फुर्ति आफैमा नकारात्मक सोचको प्रतिफल हो । फुर्ति देखाउने मानसिकता समय नघर्किंदै त्यागौँ, सबैसँग सुमधुर प्रेमिल सम्बन्ध राखौँ ! अरुको सहयोगी बनौँ । धन सम्पति र शक्तिको फुर्ति कुनै बेला पनि अवसान हुन सक्छ भन्ने मनन गरौँ ।
✍ शेखर ढुंगेल
कति नेपालको न्युनस्तरीय राजनैतिक गतिविधिको मात्र चर्चा गर्नु ? आज फरक विषयमा लेख्ने जमर्को गरेको छु ।
नेपाली समाजमा व्यक्तिको अस्वभाविक वा हैसियतबाहिरको ब्यवहार बोली र हाउभाउलाई ‘हेर न.. उसको फुर्ति !’ भन्ने गरिन्छ । अनि चिन्नेजान्नेले भन्छन्, ‘अरुलाई फुर्ति दिएजस्तो हो… हामीलाई थाहा छैन र उसको हैसियत… !’ भनेर फुर्तिलाई न्यूनीकरण गराइदिन लाग्छौँ ।
वास्तबमा उमेरमा स्याल पनि घोर्ले हुन्छ भनेजस्तै फुर्ति मानवजीवनको एउटा उर्जामय मनोविज्ञान हो । कतिपय अवस्थामा फुर्ति उच्च आत्मबलको लक्षण पनि हो । बोलीमा मात्र होइन लवाइ, हिँडाइमा फुर्ति हुनेहरूले एक प्रकारको सकारात्मक उर्जा बाँडिरहेका हुन्छन् भने नकारात्मक सोचले ग्रस्त भइ अहंकार आडम्बरयुक्त औकातभन्दा बाहिरको फुर्तिले अन्ततः व्यक्तिको आत्मबल स्खलित हुन् पुग्छ र, असफलताको बाटो हुँदै एक्लिँदै जानुपर्ने अवस्थामा पुऱ्याउने गर्दछ ।
अब चर्चा गरौँ मानिसको फुर्ति अवसान हुने कारणहरूका बारेमा ।
१. पदबाट अवकासपश्चात :
वास्तबमा जुन समाजमा Norms of Strong Civic Sence को चेत हुन्छ त्यो समाजमा पद केवल एउटा सेवाको लागि हो र, यो सेवा धार्मिकता, मानवियता, विवेक र जिम्मेवारीको बोधले प्रेरित भएको हुन्छ । त्यहाँ सेवाग्रही वा सहकर्मी सबै सम्मान र मर्यादाका हकदार हुन्छन् भन्ने बुझाइ हुने भएकाले तह समान आदरभाव हुन्छ । तर, हाम्रो जस्तो अविवेकी समाजमा पदीय आडम्बर अहङ्कार एउटा तानाशाह भन्दा पनि न्यूनस्तरको हुन्छ र, पदमा रहुन्जेल आफूभन्दा सानो पदकोलाई अनादर गर्ने, सेवाग्रहीसँग सम्मान खोज्ने, उनीहरूलाई रवाफ देखाउने, हप्काउने आदि गर्छन् । तर, जब पदबाट अवकास हुन्छन् तब त्यस्ता व्यक्तिहरूको मनोबल गिरेको, सम्मानको लिप्सा बढेको, नमस्कार खोजेको मनोविज्ञान बुझ्न गाह्रो हुँदैन । नेपालका सेना प्रहरी र प्रशासनलगायतका हाकिम वा कर्मचारीहरूको ‘फुर्ति पदबाट अवकास हुने केही समयअगावैदेखि निष्क्रिय हुँदै जान्छ र अवकासपछि पुर्णरूपमा अवसान हुन्छ । सामाजिक सञ्जालमा दुखेसो पोखेको देखिन्छ- पहिले आफूअन्तर्गत रहेको जुनियरले देखेको नदेख्यै गऱ्यो, नमस्कार/स्यालुट गरेनन् !…’ सेना र प्रहरीमा खासगरी हाकिमहरूमा भने यो फुर्तिले अवकासपछि असैह्य पीडा दिएको हुन्छ ।
२. आर्थिक एवम् पारिवारिक पीडा :
