अरू कसैके प्रश्न गरोस् या नगरोस् तर म सधैं प्रश्न गरिरहने छु- ‘मेरा भतिजीहरूले नेपाली भाषामा विज्ञानजस्ता विषयहरू पढ्न पाउने अधिकार पाउनुपर्छ कि पर्दैन ? कसैले अङ्ग्रेजी पढ्न चाहन्न भन्छ भने उसले आधुनिक विषयहरू (अङ्ग्रेजी भाषा) बाहेक मातृभाषामा पढ्न पाउने ब्यवस्था कहिले हुन्छ ?’
✍ डा. गोविन्दशरण उपाध्याय
आज नेपाली शिक्षाजगत् निकै आलोचित छ । कक्षा १० होस् वा १२ दुवैमा सबैभन्दा विद्यार्थी असफल हुने विधा नै अङ्ग्रेजी हो । शिक्षाका विषयमा केही लेख्नु र भन्नुभन्दा पहिला तीनवटा प्रसङ्ग उल्लेख गर्छ चाहन्छु ।
(१) मेरो भतिजीले यसपटक एसइइ उत्तीर्ण गरिन् । उनी मेरो जन्मस्थल पर्वतको विहादीबाट विज्ञान पढ्न (Science) पढ्न काठमाडौं आएकी छन् । मैले स्थानीय सरकारी +२ बालोद्धार मा.वि.मा भर्ना गरिदिएँ । विज्ञानका शिक्षकले भन्नुभयो- ‘विद्यालयमा विज्ञानको अङ्ग्रेजी माध्यमबाट पढाइ हुन्छ !’ त्यो दिनदेखि अङ्ग्रेजीको डरले भतिजीको उत्साह घटेको छ । उनी विज्ञान पढ्न चाहन्छिन् तर अङ्ग्रेजीको डरले उनी आक्रान्त छिन् । नेपालीमा विज्ञानका पुस्तक छैनन् ।
(२) आफ्नै क्याम्पसमा विज्ञानका प्राध्यापक राजेन्द्र गौतम र खुला विविका पूर्व उपकुलपति प्रा.डा. इन्द्र सरसँग प्रसंगवश यही कुरा चल्यो । स्वाभाविक रूपमा विज्ञानका प्राध्यापकद्वयलाई मैले सोधेँ- ‘के अङ्ग्रेजी नजान्ने तर विज्ञान पढ्न इच्छुक भाइबहिनीका लागि अङ्ग्रेजी माध्यमबाट विज्ञान पढ्नुको विकल्प छैन ? के नेपाली जान्नेमात्र वा अङ्ग्रेजीमा अभिरुचि भएकाले नेपाली भाषामा विज्ञान पढ्नै हुँदैन ?’ उहाँ दुवैको लगभग एकै जवाफ थियो- ‘सायद शिक्षानीति तर्जुमा गर्दा नेपाली भाषामा पनि विज्ञान पढ्न÷पढाउन सकिन्छ भन्ने चिन्तन नभएका र विदेशी आर्थिक सहयोगले अङ्ग्रेजी जान्ने र बुझ्ने भएर होला, शिक्षा नीति-निर्माणको तहमा नेपालीको प्रवेशलाई कुण्ठित गरिन्छ ।’
(३) सन् २०१८ मा म र हाम्रो मनोविज्ञान विभागका डा. नारायणप्रसाद पौडेल पन्ध्रदिने न्यादरल्याण्डको यात्राको प्रसंगमा त्यहाँका पाँचवटा सरकरी विद्यालयहरूको भ्रमण गर्ने, शिक्षाको माध्यम र तौरतरिका बुझ्ने र शिक्षामन्त्रिसहित वरिष्ठ शिक्षाविद्हरूसँग विचारविमर्श गर्ने मौका मिल्यो । न्यादरल्याण्डको कुनै पनि सरकारी वा निजी विद्यालयहरूले कक्षा चारबाट मात्र विदेशी-भाषा पढ्ने व्यवस्था गर्दा रहेछन् । विद्यार्थीका लागि कक्षा चारदेखि नै एउटा (एक पेपर) विदेशी भाषा र अर्को छिमेकीको भाषा पढ्नुपर्ने अनिवार्य रहेछ । सामान्यतया विदेशी र छिमेकी भाषाको समापन कक्षा १२ को परीक्षा दिएपछि मात्र हुँदोरहेछ । जब हामीले ‘नेपाल सरकारले विद्यालयहरूमा नर्सरीदेखि नै अङ्ग्रेजी भाषा सिकाउने नीतिमा काम गरिरहेको छ’ भन्ने जानकरी दियौँ, उहाँको अत्यन्त संक्षिप्त टिप्पणी थियो- ‘यो दुर्भाग्यपूर्ण हो ।’
