नेपालका धेरै कम्युनिस्ट नामधारी पार्टीले ‘गाइजात्रा’ देखाइरहेका छन् । दुई लाख नब्बे हजार भन्दा कम भोट ल्याउने माधवकुमार नेपालको ‘नाङ्ले’ पार्टीमा तीन सय चौवालीस केन्द्रिय सदस्य बनाउनु ‘कम्युनिस्ट पदका भोका हुन्’ भन्ने प्रमाण हो । जति साना पार्टी र समूह उति ठूलो संख्यामा सदस्य बनाउने संस्कृतिले समाजलाई कता लैजान्छ ?
✍ अधिवक्ता प्रेमराज सिलवाल
कम्युनिस्ट ‘सपनाका व्यापारी’ हुन् ? कम्युनिस्ट पदका भोका हुन् ? कम्युनिस्ट ‘गफ’ बेच्ने व्यापारी हुन् ?- यस्ता अनेक प्रश्नसहितका आरोप कम्युनिस्टविरोधीले कम्युनिस्टलाई लगाउने गरेका छन् । मुलुकलाई समाजवादमा लैजाने, समाजमा प्रगतिशील सुधार गर्ने र राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा आमूल परिवर्तन गरी समाजको पुरातन गतिलाई उल्ट्याउने भन्दै कम्युनिस्टले रातो झन्डा बोके । गरीब, किसान, मजदुर र नागगरिकलाई मिठा-मिठा सपना बेचे । त्यो सब किन र केका लागि ?
यद्यपि, कम्युनिस्टलाई लगाइएका सबै आरोपमा सत्यता छैन । सबै कम्युनिस्ट उस्तै होइनन्, छैनन् । सबै नेता उही होइनन्, छैनन् । अर्थात्, कम्युनिस्ट नामधारी सबै कम्युनिस्ट पार्टी खासमा कम्युनिस्ट पनि छैनन् । रूपमा कम्युनिस्ट खोल ओडेका कम्युनिस्ट पद, पैसा, हैसियत र आफूकेन्द्रित ‘ठालु’ जस्ता देखिन्छन् । जति सानो पार्टी र समूह त्यति ठूला संख्यामा केन्द्रिय कमिटीको पदको संख्या देखिन्छ । जति कम हैसियत र क्षमता उती ठूला संख्याको केन्द्र बनाइएको देखिन्छ । मानका लागि मान राख्नमात्र केन्द्रिय सदस्य बनाइएको छ । गर्न सक्ने, हुनेखाने र ल्याकत केही पनि छैन । इज्जत र सलाम गर्र्ने कसैले होइन । समाज र नागरिकले चिन्दापनि चिन्दैन । कसैले मनोनित गरेका केन्द्रिय सदस्यलाई नागरिकले चिन्दै हिँड्नु पनि पर्दैन । तसर्थ, अर्थहीन केन्द्रिय सदस्यको पद किन र केका लागि ?
तीन करोड जनता भएको नेपालमा एक सय बढी दल छन् । एक अर्ब चालीस करोड जनता भएको चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले नेशनल पिपुल्स कंग्रेस नामको संसदमा दुई हजार आठ सय सतासी जनाको संख्याले मुलुक सञ्चालित छ । उस्तै जनसङ्ख्या भएको भारतको लोकसभामा पाँच सय त्रिचालीस सदस्यको सङ्ख्या छ । नेपालका धेरै कम्युनिस्ट नामधारी पार्टीले ‘गाइजात्रा’ देखाइरहेका छन् । दुई लाख नब्बे हजार भन्दा कम भोट ल्याउने माधवकुमार नेपालको स्वतन्त्र हैसियतको ‘नाङ्ले’ पार्टीमा तीन सय चौवालीस सदस्यीय केन्द्रिय सदस्य बनाउनु कम्युनिस्ट पदका भोका हुन् भन्ने प्रमाण होइन ? केन्द्रिय सदस्य पद नपाए कम्युनिस्ट त्यो पार्टीमा बस्दैनन् भन्ने कुरा यसले पुष्टि गर्दैन र ? जति साना पार्टी र समूह उति ठूलो संख्यामा सदस्य बनाउने संस्कृतिले समाजलाई कता लैजान्छ ?