समय सधैं एकनास कहाँ हुन्छ र ! आज सबैतिर सहयोग र समर्थन पाएको ब्यवसाय वा आर्थिक सम्पन्नता कारणवश नकारात्मक हुन पुग्दा सम्पन्नताको अवस्थामा व्यक्तिको जुन हाउभाउ, उर्जा, अहंकार, आडम्बर हुन्छ त्यो एकाएक सिथिल हुन पुग्छ । अर्थात्, हिजोसम्मको फुर्तिको अचानक अवसान हुन पुग्छ । हिजो सहयोग माग्न आउने, ऋण माग्न आउने, जागिर माग्न आउनेहरूसँग आज आफैले याचना गर्नुपर्ने अवस्था सिर्जना हुँदा फुर्तिको अवसान हुन्छ ।
३. पारिवारिक पीडा :
आर्थिकरूपमा सम्पन्न, पदीयरूपमा चर्चित तथा मर्यादित अवस्थामा रहेको व्यक्तिले आकासमा उडिरहेको चरा झार्छु जस्तो सोच बनाएको हुन्छ । अर्थात्, म जे कुरामा पनि सफल हुन्छु, म जे पनि गर्न सक्छु भन्ने फुर्तिको मनोविज्ञानले प्रोत्साहन पाएको हुन्छ । धेरै उदाहरण छन् समाजमा अचानक त्यस्तो व्यक्तित्वहरूको परिवारमा दुःखद घटना हुन पुग्छ । पारिवारको सदस्य गुमेको हुन्छ वा गम्भीर स्वास्थ्य समस्यासँग जुध्नुपर्ने अवस्था आउँछ त्यसपछि हिजोसम्म जीवित उर्जामय फुर्तिको अवसान हुन पुग्छ । जिन्दगीदेखि नै बैराग्य लाग्ने अवस्थामा पुग्छन् तब फूर्तिको अस्तित्व समाप्त भएको हुन्छ ।
४. शारीरिक अस्वस्थता :
युवा अवस्थामा नै वा फुर्तिमय दैनिकी सशक्त हुँदै कारणवश कुनै व्यक्तित्वको शारीरिक अस्वस्थताको अवस्था अर्थात् दीर्घकालिन असर पार्ने बिमारी वा गम्भीर दुर्घटनाले जीवनको बाटो कहाँको कहाँ पुऱ्याइदिन्छ । त्यसपछि हिजोसम्म रहेको जवानी, जोश, उर्जा अर्थात् फुर्ति निस्क्रिय हुन् पुग्छ । व्यक्तिको सोच पहाडबाट समुन्द्रको सतहमा आइपुग्छ र फुर्तिको अवसान हुन्छ ।
५. बारम्बारको असफलता नोक्सानी र गल्ती :
मानिसको आकाङ्क्षाहरू असीमित हुन्छन् । हाम्रो जस्तो समाजमा मानिसहरू आफ्नो योग्यता/क्षमता/दक्षताभन्दा धेरै अघि बढेर अरुमा आश्रित सुख र उपलब्धिमा दौडिरहेका हुन्छन् । अरुमा आश्रित उपलब्धि र सफलता खोज्ने मानसिकताले व्यक्तित्वलाई चाचुचा वा दासत्व मनोवृत्तितर्फ धकेलिरहेको हुन्छ । अरुमा आश्रित भएर फुर्ति देखाइरहेका हुन्छन् । यसरी अरुमा आश्रित सपनाहरू बोक्ने व्यत्तिलाई बारम्बारको असफलता मिल्ने, नोक्सानी ब्यहोर्नुपर्ने र धेरै गल्तीको महसूस गर्नुपर्ने हुन्छ । कारण आफूआश्रित शक्तिको अवस्था सधैं राम्रो नहुन सक्छ । एकपछि अर्को आश्रय खोज्ने लत परेको हुन्छ । उदाहरणको लागि राजनैतिक व्यक्तित्वहरूलाई आफ्नो सपनाको सारथी मानेर हिँड्नेहरू हाम्रो अस्थिर र असफल नेतृत्व वर्गको पछिलाग्नु वास्तबमा असैह्य पीडा अनुभूति गरिरहेका छन् । पहुँच वा शक्तिकेन्द्र बदलिने अवस्था वा बदलिएपछि त्यस्ता व्यक्तिहरूको फुर्तिको अवसान हुन्छ । आश्रयको आधारमा लगानी गरेको भए नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । हिजोसम्मको रवाफ हाउभाउ समाप्त हुन्छ, उनीहरूको फुर्ति मर्छ । कतिपयको आफ्नै बलबुतामा गरेका धेरै काम लगातार असफल र घाटामा जान थालेपछि फुर्ति मर्छ । पछिल्लो उदाहरण सहकारी सञ्चालकहरूलाई हेरौँ- फरार सुचीमा रहेका हज्जारौँ र, जेलमा रहेकाहरूको त्यो फुर्ति कहाँ रह्यो जीवन्त ?
