खार्पालीको प्रेमपत्र !

खार्पालीको प्रेमपत्र !


काठमाडौंबाट झापा झरेपछि बिर्तामोड बसाइ अलि ब्यस्तपुर्ण रहेर भद्रपुरे साथीभाइसँगको भेटघाट पातलिएपछि तोयाको छोरा अनुरागले फोन जिज्ञासा राख्यो- ‘अंकल ! बाबासँग तपाईंको झगडा परेको हो ?’ तोया गड्तौला मेरो कान्छो भाइको सहपाठी भएतापनि मेरो अत्यन्तै नजिकको दौँतरी हुनपुगेको छ ! दैनिकजसो भेट हुने गरेकोमा यसबीच लामो समयको ‘ग्याप’लाई उसले व्यंग्यमार्फत व्यक्त गरेको थियो !

सबै तरकारीसँग मिसिने ‘आलु स्वभाव’ भएर होला बच्चादेखि वृद्धसम्म मेरो यारीदोस्ती छ ! यसमा माले मण्डले मशाले सबै पर्छन् ! हरामी काङ्ग्रेस त आफ्नै भैगए, एकाध खोरेत पनि आत्मीय नै छन् ! आठ दशक टेकेका भद्रपुरमा उपलब्ध नकुलकाजी र गोमेन्द्र कलेज बिर्तामोडमा भेटिने उहाँको छोरा शेखर पाण्डेसँगको एक समान आत्मीय संगत यसको ज्वलन्त प्रमाण हो !

‘हामी आज दिउँसो बिर्तामोड आएका थियौँ तर तिमिलाई फोन गरेनौँ !’ बेलुका फोनमा तोयाले जानकारी गरायो !

‘अनि किन नगरेको त ?’

‘गरेर के गर्नु ? तिमी कहिले कर्फोक छु भन्छौ, कहिले बिराटनगर ! बिर्तामोडमै भएपनि कलेजमा ब्यस्त छु भन्ने मान्छेलाई किन डिस्टर्व गर्नु भनेर नगरेको नि !’ उसको बोलीमा हल्कामात्र हैन तहल्का आक्रोश थियो !

‘ठिकै गऱ्यौ ! म विराटनगर थिएँ !’, केहिबेर हाँसो चल्यो ।

दुईचार दिन भेट्न नपुग्दा बिर्ताबजारबाट फुपाजु शम्भु पोख्रेलको फोन आउँछ- कता हराएको ज्ञानमणि ? उमा फूपूको निधनपछि ‘भिनाजु ! म दिनमा एकपटकचाहिँ पक्कै आउँछु’ भन्ने मेरो गफ ओली-गफको मीत भएको छ ! ‘भिनाजु ! भोलि पक्कै आउँछु’ भनेर फोन काट्दा मेरो ‘भोलि’ आउन हप्तौँ पनि लाग्छ ! दाजु ज्ञानेन्द्र पोख्रेलले त ‘मेरो भाइ ज्ञानमणि हरायो’ भनेर स्टाटस नै लेख्नुभो !

ज्ञानु ! कता हरायौ ? यामदाइ र दिब्य काकासँग सम्पर्क भयो ? क्याम्पसमोडका राजेश ढुंगानाको फोनले लगभग चार वर्ष जेलजीवन बिताएका मेचिपुल आन्दोलनका योद्धा भद्रपुरका दिब्य भुर्तेल र धुलाबारीका याम भण्डारीलाई मेचिपुलमा उभ्याएर उहाँहरूको क्रान्तिकथा लेख्ने सोम शर्माको सातु कथा जस्तो मेरो अपुरो योजना स्मरण हुन्छ !

अर्को खतरनाक फोन आयो शनिश्चरेबाट- तँलाई खोज्न पुलिस लाउनुपर्ने हो कि पत्रिकामा विज्ञापन दिनुपर्ने हो ? यो डरलाग्दो फोन–धम्की हरामी काङ्ग्रेस लिलक सिटौलाको थियोे !

चन्द्रगढीबाट भाइ रमेश पोख्रेलको फोन आग्रह- सेल्फी काङ्ग्रेसको चिया खान आउने हैन दाइ ? यसरी हराउन त भएन नि ! रमेशलाई सेल्फी काङ्ग्रेस भनेर मेरो टण्ट कसाइको जवाफी भाषा यही हो उसको ! अधिवक्ता भाइ भरत प्रसाईंको गुनासो पनि उस्तै छ- रमेशजी र म सँगै भएकोले दाजुलाई सम्झेको हो ! दाजु हराउनुभो भन्ने चर्चा गर्दैछौँ हामी ! तन हराएपनि मन हराएको छैन भाइ ! म जहिल्यै तिमीहरूको नजिकै छु भन्नु मेरो थेगो नै भैसकेको छ !

