नेपाली राजदूतावास पेरिसद्वारा सेवाप्रवाहमा अंकुश : पोर्चुगलमा नेपालीको कन्तबिजोग !

नेपाली राजदूतावास पेरिसद्वारा सेवाप्रवाहमा अंकुश : पोर्चुगलमा नेपालीको कन्तबिजोग !


युरोपियन मुलुक पोर्चुगलमा विगत दुई सातायता महाबाणिज्य दूतावासाद्वारा उपलब्ध गराइँदै आएको सेवा अवरुद्ध भएको छ । फ्रान्सस्थित नेपाली राजदूतावासका कर्मचारीले मौखिक निर्देशन दिँदै महावाणिज्य दूतावासको सेवा बन्द गराएको हो ।

त्यसो त पोर्चुगलमा हजारौँ नेपालीहरू अस्थायी एवं स्थायी बसोबास अनुमतिको पखाइमा छन् । तर यसको बेवास्ता गर्दैै राजदूतावासले मनोमानी ढंगले महाबाणिज्य दूतावासको सेवा ठप्प पारको हो, जसका कारण कागजी पर्खाइमा बसेका नेपालीको कन्तविजोग भएको छ । नेपाल सरकार परराष्ट्र मन्त्रालयले सन् २०१४ मार्चमा पोर्चुगलको लिस्बनमा अबस्थित हुने गरी अवैतनिक नेपाली बाणिज्यदूतावासको स्थापना गरेको थियो । तत्कालिन समयमा थोरैमात्रामा नेपाली भएपनि आज पोर्चुगलमा नेपालीको संख्या धेरै छ । तर, विगत लामो समयदेखि नेपालीको सेवामा अनवरत रुपमा काम गर्दै आएको महाबाणिज्य दूतावासलाई फ्रान्सस्थित राजदूतावासले सेवा बन्द गर्न लगाउनु राम्रो नभएको जानकारहरू बताउँछन् ।

महाबाणिज्य दूत मकरबहादुर हमालको सेवा अवधि गत जुलाई १२ मा सकिएकोले कानुनी विषयलाई मध्यनजर गरी काममा रोक लगाएको राजदूतावास पेरिसले जनाएको छ । यता महाबाणिज्य दूतावासमा सम्पर्क गर्दा पेरिसले कुनैपनि पूर्व सूचना नदिइ सबै सेवा अवरुद्ध पारेको, अनलाइन भिषा प्रणाली बन्द गरिदिएको, लेटर प्याडदेखि स्वस्तिक छाप समेत प्रयोग नगर्न निर्देशन दिएको र महाबाणिज्य दूतावासबाट नियमित हुँदै आएको मन्जुरीनामा लगायतका कागजातलाई समेत प्रमाणिकरण नगरिदिएको जनाएको छ । ‘पेरिसले पूर्व सूचना नै नदिई सेवा बन्द गर्न निर्देशन दिएपछि नागरिकलाई उपलब्ध गराइँदै आएको सेवा प्रवाह बन्द भएको हो ।’

महाबाणिज्य दूतावासका एक कर्मचारी भन्छन्, ‘हामीलाई पूर्व सूचना नै नदिई पेरिसले मनोमानी ढंगले सेवा बन्द गर्दा स्थायी र अस्थायी अनुमतिपत्रका लागि पोर्चुगलमा रहनुभएका नेपालीहरूले सास्ती पाएका छन् ।’

यता, महाबाणिज्य दूत हमाल पनि राजदूतावास पेरिसले वर्षौंदेखि जनताको सेवा गर्दै आएको संस्थालाई एक्कासी निर्देशन दिएर बन्द गराउन नहुने तर्क गर्छन् । ‘मलाई नेपाल सरकारले दिएको कार्यअवधि त सकिएकै हो । यसबीचमा नेपाल सरकारले राजदूतावास स्थापना गर्नका लागि राजदूत नै नियुक्त गरेको अवस्थामा अर्को व्यवस्था नहुनञ्जेलसम्मका लागि महाबाणिज्य दूतावासलाई काम गर्न दिनुपर्ने थियो ।’ उनले भने, ‘अहिले महाबाणिज्य दूतावासको सेवा बन्द गराइएपछि हजारौं नेपालीहरू चपेटामा परेका छन्, यसको जिम्मेवारी कसले लिन्छ ?’