६. अप्रत्यासित दैवीप्रकोप वा पारिवारिक समस्या :
फुर्ति भन्ने प्रवृत्ति वास्तबमा अवस्था आफ्नो अनुकुल भएको विश्वासले प्रेरित गर्ने न हो । तर, अप्रत्यासित आगलागी, भूकम्प एवम् बाढीले व्यक्तिको सम्पति र पारिवारिक दुखान्त अवस्था आइपर्न सक्छ । भएको सम्पति सबै सुन्यमा झर्न सक्छ । घरबारविहीज हुन सक्छ । यस्तो अवस्था आइपर्दा व्यक्तिको फुर्तिले मृत्युवरण गर्न पुग्छ । कतिपय धनाढ्यहरूको सम्बन्ध बिच्छेद हुँदा आधा सम्पति गुमाएर आत्मबल स्खलित हुन्छ, मानसिक तनावले सताउन थाल्छ । त्यस्तो अवस्थामा हिजोसम्म हाँसो-खुसीले उन्माद व्यक्तित्वको फुर्तिले बिदा लिन पुग्छ ।
७. आत्मज्ञान :
मानवजीवन हो, समयसँगै पौंठेजोरी खेलेर अनेकौँ संघर्ष गर्दै जीवनको एउटा हद पार गरिसकेपछि अनुभव, अनुभूति, अध्ययनले मानिसले आफूलाई परिवर्तित गर्छ । जानी-नजानी हिजो भए गरेका काम र परिणामहरूले दुःखी वा खुशी जे पनि बनाउन सक्छ । जीवनको कुनै अवस्थामा पुगेपछि धन कमाउने, ऐश गर्ने, महङ्गा बस्तु उपभोग गर्ने आडम्बर, अहंकार देखाउनु गलत हो भन्ने आत्मानुभूति हुन जान्छ । जीवन सरल र सादगी बनाउने सोच र ब्यवहारमा कार्यान्वयन गर्न सक्षम भएपछि व्यक्तिले ‘फुर्ति देखाउनु मुर्खता हो, सत्यतालाई अँगाल्नुपर्छ’ भन्ने चेत कमाउन सफल हुन्छ, अनि फुर्तिको अवसान हुन्छ । फुर्ति अज्ञानताको परिणाम हो भन्ने विश्वास स्थापित हुन्छ ।
८. उमेर :
अन्ततः यौवनकालमा जे-जति सपना आकांक्षा बोकेर जे-जति सफलता हासिल गरी गौरवान्वित भए पनि जे-जस्ता पद सम्पति भौतिक सुविधा प्राप्त गरेर आडम्बर देखाएपनि समयले मानिसलाई त्यो अवस्थामा पुऱ्याएर धकेलीदिन्छ कि उसको सम्पूर्ण उर्जा सम्पतिले काम गर्न छोड्छन् । शरीरका कोषिकाहरूले निस्कृयता देखाउन थाल्नेछन् तब आफ्ना आफन्तहरूको लागि उपयोगहीन हुन पुग्छन् अनि बाँच्ने इच्छाबाहेक सम्पूर्ण चाहनादेखि टाढा बस्ने अवस्था आउँछ, तब फुर्तिको के काम ? स्वतः अवसान हुन्छ ।
तसर्थ, मानिसले फुर्ति या झुटो बोली, अहङ्कारी/आडम्बरीपन, धुर्त्याइँ र अर्कोमा आश्रित सफलता वा खुशीलाई त्याग्न सक्नुपर्छ । ढोके बनेर फुर्ति प्रदर्शन गर्नु अरुको लागि ब्यङ्ग्यात्मक र आफ्नै लागि पीडादायी हुन पुग्छ । फुर्ति आफैमा नकारात्मक सोचको प्रतिफल हो । फुर्ति देखाउने मानसिकता समय नघर्किंदै त्यागौँ, सबैसँग सुमधुर प्रेमिल सम्बन्ध राखौँ । अरुको सहयोगी बनौँ । धन सम्पति र शक्तिको फुर्ति क्षणिक हो, कुनै बेला पनि अवसान हुन सक्छ भन्ने मनन गरौँ ।
प्रतिक्रिया