समाजवादी मोर्चा अलपत्र रहिरहेकै बेला पुनः अर्को प्रगतिशील मोर्चा बनाउने कुरा आएको छ । पार्टीलाई नै समाजवादी विचारधारामा लाने नारा पनि दिन थालिएको छ । गठबन्धन बनाए उप-गठबन्धन र सह-गठबन्धन तत्काल बनाउने, मोर्चा बनाए त्यसलाई पनि विविधिकरण गर्ने क्रम जारी छ । समग्रमा भन्नुपर्दा नेपालको कम्युनिष्ट आन्दोलनलाई विकृत बनाउनमा अध्यक्ष दाहालको प्रमुख भूमिका रहेको देखिएको छ ।
✍ डा. केशव देवकोटा
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई हठात सरकारको नेतृत्व छाड्नु परेपछि बृहत् वामपन्थी एकताको सम्झना भएको थियो । तर, उहाँका ब्यवहारहरू एकाएक विभाजनकारी देखापरे । उहाँले आफ्नै पार्टीबाट त्यसको थालनी गर्नुभएको छ । जतिबेलासम्म उहाँ सरकारको नेतृत्वमा हुनुहुन्थ्यो त्यतिबेलासम्म उहाँलाई ‘सर्वश्व नै सत्ता र शक्ति हो, अरु केही पनि होइन’ भन्ने लागेझैँ देखिन्थ्यो । सधैं सबैभन्दा आकर्षक नारा दिने र ब्यवहार भने त्यसको ठीक विपरीत गर्ने परिपाटी भएकाहरूबारे जनमानसमा सधैं भ्रमहरू रहने गर्दछन् । मुखले जे भनिन्छ, त्यो काम नगर्ने र जे काम गरिन्छ, त्यो नभन्ने प्रवृत्ति साम्राज्यवादी नीति अन्तर्गतको कुरा हो । कुनै बेला ढाडमा टेकेर टाउकोमा हान्ने जुन भनिन्थ्यो, त्यो शैली मुख्यतः अमेरिकालगायतका पश्चिमा राष्ट्रहरूले प्रयोग गरिरहेका छन् ।
पूर्व माओवादी एक नेताले एक वर्षअघि नै ‘आगामी १५ वर्षभित्रमा नेपालमा कम्युनिष्ट पार्टी नै नरहने’ भविष्यवाणी सार्वजनिक गर्नुभएको थियो । अर्का एकजना कम्युनिष्ट नामधारी नेता त्यसैको वातावरण बनाउन लागिपरेको देखिएको छ । हाल नेपालका कम्युनिष्ट पार्टीहरूमा जसरी भाँडभैलो भैरहेको छ, त्यसले उपरोक्त योजना र प्रयासको रहस्य खोलेको छ । त्यसैका लागि कम्युनिष्ट नामका पार्टीलाई फुटाउने, जुटाउने र फेरि फुटाउनेलगायतका गतिविधिहरू भैरहेका हुन् ।
भएभरका आकर्षक शब्दहरूको प्रयोग गर्ने तर ब्यवहारमा त्यसको ठीक विपरीतका काम गर्ने प्रवृत्ति कम्युनिष्ट पार्टीहरूमा देखिएको छ । आफ्नो पार्टीलाई विधि र पद्धतिअनुसार चल्न नदिने तर अरुको पार्टीमा खेल्दै हिँड्ने प्रवृत्ति पनि बढिरहेको छ । आफ्नो पार्टीका क्रान्तिकारीहरूलाई सकेसम्म पार्टीबाट निकाल्ने, नभए निष्क्रिय बस्न बाध्य बनाउने, पुराना र अनुभवीलाई किनारा लगाउन युवा र नयाँपुस्तालाई प्रश्रय दिएको भन्ने, अनेक तिगडम गरेर आफू कहिल्यै नेतृत्व नछाड्ने तर अरुलाई कुनै पदमा बसिरहन नदिने प्रवृत्तिहरू पनि देखिएका छन् ।
पछिल्लो समयमा विभिन्न मोर्चा बनाएर अन्य पार्टीलाई पनि अल्मल्याउने र खल्बल्याउने गरेको देखिन्छ । यसअघि २०८० असारमा समाजवादी मोर्चा बनेको थियो । जहाँ कम्युनिष्ट र गैह्रकम्युनिष्ट चार वटा पार्टीहरू अल्झिएका थिए, जसबाट जसपा बाहिरिएको छ । यसबाट सो मोर्चाका रचनाकारलाई मोर्चा नै ‘पोलेर खाएको’ भन्नेसम्मको गम्भीर आरोप लगाएको छ । तर, त्यसको कसैले पनि प्रतिवाद गर्न/गराउन सकिरहेका छैनन् ।
