यसरी मनाइन्थ्यो तागो बाँध्ने/रक्षाबन्धन !

यसरी मनाइन्थ्यो तागो बाँध्ने/रक्षाबन्धन !


‘ए… यिन्का त पहेँलो रङको मात्रै ! फेरि कति थोरै धागो ! …’ छिमेकी साथीहरू गुच्चा खेल्न हाम्रो आँगनमा जम्मा हुँदा मेरो नारीमा पणितबाले बाँधी दिएको तागोलाई हेरेर साथीहरूले प्रतिक्रिया दिँदा हाम्रा पनि धेरै भिनाजु, पुसाजुहरू नभएकोमा मन खिन्न हुन्थ्यो । हुनपनि हाम्रा बा, जिबा मात्रै हैन बुढाजिबा पनि एक्लै-एक्लै हुनुहुन्थ्यो रे ! यतिखेर हामी तीन भाइ, दुई बैनी हुँदा परिवारमा सारै रमाइलो भएको महसुस हुन्छ ।

वास्तवमा जनैपूर्णिमा हाम्रो अत्यधिक महत्व राख्ने धार्मिक पर्व हो । यो चाड प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा तिथिमा मनाइने गरिन्छ । यो पर्व विशेष गरी हिन्दू धर्मावलम्बीहरूको लागि महत्वपूर्ण मानिन्छ । जनैपूर्णिमा पर्वको प्रमुख उद्देश्य संस्कृतिको रक्षासँगै समाजमा भाइचाराको सन्देश फैलाउनु हो । यो पर्वको मुख्य विशेषता भनेको ब्राह्मण, क्षत्री र वैश्य जातिका पुरुषहरूले नयाँ जनै लगाउने परम्परा हो । हामीकहाँ यस पर्वको समृद्ध परम्परा छ । जनैपूर्णिमाका अवसरमा तागाधारी व्यक्तिहरूले स्नान गरेर मन्तरेका नयाँ जनै धारण गर्छन् । जनैलाई यज्ञोपवीत पनि भनिन्छ, जसले धार्मिक शुद्धता र आत्मपवित्रता प्रकट गर्दछ । धार्मिक आस्थाका कारण यो दिन विशेष रूपमा हर्षोल्लासपूर्वक मनाइन्छ ।

दुई/चारदिन पहिल्यैदेखि बुवाले कत्तुवामा जनैको धागो बनाउँदै हातमा साङ्ली पारेर जनै सङ्लनु हुन्थ्यो । जनैपूर्णिमाका दिन सबै साथीहरू मिलेर बिहानै नुहाएर जप गरी बुवाहरूले तयार पारेका जनैका झुप्पा लिएर श्रीवारीथरतिर जान्थ्यौँ साथमा एउटा टपरीमा चामल र एकरुपिया दाम अनि फुलपाती टिपेर दिनुहुन्थ्यो, आमाले । अघिल्लै दिन बुवाले जनै मन्तर्ने ठाउँबारेमा सोधनी गरी मलाई जानकारी गराउनु हुन्थ्यो ।’वस्यारीका साउकोटा पणित ठूलार रिखिरामकाँ आएर जनै मन्तर्ने कुरा र’च, भोलि बिहानै अरू साथीहरूसँग मिलेर जानु है !’ झण्डै १० बज्दथ्यो, जनै मन्तरेर सक्दा । जनै साटिएलान् भनेर आ-आफ्ना झुप्पाहरूमा केही चिनो राख्दथ्यौँ । मन्तर्ने पण्डितलाई एकुन्जोर जनै छाडिन्थ्यो । घर आएपछि सबैका घरमा त ज्वाइँ, भाञ्जा, भिनाजु, पुसाजुहरू आएका हुनाले सबैबाट तागो बाँध्दा हातभरि विभिन्न रङका रक्षाबन्धन हुन्थे । हाम्रोमा भने माथि भने झैँ उनै जनै मन्तर्ने पण्डितबा आएर नयाँ जनै दिनुहुन्थ्यो र हातमा तागो बाँधिदिनु हुन्थ्यो । आमा र बैनीहरूलाई देब्रेहातमा बाँधिदिएको बारेमा पण्डितबासँग सोधनी गर्दा ’आइमाइमान्छेले देब्रेहातमा बाँध्नु पर्दछ, रक्षाबन्धन’ भन्नुहुन्थ्यो ।

जनैपूर्णिमा एक धार्मिक र सांस्कृतिक पर्व हो; जसले धर्म, परम्परा र सामाजिक भाइचाराको महत्वपूर्ण सन्देश प्रवाह गर्दछ । यसले हाम्रो समाजमा एक महत्वपूर्ण स्थान राख्दछ र यस पर्वको विविध पहलुहरूको सम्मान गर्नु हाम्रो समाजको धर्मिक र सांस्कृतिक समृद्धिको द्योतक हो ।

