नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग नौ महिनाअघि अष्ट्रेलियामा हराएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-७ का एक युवाको खोजविन गर्न आग्रह गरिएको छ । २७ वर्षीय सुभाष बोलखे सिड्नी शहरबाट १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन छन् ।
पाँचखालका नगरप्रमुख महेश खरेलले सुभाषका बुबासहित परिवारका सदस्य लिएर राजदूतसँग बुधबार (३० साउन) औपचारिक भेट गरी खोजविनका लागि आग्रह गरेका हुन् । सुभाषको पछिल्लो अवस्थाबारे जानकारी लिइ खोजतलास गर्न राजदूतसँग विशेष आग्रह गरिएको नगरप्रमुख खरेलले बताए । ‘राजदूतले तत्काल जनशक्ति परिचालन गरी खोजविन गर्न लगाउने आश्वासन दिनुभएको छ, हामी आशावादी भएका छौँ’, उनले भने ।
बुबा सुदर्शन बोलखेकानुसार अध्ययनका लागि अष्ट्रेलिया गएका कान्छा छोरा सुभाष सिड्नी शहरमा नौ महिनादेखि एक्लै बस्दै आएकामा १८ दिनदेखि सम्पर्कविहीन छन् । राजदूतसँगको भेटपछि केही आशा पलाएको उनले सुनाए ।
नगरप्रमुख खरेलले राजदूतलाई सुभाषको कागजातसहित निवेदन दिएका थिए । बोलखे परिवारले पनि सुभाषको खोजविनमा सहयोग गर्न सिड्नीस्थित नेपाली तथा त्यहाँका निकायसँग आग्रह गर्दै आएको छ ।
photo: rss
प्रतिक्रिया