यसबीचमा महाबाणिज्य दूतावासले व्यापार, व्यवसाय, पर्यटन, अध्ययन तथा भ्रमण लगायत अन्य विभिन्न उद्देश्यबाट पोर्चुगलमा बसोबास गरीरहेका नेपाली नागरिकहरूको हक, हित संरक्षण गर्न तथा उनीहरूलाई आवश्यक कानुनी लगायतका विषयमा यथेष्ठ सहयोग पुऱ्याउँदै आएको थियो । यसका साथै नेपाल सरकारले उपलब्ध गराउने भिषा तथा राहदानी नविकरणलगायतका कन्सुलरसम्बन्धी सेवाहरू, पोर्चुगलमा निधन हुने नेपालीको शव व्यवस्थापन, बेपत्ता नेपालीहरूको खोजतलास, उद्धार तथा राहत उपलब्ध गराउनेजस्ता काम पनि गर्दै आएको महाबाणिज्य दूतावासले जनाएको छ । दूतावासले १० बर्ष ४ महिनाको अवधिमा नेपाल सरकारले उपलब्ध गराउने सम्पूर्ण सेवाहरूको बारेमा जानकारी गराउने सम्पर्कविन्दुको रुपमा काम गर्नेदेखि नेपाली कला संस्कृति प्रवद्र्धनका लागि नियमित एनआरएनए लगायतका संघ संस्थाहरूसँग कार्यक्रम गर्ने, नेपालबाट पोर्चुगलमा आउने विभिन्न विशिष्ट भ्रमणहरूलाई सहयोग, सहजिकरण र समन्वय गर्ने जस्ता कार्यहरू नियमितरूपमा गर्दै आएको थियो । तर यी सबै विषयलाई नजरअन्दाज गरी राजदूतावास पेरिसले गरेको निर्णयप्रति आम पोर्चुगलबासी रुष्ट छन् ।

त्यसो त कांग्रेसको बैशाखीमा प्रधानमन्त्री बनेका प्रचण्डले यसअघि कांग्रेसको कोटाबाट सनिल नेपाललाई पोर्चुगलको राजदूत सिफारिस गरेका थिए । तर बजेट अभाव र राजनैतिक खिचातानीका कारण पोर्चुगलमा उनी आउन भने सकेनन् । राजदूत नियुक्त भएको ६ महिनापछि कांग्रेसको बैशाखीमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले परराष्ट्रका कर्मचारी प्रकाशमणी पौडेललाई पोर्चुगलको राजदूतमा नियुक्त गरेका छन् । राजदूत आउनका लागि समय लाग्ने थाहा हुँदाहुँदै पेरिसले मनोमानी ढंगले महाबाणिज्य दूतावासबाट प्रवाह हुँदै आएको सेवा अवरुद्ध बनाएको यहाँस्थित संघ–संस्थाका प्रतिनिधिहरूको गुनासो छ ।

महाबाणिज्य दूत हमालले नविकरणका लागि नेपाल सरकार तथा नेपाली राजदूतावास पेरिससमक्ष विगत ६ महिनअघि देखि पटक पटक पत्राचार गरेपनि राजदूतावासले त्यसलाई नजरअन्दाज गरेको दूतावासका कार्यालय प्रमुख छविलाल बगालेले जानकारी दिए । उनका अनुसार कार्यालयबाट प्रवाह हुँदै आएको सेवा एक्कासी बन्द हुँदा नेपालीका दैनिक समस्याहरू समाधान गर्न, अड्डा अदालतमा बहस, पैरवी गर्न र विभिन्न सरकारी निकायसँग समन्वय गर्ने कार्य समेत स्थगित भएको छ ।

अस्थायी बसोबास अनुमति पत्रको पखाईमा बसेकी पोखराकी पुष्पा गुरुङले महाबाणिज्य दूतावास बन्द हुँदा प्रहरी चारित्रिक प्रमाणपत्रको अनुवाद तथा प्रमाणिकरणको काम रोकिएको बताइन् । उनले विदेश आउँदासमेत राज्यले विभिन्न बहानामा दुःख दिइरहेको भन्दै गुनासो गरिन् । उनीमात्रै होइन् पोर्चुगल आएका हजारौँ नेपालीहरूले राजदूतावास पेरिसको रवैयाले आफूहरूले दुःख पाएको बताएका छन् ।

photo: rss