२०६७ सालमा प्रचण्डको नेकपा माओवादी केन्द्रले तीन सय उनान्सय सदस्यको केन्द्रिय कमिटीको निर्माण गऱ्यो । त्यसले सार्वजनिक, बौद्धिक र नागरिक स्तरमा तीव्र आलोचना गरेको थियो । त्यो भन्दा बढी आलोचना र असन्तुष्टिचाहिँ प्रचण्डको आफ्नै पार्टीमा भइदियो । विवाद र असन्तुष्टिको ज्वाला ‘भुसको आगो’सरी फैलियो । कारण थियो- ‘सँगैको अर्काे कामरेड केन्द्रिय सदस्य मनोनित भयो मलाई किन लगिएन ?’ त्यस्तो आन्तरिक असन्तुष्टि थाम्न नसकेपछि प्रचण्डले तत्कालै चार सय उनान्सय सदस्यको केन्द्रिय कमिटी बनाए । फेरि विरोध भयो । उनले त्यही क्रमले बढाउँदै नौ सय उनान्सय सदस्यको केन्द्रिय कमिटी निर्माण गरे । ‘उचाहिँ केन्द्रमा जाने म तल्लो कमिटीमा बस्ने ?’ भन्ने भावमा आन्तरिक विरोध झन् तीव्र हुनपुग्यो । प्रचण्डले फेरि केन्द्रमा जाने संख्या बढाउँदै-बढाउँदै गएर अन्तमा तीन हजार नौ सय उनान्सय सदस्यीय केन्द्रिय कमिटीको निर्माण गरे । नेपालको राजनीतिमा त्यो भन्दा ‘भद्दा र नाङ्गो मजाक’ केही थिएन, भएन ।
माधवले पार्टीलाई चौरासीसम्म जोगाउन सकिन्छ कि भनेर भर्ती गरेका ‘केन्द्रिय सदस्य पद’ उनी र उनको दलको लागि ‘काउसो’ हुने प्रस्टै छ ।
त्यो ‘घटिया र विजोगलाग्दो’ कार्यले गर्दा दुनियाँ हास्न अर्काे गाइजात्रा कुर्नु परेन । अर्थात्, मुलुक निर्माण गर्न ‘क्रान्ति’ गरेको भन्ने एउटा जननिर्वाचित भएर सत्ता सञ्चालन गरिसकेको माओवादी पार्टीले गरेको त्यो कार्य राजनीतिक संस्कृति, सामाजिक मर्यादा, प्रजातान्त्रिक मूल्य र विश्वव्यापी अभ्यासविरुद्धको तल्लो स्तरको ‘हर्कत’ बन्न पुग्यो, जुन ‘पाच्य’ थिएन । आखिर ‘भुँडी फुट्ने गरी खाएर अजीर्ण भइ पखाला लागेको जस्तो’ भएर त्यो कार्य फिर्ता लिइयो, लिनुपऱ्यो ।
माओवादी अध्यक्ष प्रचण्डबाट भएको त्यो ऐतिहासिक भूलले कम्युनिस्ट भनेका पदका भोका हुन्छन् भन्ने भाष्य पुष्टि गर्न सहयोग गरिदियो । यसरी कम्युनिस्ट भनेका पद र शक्तिका भोका हुन् भन्ने आलोचकका कुरा प्रचण्डले पुष्टि गरेपछि सबै कम्युनिस्टप्रतिको नकारात्मक धारणा बन्न गयो । २०७७ सालमा नेपाल कम्युनिस्ट पार्टी फुटेको बेला एमालेले पनि बाह्र सय हाराहारीको केन्द्रिय कमिटीको निर्माण गरेको भएपनि पछि त्यसलाई ‘करेक्सन’ गरियो । अहिले त्यो सही ठाउँमा ल्याइएको देखिन्छ । तुलनात्मक रूपमा एमालेले चाहिँ केन्द्रिय कमिटीदेखि पार्टीका संगठनमा निश्चित मापदण्ड, आधार र प्रस्ट वैधानिक व्यवस्था लागु गरेको देखिन्छ ।
हो, त्यै एमालेबाट ‘एमालेभन्दा ठूलो क्रान्तिकारी हुने’ भन्दै हिँडेको माधव नेपालको पार्टीले फेरि नेपाली राजनीतिमा ‘गाइजात्रा’ देखाएको छ । तीस जनाको हाराहारीमा एमालेका सांसद लिएर अलग भएको पार्टीले चुनावमा गठबन्धन गर्दा बल्लतल्ल दश सिट जित्यो । थ्रेसहोल्ड पनि कटाउन सकेन । सि.के. राउतको पार्टीभन्दा सानो छ अहिले माधवको दल । अब त्यस्तो ‘खुद्रा पसलरुपी’ दलको चाहिँ केन्द्रिय कमिटी तीन सय चौवालीस सदस्यीय ! नेता गणेशमान सिँहले एकपटक ‘कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर ?’ भन्नुभएको थियो । माधवको दल ‘सानो, ख्याउटे ज्यान भएको पुच्छरचाहिँ नक्कली रौँ पहिराएर ठूलो बनाइएको कुकुर’को जस्तो भयो ।