उक्त मोर्चामा रहेको एकीकृत समाजवादी ‘माओवाद’ मान्नेहरूसँग एकता नगर्ने अडानमा छ । पार्टीको नाम ‘माओवादी केन्द्र’ भएपनि सो पार्टीले ०७५ जेठ ३ गते एमालेसँग पार्टी एकता गर्दा नै औपचारिकरूपमा माओवाद परित्याग गरेको घोषणा गरेको थियो । पछि एमालेलाई विभाजन गराएर फर्केपछि पनि माओवादलाई स्वीकार गरेको सुनिएको छैन । बडो सुनियोजित ढंगले एमालेमा प्रवेश गरेर त्यसलाई तोडफोड गरेको घटना पनि रोचक छ । फेरि पनि एमालेलाई फुटाउने प्रयास हुँदा त्यो सफल हुन सकेन । समाजवादी मोर्चा अलपत्र रहिरहेकै बेला अब पुनः अर्को प्रगतिशील मोर्चा बनाउने कुराहरू पनि आएका छन् । पार्टीलाई नै समाजवादी विचारधारामा लाने नारा पनि दिन थालिएको छ । गठबन्धन बनाए उप-गठबन्धन र सह-गठबन्धन तत्काल बनाउने, मोर्चा बनाए त्यसलाई पनि विविधिकरण गर्ने क्रम जारी छ ।
माओवादी केन्द्रको हालैको स्थायी समितिको बैठकमा अध्यक्ष दाहालले माधव नेपाल, नेत्रविक्रम चन्द, गंगानारायण श्रेष्ठ, महेन्द्र राय यादवलगायतसँग कुरा चलेको बताउँदै प्रगतिशिल मोर्चा बनाउन जोड दिनुपर्ने धारणा राख्नुभएको थियो । उक्त बैठकपछि अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै उपाध्यक्ष अग्नि सापकोटाले अब बृहत वामपन्थी एकताका लागि पनि तीव्र र घनिभूत पहलकदमी लिनुपर्ने कुरा उठाउनुभएको थियो । उहाँले देशभक्त, जनवादी र प्रगतिशिल मोर्चा बनाउन निकै जोड दिनुपर्ने तर्क पनि अगाडि सार्नुभएको देखिन्थ्यो । समाजवादी मोर्चामा रहेका दलहरूका बीचमा पार्टी एकताको कुरा चलिरहेको पनि उहाँको भनाइ थियो । गत साता शुक्रबारबाट शुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष दाहालले समसामयिक राजनीतिबारे ब्रिफिङ गर्दा वैचारिक, राजनीतिक, सांगठनिक परिस्थितिबारे पनि चर्चा गरेको देखिन्थ्यो, जुन यथार्थभन्दा हवाई कल्पनामा आधारित रहेको पाइएको छ ।
०७८ मा भएको माओवादी केन्द्रको आठौँ महाधिवेशन कसरी भएको थियो भन्ने सबैलाई थाहा छ । शुरुमा बिस्तारित बैठक भनेर बोलाइयो, त्यसपछि त्यसलाई महाधिवेशन बनाइएको थियो, जहाँ अध्यक्षको मात्र चयन गरियो । त्यसपछि अध्यक्षबाट आफ्नो अनुकूलको कार्यसमिति छान्ने काम भयो । करिव एकर्षपछि पदाधिकारी तोक्ने काम भयो । जसमा सिनियरलाई तल र जुनियरलाई माथि बनाएपछि सबै असन्तुष्ट भएका थिए । हाल आएर फेरि उक्त महाधिवेशनको विचार र विगतका समेत संश्लेषण हुनुपर्ने बताउन थालिएको छ ।
गत ०७९ मंसिर ४ को निर्वाचनका क्रममा अध्यक्ष दाहाल आफैले नेपाली काङ्ग्रेसको चारतारे झण्डामुनि रहेर काङ्ग्रेस र आफ्नो पार्टी माओवादी केन्द्र भनेका उस्तै पार्टी हुन् भनेका कुराहरू विभिन्न सञ्चारमाध्यममा अङ्कित रहेका छन् । समग्रमा भन्नुपर्दा नेपालको कम्युनिष्ट आन्दोलनलाई विकृत बनाउनमा अध्यक्ष दाहालको प्रमुख भूमिका रहेको देखिएको छ ।
पार्टीमा विशेष महाधिवेशनको माग भएपछि त्यसलाई टार्न विभिन्न प्रपञ्चहरू थालिएका छन् । पछिल्लो समयमा भएका अधिकांश कार्यक्रममा धेरैले दाहाललाई पद त्याग गरेर पार्टीको अस्तित्व बचाउन माग गरेपछि उहाँले बृहत वाम एकताका लागि पहल गर्ने प्रस्ताव अघिसारेर अलमलको अवस्था सिर्जना गर्ने प्रयास गरेको देखिएको छ । माओवादी केन्द्रको हालैको बैठकमा पार्टीमा शुद्धीकरण अभियान चलाउने र एकताबद्ध बनाउने कुरा पनि उठेका थिए । बैठकमा अध्यक्षले नै पार्टीलाई सक्षम र सवल बनाउन शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएको देखिएको थियो ।