छिमेकी जर्मनीमा झन् कुनै पनि विद्यालयमा अङ्ग्रेजी पढ्नु अनिवार्य रहेनछ । स्वेच्छिक विषयका रूपमा अङ्ग्रेजी पढाउने गरिँदोरहेछ । विज्ञानसहित सम्पूर्ण विद्यालयका पाठ्यपुस्तक त्यहाँका मानक भाषा (डोइच) उपलब्ध रहेछन् । तर, अचम्मको कुरा के भने कक्षा ४ देखि कक्षा १२ सम्म एक पेपरमात्र अङ्ग्रेजी पढ्ने विद्यार्थीहरूको अङ्ग्रेजी ‘राम्रो’ मानिँदो रहेछ ।
यी तीन प्रसङ्गको आ-आफ्नो पृष्ठभूमि छ । नेपालमा २०२९ सालदेखि विद्यालयहरूमा भारतको नक्कल गर्दै अङ्ग्रेजी लादिएको हो । मैले लादिएको शब्द पूर्णसमझमा गरेको छु । सरकारी विद्यालयका अधिकांश विद्यार्थी असफल हुनुमा यही ‘अङ्ग्रेजी’ प्रमुख कारक रहेको छ । नेपाली भाषा र मानसिकतासँग गोरू बेचेको नाता नभएको अङ्ग्रेजीले नेपालका धेरै बालबालिकाको जिन्दगी बर्वाद गरेको छ । तर यस विषयको उठान न नेपाल सरकारले गर्छ न त शिक्षाविद्हरूले नै गर्छन्, न सार्वजनिक बहसमा यी कुराहरू आउँछन् । नेपालीहरूको लागि अङ्ग्रेजी र अङ्ग्रेजी मानसिकता बोकेका इंग्लिस ‘दलाल’हरू ‘दुर्भाग्यका चोइटा’ भएका छन् ।
छिमेकी भारत, पाकिस्तान, न्यादरल्याण्ड, जर्मनीमा विज्ञानको भाषा ‘राष्ट्रभाषा’ छ भने नेपालमा नेपाली भाषामा विज्ञान किन हुन सक्दैन ? मेरा भतिजीहरू अमेरिका, बेलायतका अङ्ग्रेजीभाषी नागरिकका छोराछोरी होइनन् । राज्यले अङ्ग्रेजी विज्ञानमा लादेर मेरा भतिजा/भतिजीहरूको आत्मसम्मान, पढ्ने चाहना र नेपाली भाषाको प्राकृतिक ज्ञानलाई नष्ट पार्ने अपराध गरेको छ । राज्य अपराधी छ । राज्य, विदेशी प्रतिमान बोकेका शिक्षाविद् र विदेशी संघसंस्था मिलेर गरेको यो अपराधको दण्ड मेरा भतिजा/भतिजीहरूले भोग्नु परिरहेको छ ।
आजको सत्य के हो भने अङ्ग्रेजी पढ्नेहरू विदेश जान्छन्, नेपालका लागि काम लाग्दैन । नेपालमै बसेर नेपाल बनाउँछु भन्ने सोच भएका भतिजा/भतिजीहरूलाई सरकारले नै अङ्ग्रेजी बालबालिकाले विज्ञानजस्ता विषयहरू आफ्नै मातृभाषामा पढ्न पाउने अधिकारबाट वञ्चित राखेको छ ! यो भन्दा विडम्बना केही होला !
मैले अङ्ग्रेजी भाषाका विरुद्ध लेखेका यी हरफहरू अङ्ग्रेजी भाषाका विरुद्ध होइन । अङ्ग्रेजी भाषामा अभिरुचि भएकाले मज्जाले सिकुन् । आफ्ना बालबालिकालाई सिकाउन् । अङ्ग्रेजी वैश्विकभाषा हो र यो जान्नु सबैका लागि हितकारी नै छ । प्रश्न के हो भने जब विश्वका विकसित राष्ट्रहरू जर्मनी/न्यादरल्याण्ड/चीनले आफ्नै मातृभाषामा विज्ञान/मेडिकल/इन्जिनियरिङसहित अन्य विषय पढाएर ‘वैज्ञानिक’ उत्पादन गरिरहेको छ भने नेपालले अङ्ग्रेजीमा विज्ञान लादेर वा अङ्ग्रेजी लादेर कति विश्वस्तरीय वैज्ञानिक, लेखक वा विश्वलाई प्रभावित पार्न सक्ने राजनैतिक नेतृत्व उत्पादन गऱ्यो ? ‘विज्ञान, म्यानेजमेन्ट, शिक्षाआदिको मूलभाषा अङ्ग्रेजी हुनुपर्छ’ भन्ने मान्यता बोक्नेहरूले जवाफ दिनुपर्छ, तर पोषित शिक्षाविद्, सरकारले आफ्ना जनतालाई जवाफ दिनुभन्दा शिक्षालाई हतियार बनाएर शिक्षाक्षेत्रमा घूपपैठ गरेका अमेरिकी, बेलायती निकायहरूलाई जवाफ दिनुपर्ने कुरालाई बढी आवश्यक ठान्छन् । मनोविज्ञानका अनुसन्धानहरूले मातृभाषामा प्राप्त हुने ज्ञान र सिकाई सबैभन्दा अब्बल हुने प्रमाणित गरेको सय वर्ष व्यतीत भइसकेको छ ।
