‘ताइफु ७’का कारण जापानभरको जनजीवन प्रभावित

‘ताइफु ७’का कारण जापानभरको जनजीवन प्रभावित


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

‘ताइफु ७’ नाम दिइएको आँधीका कारण जापानभरको जनजीवन बिहानैदेखि प्रभावित भएको छ।

जापानका संचारमाध्यमहरुले प्रकाशन गरेको समाचारअनुसार ताइफुको प्रभावका कारण राजधानी टोकियोदेखि किनकि क्षेत्रको ओसाकालगायत र तोउहोकु क्षेत्रमा पर्ने हिरोसिमा क्षेत्रमा चल्ने तीव्र गतिका ट्रेनहरु बिहानैदेखि बन्द भएका छन् ।

नागोयादेखि ओसाका चल्ने नोजोमी लाइन भने १ घण्टामा २ ओटा मात्रै चलिरहेको जापानको सरकारी संचार संस्था एनएचकेले समाचारमा उल्लेख गरेको छ।

त्यसैगरी, ताइफुकै कारण टोकियोको हानेदा र चिबाको नारिता विमानस्थलबाट छुट्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरु समेत प्रभावित भएका छन् । जापानी समयअनुसार बिहान १० बजे सम्मको अपडेटअनुसार हानेदा र नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने र अवतरण गर्ने ३१९ उडानहरु रद्द गरिएको छ ।

त्यस्तैगरी, जापानका विभिन्न क्षेत्र जोड्ने हाइवेहरु समेत बन्द भएको र कतिपय हाइवे सडकहरु बन्द हुने उच्च सम्भावना रहेको समाचारमा उल्लेख गरिएको छ। समाचारमा जनाइएअनुसार कान्तोउ क्षेत्रका हाइवे सडकहरु अबरुद्द हुने उच्च सम्भावना रहेको छ।

अधिकारीहरुले ताइफुको सबैभन्दा धेरै प्रभाव चिबा प्रिफेक्चरमा पर्ने बताएका छन् । चिबाक्षेत्रमा चर्को हावा हुरी चल्नुका साथै भारी वर्षासमेत हुने भन्दै अनावश्यक घर बाहिर ननिस्कन नागरिकलार्इ आग्रह गरेका छन् ।

चिबाका केही क्षेत्रमा विद्युत आपूर्ति समेत बन्द भएको पनि समाचारमा उल्लेख गरिएको छ ।