म्याचम्याटिक्स !

म्याचम्याटिक्स !


(बक्रोक्ति)

एकमा एक जोडे दुई, अनि दुईलाई दुईले गुणा गरे चार, यही हो म्याथम्याटिक्स । तर, म्याचम्याटिक्समा यस्तो हुँदैन । म्याचम्याटिक्समा एकमा एक जोड्दा कहिले दुई हुन्छ, कहिले चार, अनि कहिलेकाहीँ त दर्जनौँ पनि पुग्छ । गाह्रो छ म्याचम्याटिक्स बुझ्न । पण्डित बाजेले ‘ॐ गणेशाय नमः’बाट शुरु गरेको म्याचम्याटिक्समा प्रयोग हुने नम्बरहरू गजब गजबका हुन्छन् । अनि त्यो नम्बरहरूको गुजुल्टो पनि सम्हालिनसक्नुको ठुलो हुन्छ । तपाईं-हामी सबै त्यही गुजुल्टोभित्र अल्झिएका नम्बरहरू हौँ, वा भनौँ म्याचम्याटिक्सका परिणामहरू हौँ । परिणाम, समस्यापछि आउने शब्द, यसर्थमा भन्नुपर्दा म्याचम्याटिक्स एउटा समस्या पनि हो । कतिपय म्याचम्याटिक्सलाई समस्या भनेर व्याख्या गरेको रुचाउँदैनन् भने म्याचम्याटिक्सलाई समस्याबाहेक अरु केही नदेख्नेहरूको सङ्ख्या पनि ठुलै छ । यो नितान्त मेरो ‘म्याचम्याटिक्स बुझाइ’ हो, तपाईंको बुझाइसँग फरक परे, भिन्न म्याचम्याटिक्सको भिन्न परिणाम भनेर चित्त बुझाइदिनु होला ।

आखिर म्याचम्याटिक्स के हो ?

दुईजनाको बीचमा कुरा मिल्यो अनि दुईबाट तीन हुँदै चार, पाँच, छ… गरेर बढ्दै जानु म्याचम्याटिक्स हो । म्याथम्याटिक्समा जस्तो यसमा निश्चित परिणाम हुँदैन । जे पनि हुन सक्छ, जस्तो पनि हुन सक्छ । मानव सभ्यतासँगै शुरु भएको विश्वास गर्ने दिग्गजहरू म्याचम्याटिक्स शुरु भएको ठाउँ भन्न भने हिच्किचाउँछन् । यी दिग्गजहरू म्याचम्याटिक्सलाई बन्द कोठाको उपलब्धि पनि हो भन्छन्, अनि कोही आधुनिकताको अर्को रूप भन्छन् । म्याच नहुँदा म्याचम्याटिक्स नहुने जिकिर गर्ने यस्ता दिग्गजहरू म्याच जहाँ भयो त्यहीँ म्याचम्याटिक्स हुने भएकोले म्याचम्याटिक्सको निश्चित ठाउँ नहुने कुरा गर्छन् । यस्तो गन्जागोल कुरा गर्दा म्याचम्याटिक्सको परिभाषा नै अप्ठ्यारो बनिदिन पुग्छ । माथिका वाक्यांशहरू पनि नमिलेका लाग्नसक्छ पाठकलाई, अनि फेरि दोष म्याचम्याटिक्सले पाउँछ । फरक म्याचम्याटिक्सको फरक परिणाम अनि फरक सोच, फरक बुझाइ !

म्याचम्याटिक्स हुन्छ कसरी ?

म्याचम्याटिक्स हुन म्याच हुनु जरुरी छ । कोही पहिलो हेराइमा नै म्याच भयो भनिदिन्छन् भने कसैलाई वर्षौंसम्म सँगै बस्दा पनि म्याच नभएको झैँ लाग्छ । कोही थोरै मात्र म्याच भएको आफ्नै परिभाषा दिन थाल्छन् त कोहि ‘पर्फेक्ट म्याच’ नभएसम्म म्याचम्याटिक्स शुरु गर्न नमिल्ने तर्क दिन्छन् । कसैको म्याच आफूजस्तै हुन्छ, कसैको म्याच बुझ्न साधारण दिमागले सक्दै सक्दैन । टाउकोभित्रको गुदीलाई छड्काउनु ब्यर्थ हो । कसैको म्याचलाई चौतर्फी स्वीकृति हुन्छ भने कसैको म्याचले संसारभरि नै विरोध खेप्नुपर्छ । विरोधैविरोधको बाबजुद यस्ता म्याचहरूको म्याचम्याटिक्स भने गजबको रोचक हुने गरेको यस क्षेत्रका पारखीहरूको भनाइ छ ।

तिनै पारखीहरू स्वाभाविक म्याचम्याटिक्स अनि अस्वाभाविक म्याचम्याटिक्सको कुरा पनि निकै घतलाग्दो तरिकाले व्याख्या गर्छन् । स्वाभाविक म्याचम्याटिक्स सरल हुन्छ, सिधा हुन्छ अनि बुझ्न सजिलो तर अस्वाभाविक म्याचम्याटिक्समा द्वन्द्व हुन्छ, विवाद हुन्छ र बुझ्न पनि असजिलो । कतिपय स्वाभाविक म्याचम्याटिक्सहरू समय बित्दै जाँदा अस्वाभाविक म्याचम्याटिक्समा परिणत हुँदारहेछन् भने कतिपय म्याचम्याटिक्समा पूर्णविराम लाग्दोरहेछ । पूर्णविरामपश्चात हिजोसम्मका म्याचहरू मिसम्याचमा बदलिने रहेछन् । अनि तिनै मिसम्याचहरू अर्को म्याचको खोजी गर्दै पुनः म्याचम्याटिक्स शुरु गर्ने रहेछन् ।

