‘खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाश छोपिन्न, घोटिएर हातपाउ झरिजाओस् लौला तर कोहीअगाडि यी हात जोडिन्न..!’ यो गीतको भावको विपरीत बनेका छौँ आज हामी । नेपाली स्वाभिमान परदेशिएको छ, नेपाली युवाहरू धमाधम नेपाली पासपोर्ट त्याग्दैछन्, पिआरको प्यासमा देश रित्तिँदै छ, ग्रीनकार्डको बहानामा देश खाली बन्दैछ ।
✍ मोहन खतिवडा, टोकियो
‘एकदिन यस्तो पनि आउँछ जसले हामीलाई छुटाउँछ अनि हेरेको हेऱ्यै बनाउँछ, एक्लै आउने हो सबै एक्लै जाने हो’
डा. कृष्णहरि बरालको शब्दरचनामा गायक राज सिग्देलले गाएको गीत वर्तमान समयको राजनीतिमा पनि सुहाउँदो देखियो । हाम्रा हजुरबाहरू भन्नुहुन्थ्यो- बाबु, जन्मेपछि एउटा यस्तो पवित्र काम गर्नु जसबाट तिमीले जिउँदोमा जन्ति र मर्दामा मलामी कमाउन सक । भौतिक सम्पति त छोडेरै जाने हो.. लाने त मर्दामा मलामीमात्र हुन् बाबू !
मलाई पछिसम्म लागिरहन्थ्यो- पाका पुस्ताले के भनेका होलान् ! आज जीवनको तिसौँ वसन्त पार गरिसक्दा मात्र बिस्तारै अर्थ बुझ्दैछु । मर्दाको मलामी कमाउने पवित्र संकल्प नराख्दा आज बंगलादेशको राजनीतिमा यस्तै-यस्तै दुर्घटना घटित भयो । राजनीति सत्ता र स्वार्थ बिल्कुल फरक विषय हुन् । मानिस आफैमा स्वार्थी जात हो । नागरिकहरूसँग सत्ता र राजनीतिले स्वार्थ साध्छ भने या नागरिकका जायज मागहरूलाई सत्ताले नजरअन्दाज गर्छ भने त्यहाँ विद्रोह भएका कैयौँ देशका उदाहरणबाट बुझ्न सकिन्छ ।
ब्यक्ति एउटा हदसम्म गौप्राणी बन्न सक्छ तर आफूमाथि अत्याचार बढेपछि भयङ्कर विष्फोट हुन्छ जुन विष्फोट दबाउन राज्यका सारा शक्ति, संयन्त्र लगाएपनि नसकिने उदाहरण हालै बंगलादेशमा भएको युवा विद्रोहले बताउँछ । शासकले नागरिकमाथि गरेकोको दमन र अत्याचारको सिमा नाघेपछि जस्तोसुकै सुरक्षा घेरामा रहेका शक्ति पनि पदच्युत हुँदै देशै छोडेर भाग्नुपर्दोरहेछ भन्ने बंगलादेशको यो ज्वलन्त उदाहरण अब नेपाली राजनीतिक वृत्तमा पनि बहस हुन जरुरी देखिन्छ ।
देशमा रहेको कर्मठ एवम् बौद्धिक युवाहरूलाई देशमै रहने वातावरण नबनाउनु, हरेक दिन विमानस्थलमा देश छोड्नेहरूको संख्या वृद्धि हुनुले पनि देशको ग्रीन लाइट मधुरो र रेड लाइट चहकिलो हुँदै गएको संकेत गर्दछ । रातो बत्ती खतराको संकेत हो, बेलैमा मनन गर्नु जरुरी छ ।
गोपाल योञ्जनको गीतले भनेको छ- ‘खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाश छोपिन्न, घोटिएर हातपाउ झरिजाओस् लौला तर कोहीअगाडि यी हात जोडिन्न..!’ यो गीतको भावको विपरीत बनेका छौँ आज हामी । नेपाली स्वाभिमान परदेशिएको छ, ठाडो शिर आज पराइसामु झुक्दैछ, आफ्नोपन हराउँदै गइरहेको छ । नेपाली मौलिकता नासिएको छ, देशप्रेम घट्दै गइरहेको छ, धमाधम नेपाली यूवाहरू नेपाली पासपोर्ट त्याग्दैछन्, पिआरको प्यासमा देश रित्तिँदै छ, ग्रीनकार्डको बहानामा देश खाली बन्दैछ ।
विगत पन्ध्र वर्षदेखि एकछत्र शासन गर्दै गर्ने बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पछिल्लो समय तानासाह बन्दै गएपछि युवाहरूमा उनप्रति आक्रोश बढ्यो । विभेदपूर्ण आरक्षण प्रथाको विरोधमा युवाहरू सडकमा उत्रिए । मेरिटको आधारमा रोजगारी पाउनुपर्ने मागप्रति बेवास्ता गर्दाको परिणाम आज बंगलादेशले यो अवस्था बेहोर्नुपरेको छ ।
युवाशक्तिको अघि जस्तोसुकै तानासाहले पनि झुक्नुपर्ने यथार्थ विश्वका अन्य मुलुकहरुबाट पनि बुझ्न सकिन्छ । नेतृत्वको असावधानी या अत्याचारी प्रवृत्तिले गर्दा एशियाली देशहरू जस्तै- म्यानमार, थाइल्याण्ड, पाकिस्तानले आजसम्म सैनिक शासन ब्यहोरिरहेको छ । जनसंख्याको हिसाबले नेपाल बंगलादेशभन्दा सानो छ, भौगोलिक अवस्था थोरै मात्र फरक छ । आर्थिक हिसाबले हेर्ने हो भने बंगलादेशले छिट्टै आर्थिक फट्को मारेको सबैले बुझेकै कुरा हो । नेपाल भने पटक-पटक सरकार बनाउँदै गिराउँदैमा समय बिताइरहेको छ ।
नेतृत्वको ब्यक्तिगत र पार्टीगत स्वार्थले देशको आर्थिक स्थिति थिलथिलो बनिसकेको छ । देशमा सबैकुरा भएर पनि केही नभएको भिखारीजस्तै पेट पाल्न संसार चहारिरहेका छौँ हामी । नेपालमा पनि हाल आएर आरक्षण प्रथाले युवाहरुमा वितृष्णा जगाउँदै लगिरहेको छ । मेरिटबेसको आधारमा युवाहरूले राज्यका संयन्त्रमा अवसर नपाउँदै जाने हो भने सक्षम युवाहरू राज्यका अंगहरूबाट संधै बाहिर नै परिरहनेछन् । यो कुरा देशका लागि गम्भीर त्रुटीको विषय हो । राज्यले यस्ता तमाम विषयहरूमा समयमै बहस चलाउनु जरुरी छ । उम्केको माछा दश धार्नी देख्नुभन्दा समयमा नेतृत्वहरूमा चेत खुले या समाधानतिर अघि बढे देश बंगलादेशको बाटो लाग्नबाट रोक्न सकिन्छ ।
जय देश ! जय मातृभूमि !!
प्रतिक्रिया