक्तपुरका लघुकथाकार श्याम आशाको नाम चयन गरिएको हो ।

लामो समयदेखि लघुकथा लेख्दै आएका चौलागाईंको वि.सं. २०६५ मा ‘विघटनको तयारीमा’ लघुकथासङ्ग्रह प्रकाशित छ । उनका थुप्रै फुटकर लघुकथा पत्रपत्रिकाका साथै लघुकथाका फेसबुक पेजहरुमा प्रकाशित हुँदै आएका छन् । यसैगरी, श्याम आशा लामो समयदेखि नेपाल भाषामा लघुकथा लेख्दै आएका छन् । उनका नेपाल भाषामा ७ वटा लघुकथासङ्ग्रह प्रकाशित छन् भने दुई वटा सङ्ग्रह नेपालीमा अनुदित छन् । ‘श्याम आशाका लघुकथा’ सङ्ग्रहको अनुवाद लघुकथाकार ध्रुव मधिकर्मीले गरेका छन् भने अर्को लघुकथासङ्ग्रह ‘अघोषित आवाज’ को अनुवाद साहित्यकार रासाले गरेका हुन् ।

लघुकथा समाजले दुई स्रष्टाको नाम चयन गर्नका लागि समाजका सल्लाहकार वरिष्ठ समालोचक प्राडा. लक्ष्मणप्रसाद गौतमको संयोजकत्वमा श्रीओम श्रेष्ठ ‘रोदन’ र तुलसीहरि कोइराला रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । समितिको सिफारिस अनुसार दुबै स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको समाजले जनाएको छ ।

दुबै पुरस्कार तथा सम्मानमध्ये ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ भदौ ५ गते १७ औँ लघुकथा दिवसका अवसरमा सर्वनाम नाटक घरमा विशेष समारोहको आयोजना गरेर प्रदान गरिने छ भने ‘धनमान लघुकथा पुरस्कार’ भदौ ८ गते भक्तपुरमा आयोजना गरिने समारोहमा प्रदान गरिने समाजको विज्ञप्तिमा उल्लेख छ । लघुकथा समाजले भदौ ४, ५ र ६ गते विविध कार्यक्रमको आयोजना गरेर दिवस मनाउने जनाएको छ ।