यसरी दोश्रो पटक म्याचम्याटिक्समा सम्मिलित हुनेहरू भ्याग्यमानी कहलाउँदारहेछन् । पारखीहरूका भनाइअनुसार म्याचम्याटिक्स दोश्रोपटक मात्र नभएर पटक-पटक दोहोरिँदोरहेछ । हरेक पटकको म्याचम्याटिक्समा नयाँ अनुभव सँगालेकाहरू अघिल्लो पटकको सङ्क्रमणका कारण नयाँ म्याचम्याटिक्स शुरु गर्न बाध्य भएको शिकायत गर्छन् ।

बुद्धिजीवीहरू संसारमा आएको परिवर्तनलाई म्याचम्याटिक्ससँग लगेर जोड्छन् । उनीहरू भन्छन्, कोरोना जस्तो भयानक बिमारीदेखि ग्लोबल वर्मिङसम्म सबै म्याचम्याटिक्सकै देन हुन् । यस अर्थमा भन्नुपर्दा सिंगो संसारको म्याथम्याटिक्समा म्याचम्याटिक्सले ठुलो भूमिका खेलेको छ ।

म्याचम्याटिक्समा म्याच फिक्सिङले पार्ने असरका बारेमा विश्लेषण गर्ने बुद्धिजीवीहरू पनि उत्तिकै भेटिन्छन् । रमाइलो कुरा त यी स्वयम् म्याच फिक्सिङका परिणामहरू हुन् भन्ने कुरामा दुईमत हुँदैन ।

म्याचम्याटिक्सको लागि आवश्यक म्याच कस्तो हुनु पर्छ ?

प्रश्न यो जटिल छ । यही जटिलताले गर्दा होला म्याच फिक्सिङ आजभोलि पनि त्यत्तिकै बलियो छ, सक्रिय छ अनि सफल छ । म्याच फिक्सिङ गर्न आतुर हस्तीहरू आफ्नै वरिपरि पाइने यसक्षेत्रमा लागेकाहरूको अनुभव छ । पारम्परिकदेखि लिएर अहिलेको आधुनिक प्रविधिहरू म्याच फिक्सिङको लागि प्रयोग हुँदै आइरहेको वर्णन पनि उनीहरू नै गर्ने गर्छन् ।

म्याच फिक्सिङ गर्ने कसरी ?

म्याच फिक्सिङमा लागेका एजेन्टहरू एक म्याचको अर्को म्याच जुटाउन खप्पिस हुन्छन् । केवल खाँचो हुन्छ दुई पक्षको लेनदेनको । अचम्म पर्नु पर्दैन, लेनदेन बिना म्याचम्याटिक्स सम्भव छैन अहिलेको संसारमा । लेनदेन थरि-थरिका अनि थरि-थरिका म्याचहरूको म्याचम्याटिक्स, यही हो म्याचम्याटिक्सको महत्वपूर्ण पक्ष । लेनदेन नमिल्दा मिलेका म्याचहरू पनि मिसम्याचमा परिणत भइदिन पुग्दा झेल्नुपर्ने अप्ठ्याराहरूले कहिलेकहीँ यस क्षेत्रका एजेन्टहरू पिरोलिने गरेको उदाहरणहरू पनि पाइन्छन् समाजमा ।

म्याचम्याटिक्स बिग्रँदा नियमकानुनका कुरा गरेर झिँगेदाउ छोप्न खोज्नेहरूको रजाइँ देखिन्छ मौका मिलेको खण्डमा । समाजमा यस्ता झिँगेदाउ खेल्नेहरूको पनि कमी छैन जसलाई ‘म्याचम्याटिक्स’ भन्दा ‘मिसम्याचम्याटिक्स’ बढी मनपर्छ । यसैमा उनीहरूको चुलो बल्छ अनि आफ्नो म्याचम्याटिक्स कायम रहन्छ । यसरी हेर्दा म्याचम्याटिक्सले सबै क्षेत्रमा दिएको रोजगारीको प्रशंसा नगरी बस्न सकिँदैन । यस्तै रोजगारीको प्रतिफल हो आजको विश्व, जुन म्याचम्याटिक्सप्रति दिन-प्रतिदिन उदार बन्दैछ । यसैसाथ विकशित हुँदैछ म्याचम्याटिक्स । दिन दुना रात चौगुना ! हरेक दिन पत्ता लाग्ने अनि प्रयोग गरिने म्याचम्याटिक्सका फर्मुलाहरूमा अल्झिरहेको तपाईं-हाम्रो समाजलाई अझै नौला रमाइला अनि दिर्घकालिन फर्मुलाहरूको कमी भएको यस क्षेत्रमा लागेकाहरूको भनाइ छ ।

त्यसैले आउनुहोस् हामी सबै मिलेर म्याचम्याटिक्सको नयाँ फर्मुलाहरू खोजी गरौँ । म्याचम्याटिक्सको विकाश गरौँ ।