संसदीय परिपाटीबाट पार्टी प्रदूषित भएको भन्दै अध्यक्ष दाहालले समेत शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएको भनिएको थियो । तर, क्रान्तिकारी पार्टीलाई संसदीय भाषामा पुऱ्याउने को हो र संसदीय ब्यवस्थामा पुऱ्याएर अशुद्ध र विकृत बनाउने को हो ? भन्ने स्पष्ट ब्याख्या र पहिचान भने भएको छैन । हालैको बैठकमा स्पष्ट नीति, योजना, नयाँ कार्यक्रमसहित जनतामा जानुपर्ने कुराहरू पनि उठाइए । जनपरिचालन, संगठन निर्माण र विस्तारलगायत एजेण्डामा केन्द्रित माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि केन्द्रीय समितिको बैठक बोलाउने भनिएको छ । देशको राजनीतिक परिस्थिति जटिल बन्दैगएको, लोकतन्त्र र जनताको जनजीविका खतरामा परिरहेको मूल्याङ्कन गरियो तर देशको राष्ट्रिय राजनीतिलाई जटिल बनाउने को हो र, लोकतन्त्र एवम् जनजीवीकालाई खतरामा पार्ने को हो ? भन्नेबारे भने खासै ब्याख्या गरिएको छैन ।
यसअघि गत माघको शुरुमा माओवादी केन्द्रकै निमन्त्रणामा आएका चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूले नेपालबाट चीनलाई एक्ल्याउने काम भइरहेको भनेका थिए । त्यो चीनलाई एक्ल्याउने कामममा कसको कस्तो भूमिका रह्यो भन्ने ब्याख्या र विश्लेषण हुन बाँकी नै छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल देशको कार्यकारी प्रमुख प्रधानमन्त्री भएको अवस्थामा चिनियाँहरूलाई त्यस्तो अनुभव भएको देखिएको थियो । नेपालमा बिआरआईलाई टार्ने र एमसीसी भित्र्याउन प्रमुख पहल गर्नेहरूको चर्चा पनि कायमै छ । माओवादी केन्द्रले ०७८ पछि औपचारिकरूपमा नै भारतीय जनता पार्टीसँग पार्टीगत तहमा सहकार्य गर्ने लिखित सहमति गरेको छ । तर, भारतीय कम्युनिष्ट पार्टीहरूलाई वास्ता गरेन । माओवादी केन्द्रका अध्यक्ष नेतृत्वको तत्कालीन सरकारले रुस-युक्रेन युद्धमा युक्रेनको समर्थन गरेर नेटोको पक्षमा रहेको देखाएको थियो भने इजरायल-हमास युद्धमा इजरायलको समर्थन गरेर पनि नेटोकै पक्षमा रहेको पुनः पुष्टि गर्ने काम गरेको थियो ।
तत्कालीन नेकपा (चौम) कालबाटै नेपालका कम्युनिष्ट पार्टीहरूले प्यालेष्टाइनहरूको समर्थन गर्दै आएकोमा माओवादी केन्द्रका अध्यक्ष दाहालको नेतृत्वमा रहेको तत्कालीन सरकारले उनीहरूलाई ‘आतङ्ककारी’ घोषणा गरेको थियो । त्यसैगरी गत ०७९ मंसिर ४ को निर्वाचनका क्रममा अध्यक्ष दाहाल आफैले नेपाली काङ्ग्रेसको चारतारे झण्डामुनि रहेर काङ्ग्रेस र आफ्नो पार्टी माओवादी केन्द्र भनेका उस्तै पार्टी हुन् भनेका कुराहरू विभिन्न सञ्चारमाध्यममा अङ्कित रहेका छन् । समग्रमा भन्नुपर्दा नेपालको कम्युनिष्ट आन्दोलनलाई विकृत बनाउनमा अध्यक्ष दाहालको प्रमुख भूमिका रहेको देखिएको छ । हाल नेपालमा को सही कम्युनिष्ट ? भन्ने छुट्याउन नै कठिन पर्ने अवस्था सिर्जना भएको छ । दाहालको आकर्षण सकेसम्म नेपाली काङ्ग्रेस र नभए एमाले भन्नेमा केन्द्रित रहने गरेको देखिन्छ । यस्तो अवस्थामा बृहत् कम्युनिष्ट एकता भनेको के हो ? त्यो कसरी सम्भव छ भन्ने धेरैका लागि बुझ्न नसकिने विषय भएको छ ।
झण्डै ३७ बर्षदेखि पार्टीको नेतृत्वमा रहनुभएका दाहालका सम्पूर्ण गतिविधि नेपालको कम्युनिष्ट आन्दोलन र राजनीतिलाई छिन्नभिन्न बनाउनमा केन्द्रित रहेको स्पष्ट छ । माओवादी केन्द्रमा अझै पनि कतिपय क्रान्तिकारी नेता तथा कार्यकर्ताहरू रहेका छन् । उनीहरूले अब आफ्नो नयाँ बाटो तय गर्नुको विकल्प छैन । अध्यक्ष दाहालका लागि यतिबेला पार्टी र अध्यक्ष पदमध्ये एउटा छान्नुपर्ने अवस्था सिर्जना भएको छ । सबैले हेर्नु छ- उहाँले के छान्नुहुन्छ !
प्रतिक्रिया