बामेको चिया खान कहिले आउने हो दाजु ? लेखापढी ब्यवसायी भाइ पुरुषोत्तम अधिकारीको आग्रह ! म उसलाई प्रेमपुर्वक ‘बामे भाइ’ भन्दा अरु अचम्मित हुन्छन् तर पुरुषोत्तमसँगको सगरमाथा चोकमा बच्चामा ‘पिट्टु’ खेल्दाको नाता अहिलेका खोरेतले बुझ्न गा¥हो छ ! चन्द्रगढी पुगेको बेला बामेको चिया खाएर उसलाई ‘काङ्ग्रेसको खैनी’ ख्वाएर बिदा हुँदा बेग्लै रमाइलो अनुभुति हुन्छ !

अर्को मण्डले मित्र छ- नवराज घिमिरे । उ राजाको चम्चा म देउवाको दास ! तर पनि हाम्रो मित्रतामा कुनै अवरोध छैन ! कता हरायौ हौ ? भेटघाट छैन त ! केही दिन सम्पर्क नहुँदा अर्को राजावादी भाइ खेमराज भट्टराई फोन गर्छ- मण्डले भाइलाई बिर्सेको हो मेरो दाजुले ? खेमलाई प्रेमपुर्वक म मण्डले भाइ भन्छु… उ रिसाउँदैन ! हुन त म जस्तो थेत्तरासँग रिसाएर उसले जित्न सक्ने पनि हैन क्यारे !! अर्को खतरा बामे भाइ छ- हेम घिमिरे ! हरायौ त दाजु ! भन्दै फोनमा लेग्रो तान्छ अनि भेट्नेबित्तिकै अँगालोमा बेर्छ !

केही दिनअघि नितेश बर्माको फोन आयो । मेरो जिज्ञासामा उसको जवाफ थियो- हैन ! यसै के छ कसो छ ? कता हरायौ भनेर गरेको ! निकै दिन भो भेट नभएको । तोयालाई सोध्दा पनि थाहा छैन भन्यो अनि… ! हिजो बिहानै अर्को फोन आयो- भद्रपुरतिर पनि भाइहरू छन् भन्ने लाग्दैन दाइ ? यसरी हराउन त पाइएन नि ! फोन गरेर प्रेमपुर्वक हप्काउने भाइ दिपेश ढकाल !

कोहिबेला ‘कता हिँडेको ?’ भन्ने मेरो जवाफ हुन्थ्यो- बुद्धि बढाउन ! नकुलकाजीसँगको हरेक भेटमा एउटा नौलो अनुभव लिएर फर्किने म महिनौँ हराउँदा- ‘कता हराएको खोरेत ? बूढो दाजु भेट्न आउनुपर्दैन ?’ भनेर फोनमा हप्काउनु उहाँको अधिकारभित्र पर्ने कुरोलाई नकार्ने मेरो तागत छैन । नकुल दाइकोमा पुगेपछि न्युनतम दुई घण्टा छुट्याउनैपर्छ ! हराएको छैन दाज.. चाडैँ आउँछु ! मेरो ‘चाँडै’ कहिले आउने हो टुङ्गो छैन !

कहिलेकाहीँ साहित्यिक कार्यक्रममा निम्तो गरेर पनि उपस्थित नहुँदा बहिनी लता खरेलको फोन-गुनासो सुन्नुपर्छ- ‘दाजु ! त्यो कार्यक्रम त तपाईंको पनि हो नि ! म त तपाईंको अगाडि सानै छु नि ! आएर सिकाएर हौसला दिनुपर्दैन ? भद्रपुरमा एउटी बहिनी पनि छ भन्ने नबिर्सिनु है !’ मेची क्याम्पस पढ्दा हाम्रै घरमा डेरा बसेकी र मेरा बहिनीको दौँतरीसमेत भएकीले होला मप्रतिको उनको लाडप्यार साँच्चै नै बहिनीजस्तै छ ! उनको जायज गुनासोको कदर गर्नैपर्छ !

लेख्नैपर्ने र आफू जीवित भएको प्रमाणपत्र देखाउनैपर्ने बाध्यताचाहिँ खार्पाली पोख्रेलको धम्कीपुर्ण प्रेमपत्रले गर्दा आयो ! ‘हौ दाइ ! सिद्धियौ कि जिउँदै छौ ? चालचोल छैन त’ भन्दै फोन गर्ने जर्सी बामे भाइले यसपटक त स्टाटस नै पोष्ट्याइदियो !