जसरी विगतमा प्रचण्डले केन्द्रिय समितिमा मान्छे भर्ती गर्दा–गर्दा चार हजार पुऱ्याएका थिए, त्यही विधिबाट माधव अघि बढे । माधव पक्कै डुब्छन् ! उनको पार्टीमा अहिले फेरि उही रोग देखिएको छ, देखिन्छ, देखिनेछ- जसरी प्रचण्डले दुःख भोगे । ‘त्यो केन्द्रमा म किन तल्लो कमिटी’ भन्ने असन्तुष्टि र रोगले सताउनेछ । किनकि विधि, विधान, मापदण्ड, आधार, औचित्य, अर्थ, कारण केही नभइ ‘त्यो रिसाउला कि ?’ ‘त्यो फेरि एमालेमा जाला कि ?’ ‘त्यसलाई पनि थुम्थुमाउँ’, ‘उसलाई पनि धामथम गरुँ’ र ‘यो मेरो कोटा, त्यो तेरो कोटा-भाग’ भन्ने सूत्र र आधारबाट केन्द्रमा मान्छे राखेपछि विधिहीनता हुन्छ । त्यस्तो प्रवृत्तिका कारण जति धेरैलाई भर्ती गरेपनि थप असन्तुष्टि बढ्दै जान्छ । अनि त जतिलाई बनाएपनि कोही सन्तुष्ट हुने अवस्था रहँदैन । माधव नेपालको पार्टीले त्यही असन्तुष्टिको मार भोग्नेछ ।
अर्काेतर्फ फेरि माधवको पार्टी एमालेमा आउन ‘यही हर्कत’ बाधक हुनेछ । माधवले मनोनित गरेका उक्त ‘झुन्ड’ एमालेले चिन्दैन, जान्दैन । जो केन्द्रमा लगिए उनले फेरि भन्नेछन्- ‘हामी त केन्द्रिय सदस्य थियौँ ।’ त्यसो भएर माधवले पार्टीलाई चौरासीसम्म जोगाउन सकिन्छ कि भनेर भर्ती गरेका केन्द्रिय सदस्य पद उनी र उनको दलको लागि ‘काउसो’ हुने प्रस्टै छ । पोलिटिकल/सोसल पोजिशन एवम् व्यवसाय केही नभएका केन्द्रिय सदस्यलाई समाजले मात्र होइन स्वयम् माधव नेपालले पनि चिन्न सक्ने अवस्था हुँदैन । काम र औचित्य नभएका ‘नाम, पद’ कसैलाई किन चिन्नुपर्ने ?
नेपाली राजनीतिमा यो गलत संस्कृति निर्माण गरियो । यसले राजनीतिक समाजलाई कता लैजान्छ ? जसले राजनीतिलाई ‘पङ्गु र पत्रु’ बनाउने छ । यस्ता हर्कतले चौतर्फी समस्या र अविश्वास बढाउने निश्चित छ । विधि, विधान, औचित्य र सबै दृष्टिले केन्द्रमा पुग्न योग्य नेतासमेतलाई यस्ता तरिकाले ‘सम्मान’ हुँदैन । बरु अपमान हुन्छ । किनकि ‘जो पनि भएको ठाउँमा मलाई किन ?’ सबै सामान्य भर्खर प्रवेश गरेको र बढी योग्य भएकाहरूलाई उही गोठमा हुलेपछि कसैको पनि मूल्याङ्कन हुने भएन । यस्तो तरिका र विधिबाट पार्टी सञ्चालन गर्दा दलीय राजनीति घृणित बन्न पुग्दछ ।
अर्काे कुरा कम्युनिस्ट र प्रगतिशीलताको नारामा पार्टी खोलेका माओवादी र माधवको समाजवादी जस्ता दल केवल पदका मात्र भोका हुन् भन्ने प्रमाणित हुँदैजाने खतरा पनि छ । त्यो भइपनि सक्यो । समाज, देश र नागरिकको अवस्थामा आमुल परिवर्तन गर्न कम्युनिस्ट दल खुलेका हुन् भने यस्ता हर्कत बन्द गर्नुपर्छ । पार्टीले देशको राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक रुपान्तरण तथा संस्कृतिको निर्माणसमेत गर्ने भएकाले भेँडाका बथान जस्तो गरी केन्द्रमा मान्छे थुपार्दा पदलोलुपको आरोप पुष्टि हुन्छ । कम्युनिस्ट पार्टी किन र केका लागि खोलिएका हुन् भन्ने कुरा नै भ्रमपूर्ण बन्दछ । सत्ता र शक्तिका लोभी भनिएका माधवले गरेको मनोनयनले कम्युनिस्ट पदका लोभी हुन् भन्ने नै पुष्टि गरिदियो ।
प्रतिक्रिया