स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखेनाच सुरु भएको छ । रीतिरिवाज, भोषभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो ।
नेवार समुदायको मात्र लाखे नाच भन्ने परम्परा तोड्दै अहिले सबै समुदायको सहभागितामा भोजपुरमा परम्परागत जोगाउने अभियान सुरु गरिएको युवा नविन बुढाथोकीले बताए । नागपञ्चमीका दिनदेखि सुरु हुने लाखेनाच जिल्लामा पनि आज (२५ साउन)देखि विधिवत् रुपमा सुरु भएको उनले जानकारी दिए ।
यसअघि नेवारी समुदायको बसोबास रहेको क्षेत्रमा यो नाच निकाल्ने गरिएकामा पछिल्लो समय परम्परा जोगाउने उद्देश्यले सामूहिक सहभागितालाई जोड दिन थालिएको बुढाथोकीको भनाइ छ ।
प्रत्येक वर्ष निकालिने लाखेनाच यस वर्षका लागि आजबाट सुरु भएको जानकारी दिँदै स्थानीय विकल श्रेष्ठले भने, ‘विगतको परम्परागत संस्कृतिलाई निरन्तरता दिने काम युवाले गर्नुपर्छ, यसले पुस्तान्तरण हुनुका साथै परम्पराको संरक्षण र प्रवर्द्धनसमेत हुन्छ ।’
केही ठाउँमा गठेमङ्गलदेखि नाच सुरु हुने गरेको भन्दै भोजपुरमा नागपञ्चमीदेखि नचाउने प्रचलन रहेको अभियन्ता विनम श्रेष्ठको भनाइ छ । स्थानीय युवाको पहलमा परम्परादेखि चल्दै आएको संस्कृतिको संरक्षण र प्रवर्द्धनमा लागिएको उनले उल्लेख गरे । जिल्लाका स्थानीय मठमन्दिरको पूजाअर्चना गरी लाखेनाच सुरु गरिएको श्रेष्ठले जानकारी दिए ।
लाखेनाचमा विभिन्न नाम दिइएका जात्रामा ढोल, झ्याम्टा बजाउँदै, ठाकठुके नाच, रोपाइँ नाच, विभिन्न हास्य व्यङ्गयात्मक कार्यक्रम, जातीय संस्कृति र परम्पराअनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गर्ने चलन रहँदै आएको छ ।
परम्परादेखि चल्दै आएको संस्कृतिको जर्गेना गर्नका लागि युवालाई प्रशिक्षणसमेत गर्ने गरिएको छ । बाजाको ताल, गीतको सुर, नृत्य ताल लगायत विषयमा युवालाई प्रशिक्षण दिने गरिएको स्थानीय बताउँछन् । नेपाली कला, संस्कृति, पराम्पराको संरक्षण गर्दै लाखे नाच प्रव्रद्धनमा सबै जुटनुपर्ने स्थानीयको माग छ ।
जिल्लाको भोजपुर नगरपालिकाभित्र, बजारका साथै पानी ट्याङ्की, टक्सार, डाँडागाउँ, बोखिम दाँवालगायत क्षेत्रमा लाखे नाच नचाउने गरिन्छ । जिल्लाको पूर्वीअरुण गाउँपालिका, षडानन्द नगरपालिका क्षेत्रका विभिन्न वडामा समेत लाखे नाच नचाउने परम्परा रहँदै आएको छ । नागपञ्चमीका दिनदेखि सुरु भएको लाखे नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कङ्सलाई नाश गरेको दिनसम्म नचाउने प्रचालन रहँदै आएको स्थानीय नवीन प्रधानले बताए । परम्परा बोकेको लाखेनाच नयाँ पुस्तालाई हस्तान्तरण गर्न युवाले ‘भोजपुर लाखे समाज’ बनाएर अग्रसरता लिएका छन् ।
photo: rss
प्रतिक्रिया