केही दिनको मेरो अनुपस्थितिमा चिन्ता व्यक्त गर्ने, चासो देखाएर खोजिनिती गर्ने माले, मण्डले, मशाले, खोरेत, पुरेत, हरामी, बिरामीदेखि युवा वृद्धबारे चर्चा चल्दा हाम्रो कलेजको एमबिए छात्रा बबिना भट्टराईको तर्क थियो- मामा ! तपाईं सबै तरकारीमा मिल्ने आलुजस्तो भएकोले यस्तो भएको हो ! आलुजस्तो सबैसँग मिल्नुहुन्छ अनि खोजिहाल्छन् नि !

केको आलु हुनु ? खोरेत काङ्ग्रेसले देखिसहँदैनन् ! जिरे खुर्सानी भन्छन् ! कोहीकोही त छुचुन्द्रे पत्रकारसम्म भन्न पछि पर्दैनन् !

जिरे खोर्सानी भन्नु त राम्रो हो नि मामा ! खोर्सानी पिरो नै हुनुपर्छ ! पिरो भएन भने उसको पहिचान नै हराउँछ ! मन पर्नेले टोक्छन् नपर्नेले टोक्दैनन् ! नो टेन्सन मामा !! उनले लामै अर्ति पस्किन् ।

जुम्लाबाट सिलाजितलगायतका जडिबुटी ब्यापारी झापा आएको हप्तौँ भैसकेको छ- काका ! तपाईंलाई सिलाजित, ओलिजिनल केशर र मार्सी चामल ल्याइदिएको छु ! कतिबेला भेट्ने बड्डा ?

खै ! कतिबेला कतिबेला ? दुवैजना बिर्तामोडमै भएर पनि ‘भेटौँला नि भतिज’ भन्दै समय निकाल्न नसकेर टार्नु आफ्नै निकम्मापन त होला नि !

कसैसँग मिल्छु आलु नै होला ! कसैलाई पोल्छु जिरे खोर्सानी नै होला ! जेसुकै भएतापनि अब उप्रान्त आफ्ना शुभचिन्तकमाझ लेखकीय तथा देखकीय दुवै माध्यमबाट आफ्नो लबस्तरोपन मेटाउँदै जीवन्त उपस्थिति जनाउँने बाचा गर्दछु !

यो बाचा कुनै उखानेले चुलोमा ग्याँस पाइप जोड्ने जस्तो हुनेछैन न त पानीजहाज दौडाउँदै रेलका सपना देखाउने खालको हुनेछ ! यो वाचा तुइन विस्थापनको गफ हान्दै सुकुम्बासी बस्तीमा भ्युटावर ठड्याउने जस्तो निकम्मापन पनि हुनेछैन !

यो बाचा कुनै नरपिचासले अबोध बालबालिकासमेत प्रयोग गरी समृद्धिको सपना बोकाएर हिंसात्मक द्वन्द्व मच्चाइ हजारौं हत्या गरेर लाखौँ घरबारविहीन बनाएर तुहाएको सपनाजस्तो पनि हुनेछैन, न त प्रजातान्त्रिक समाजवादको नारा रट्दै आफ्नै स्वास्नी पिछडावर्गमा राखेर सांसद बनाउँदै भर्खरै ‘पदभ्रष्ट’ मन्त्री बनाउने जस्तो लबस्तरोपन नै हुनेछ ! यो वाचा कुनै सकुनीचालद्वारा तरुणको ‘त’ समेत नजानेको आफ्नो सन्तानलाई एकैपटक तरुणदलको केन्द्रिय आसनमा विराजमान गराझैँको नकच्चरोपन जस्तो पनि हुनेछैन ! घण्टी बजाएर अरुलाई तर्साउन खोज्दा आफैं घण्टा भएजस्तो पनि पक्कै हुनेछैन !

अब मेरो उपस्थिति लेखनी र देखनी दुवैरूपले सक्रिय रहनेछ ! साउन सकियोस्, भदौ लागोस् ! यसबीचमा यमराजले राँगो पठाएनन् भने भेटेर दारु तन्काउँला, नतन्काउनेले झालमुरी टोकौँला ! त्यो पनि नगर्नेले पानी तन्काउँला ! रमाइलो भेटघाट गरौंला !

वाचा भो ! माँ कसम ! विद्यानष्ट !!
विश्वास लागेन ? विश्वास गरौँ न यार ! म नेता होइन क्या ! तपाईंहरूकै आफ्नो मान्छे हो !!