- आरपी उपाध्याय, नवलपरासी
हिन्दु धर्मावलम्बीहरूको आस्था र विश्वास केन्द्रको रुपमा रहेको चितवन माडीअन्तर्गत पर्ने बाल्मिकी आश्रम जान पैदल मार्गको एक भव्य कार्यक्रमको बीच उद्घाटन गरिएको छ ।
विनयी त्रिवेणी ६ मा निर्माण भएको लवकुश झोलुङ्गे पुलले पुर्णता पाएलगत्तै श्रावण २८ गते अन्तिम सोमबारको अवसर पारेर सयौं सङ्ख्याका भक्तजनहरूले पवित्र नारायणी नदीबाट उठाइएको जल गाजाबाजाका साथ हालै बनाइएको पैदल मार्ग हुँदै आश्रमस्थित हरिहर मुर्तिमा जलार्पण गरिएको थियो ।
सोमबार बिहान लवकुश झोलुङ्गे पुल पार गरी गण्डकी प्रदेशका सांसद लक्ष्मण पाण्डे, रोसनबहादुर गाहा, जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम बि.क., विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले सामुहिकरूपमा बाल्मिकी आश्रम पुग्न जनश्रमदानबाट निर्माण भएको पैदल बाटोको उद्घाटन गर्नुभएको थियो ।
चितवन राष्ट्रिय निकुञ्ज जङ्गलमा एक घण्टाको कठोर यात्रा पार गरी बाल्मिकी आश्रम पुगेको ठूलो सङ्ख्याका भक्तजनहरूले सीता माताको धर्ती प्रवेशस्थल, बाल्मिकी ऋषिको धुनी, श्रीराम पुत्रको शिक्षालय, घोडा बाँधेको किल्ला, सीता माताले प्रयोग गरेका सिलौटालगायत त्रेता युगका धार्मिक सामाग्रीहरूको अवलोकन गरेका थिए ।
यसैक्रममा बाल्मिकी आश्रममै ठूलो सङ्ख्याका भक्तजनहरूको उपस्थितिमा एक धार्मिक कोणसभा पनि सम्पन्न भएको छ । त्रिवेणी गजेन्द्र मोक्ष क्षेत्र विकास समितिका अध्यक्ष करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यको अध्यक्षतामा कोणसभा सम्पन्न भएको थियो ।
सो अवसरमा प्रतिनिधि सभाका पूर्वसदस्य तिलक महतले बाल्मिकी आश्रम पुग्न कठोर परिश्रमबाट बनेको बाटोलाई आगामी दिनमा थप प्रक्रिया पूरा गरि स्तरोन्नति गरिने र आश्रमको धार्मिक महिमा त्रेता युगसँग जोडिएको हुँदा यो आश्रमलाई पहिचानसहितको तीर्थस्थल बनाउन सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।
कोणसभामा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम बि.क., विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरी, नेपाली काङ्ग्रेस नवलपुरका उपसभापति बालकृष्ण घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रतिक्रिया