विद्यालय शिक्षालाई ‘गरिव र धनी’को बनाएर विभाजन गर्ने नीति र कानून बनाउने सरकार अपराधी हो । यदि आजको मितिमा बोर्डिङ स्कूलहरूले अङ्ग्रेजी माध्यमलाई महत्व दिएर पढाइरहेका छन् भने तिनलाई दोष दिन मिल्दैन । अङ्ग्रेजी स्कूलहरूले कानुनले दिएको अधिकार प्रयोग गरेर शिक्षाको व्यापार गरिरहेका छन् । साँच्चिकै भन्ने हो भने यी बोर्डिङहरूले नेपालको अङ्ग्रेजी सरकारको नाक जोगाइदिएका छन् । सायद, सरकारप्रमुखहरूले शिक्षाका क्षेत्रमा अङ्ग्रेजीलाई बलियो बनाउन अनुदान दिने विदेशी संस्थाहरूलाई बोर्डिङ-उत्पादनहरू देखाएर जवाफ दिने गरेका छन् । हामी नेपालीहरूको दुर्भाग्य नै भन्नुपर्छ कि हामीले सधैं समाजवादी, साम्यवादी सरकार बनाउनेलाई जिताएका छौँ तर उनको मनमा मेरा भतिजीहरूको ‘नेपालीमा विज्ञान पढ्ने चाहना, मेडिकल पढ्ने चाहना, इन्जिनियरिङ पढ्ने चाहना अङ्ग्रेजी नजान्ने यथार्थता र अङ्ग्रेजी पढ्न अनिच्छा’को कुनै पर्वाह छैन ।
विश्वमा नेपालीमात्र यस्तो सरकारी संयन्त्र र राजनैतिक नेतृत्व भएको देश हो जसले ७२ वर्षदेखि अङ्ग्रेजीमा खर्बौं लगानी गर्दा पनि सधैं असफलता प्राप्त गर्दै आएको छ । मेरा भतिजीहरू कि अङ्ग्रेजीमा फेल हुन्छन् कि बल्ल-बल्ल पास भए पनि विज्ञान पढ्न पाउन्नन् । नेपाली (नेपालका सबै मातृभाषासहित) भाषीहरूसँग गोरू बेचेको नाता नभएको अङ्ग्रेजी लाद्न गरेको लगानीको केवल १० प्रतिशतमात्र नेपाली भाषामा विज्ञानसहित अन्य पाठ्यपुस्तक तयार पार्न गरेको भए, नेपालले विश्वस्तरीय वैज्ञानिक, चिन्तक र राजनैतिक नेतृत्व प्राप्त गर्ने थियो । मैले लेखेको यो हरफलाई प्रमाणित गर्न चीन, न्यादरल्याण्ड र जर्मनीका आ-आफ्नो मातृभाषामा उच्चशिक्षा प्राप्त गरेर वैश्विक तहको स्थान प्राप्त गरेका नागरिकहरू पर्याप्त छन् । सरकारहरूको अङ्ग्रेजी मोह नित्याएको महामारी कहिले रोकिन्छ थाहा छैन । आजको सत्य के हो भने अङ्ग्रेजी पढ्नेहरू विदेश जान्छन्, नेपालका लागि काम लाग्दैन । नेपालमै बसेर नेपाल बनाउँछु भन्ने सोच भएका भतिजा/भतिजीहरूलाई सरकारले नै अङ्ग्रेजी बालबालिकाले विज्ञानजस्ता विषयहरू आफ्नै मातृभाषामा पढ्न पाउने अधिकारबाट वञ्चित राखेको छ ! यो भन्दा विडम्बना केही होला ! साथै, अङ्ग्रेजी भाषाका माध्यमबाट नेपाली धार्मिक, सांस्कृतिक, सामाजिक तथा राजनैतिक मूल्यहरूमा परेको कु-प्रभाव सोच्नै नसकिने छन् ।
अन्त्यमा, अरू कसैके प्रश्न गरोस् या नगरोस् तर म सधैं प्रश्न गरिरहने छु- ‘मेरा भतिजीहरूले नेपाली भाषामा विज्ञानजस्ता विषयहरू पढ्न पाउने अधिकार पाउनुपर्छ कि पर्दैन ? कसैले अङ्ग्रेजी पढ्न चाहन्न भन्छ भने उसले आधुनिक विषयहरू (अङ्ग्रेजी भाषा) बाहेक मातृभाषामा पढ्न पाउने ब्यवस्था कहिले हुन्छ ?’ प्रसिद्ध अमेरिकी शिक्षाविद् जन डुइलाई सम्झन्छु- ‘तपाईं जतिधेरै मातृभाषामा पोख्त हुनुहुन्छ, त्यति नै तपाईंको विनिर्माणशक्ति उच्चस्तरीय हुन्छ । धेरै भाषा जान्नु राम्रो हो तर लादिएको भाषामा कुनै पनि विनिर्माण असम्भव छ ।’
प्रतिक्रिया