वास्तवमा जनैमा नौवटा पयोहरूको एक डोरो हुन्छ भने एउटा जनैमा तीनवटा डोरा हुन्छन् । ब्राह्मणहरूले दुई जोर अर्थात् छ डोराको जनै लगाउँछन् भने अन्य तागाधारीहरूले तीन डोराको जनै लगाउने प्रचलन छ । जनैका प्रत्येक डोरामा हुने नौवटा पयामा निम्नानुसारको देवहरू रहने व्यहोरा शास्त्रमा उल्लेख भएको पाइन्छ ।

ओङ्कारः प्रथमे तन्तौ, द्वितीयेग्निस्तथैवच ।
तृतीये नागदैवत्यं चतुर्थे सोमदेवता । ।
पञ्चमे पितृदैवत्यं, षष्ठे चैव प्रजापतिः ।
सप्तमे मरूतश्चैव अष्टमे सूर्य एव च । ।
सर्वे देवास्तु नवमे इत्येतास्तन्तु देवताः । ।

पहिलो पयोमा ॐकार, दोस्रोमा अग्नि, तेस्रोमा नागदेव, चौथोमा चन्द्रमाकी देवी रहेकिछन् । पाँचौँमा पितृ देवता, छैठौँमा प्रजापति, सातौँमा मारुता, आठौँमा सूर्य, नवौँमा सबै देवहरू रहेकाछन् । यदि एउटा मात्र पयो छिन्यो भने वा आशौच, सूतक बार्नुपर्यो भने वा कुनै धार्मिकादि अनुष्ठानमा सरिक हुनुपर्यो भने वा जनै लगाएको तीन महिना पूरा भयो भने नयाँ जनै लगाउनु पर्ने मान्यता रहेकोछ । पुरानो जनै त्याग गर्ने सम्बन्धमा यस्तो उल्लेख भएको पाइन्छ –

सूतके मृतके चैव, गते मासचतुष्टये ।
नवयज्ञोपवीतानि, धृत्वा जीर्णनि संत्यजेत् । ।

पुरानो जनै त्यागी नयाँ जनै लगाउँदा निम्नानुसारको मन्त्र जपेर लगाउनु राम्रो मानिन्छ –

यज्ञोपवितं, परमं पवित्रं; प्रजापतेर्यत्सहजं पुरस्तात ।
आयुष्यमग्य्रं, प्रतिमुञ्च शुभ्रं; यज्ञोपवीतं बलमस्तु तेज । ।

शिरबाट नयाँ जनै धारण गरी बायाँ काँधमा जनैको शिखा राखी दायाँ हातमुनि झुण्ड्याएपछि पुरानो जनैलाई मिलाएर खुट्टातिरबाट त्याग गर्नुपर्दछ र जनै निकाल्दा निम्न मन्त्र जपिन्छ –

एतावद्दिनपर्यन्तं, ब्रहत्वं धारितं मया ।
जीर्णत्वात्तत्परित्यागो, गच्छ सूत्र यथासुखम् । ।

जनैपूर्णिमासँग सम्बन्धित अर्को प्रमुख परम्परा भनेको रक्षाबन्धन हो, जुन हाम्रो समाजमा व्यापक रूपमा मनाइन्छ । भोलिपल्ट जनैपूर्णिमा हो भन्दा आज्जसो साँझ आमाले अनदीका चामलको लट्टे, फलामे कराहीमा पानी नहाली पकाएर घोटेको घिरौँलाको तरकारी, बोडीका बिरम्ला र आलुको अचार, पकाएर बाक्लो-बाक्लो बनाएको दुधका परिकार तयार पारेकी हुनुहुन्थ्यो । आज किन नि आमा यस्तो मीठो खाना पकाउनु भएको ? भन्दा ’भोलि तिमी लोउनेमुन्छेहरूको तिज हो के ! आज दरखाने ! त्यसैले तेरा बाउछोरालाई दर पकाइदिएकी…’ भन्नु हुन्थ्यो । घरैको बुटामा पाकेका बम्मै आँप पनि बोक्रा फालेर खान मिल्ने आकारका टुक्रा-टुक्रा बनाउनु हुन्थ्यो । खासमा भोलि जनै फेरुञ्जेल ढिला भएपनि भोक नलागोस् भनेर यसो गरिएको होला भन्ने ठान्दछु, अचेल । साच्चै भन्दा यो ’दर’ भनेको मीठो परिकारको भोजन रहेछ क्यारे ! महिलाहरूको तिजको दर पनि सारै मीठो हुन्छ । उल्लिखित विधिबाट जनै फेरेपछि पण्डित वा आफ्ना पूज्यनीय नातेदारका हातबाट तागो बाँध्ने गरिन्छ । तागो बाँध्दा वा रक्षाबन्धन बाँध्दा निम्नानुसारको मन्त्रोच्चारण गर्नुपर्दछ –

येन बद्धो बलिराजा, दानवेन्द्रो महाबलः ।
तेन त्वां प्रतिबध्नामी, रक्षेमा चलमा चल । ।

अर्थात्, भगवान् वामन अवताररूपी विष्णुले दानवराज बलिलाई उनको सुरक्षाको लागि जुन बन्धनले बाँधेका थिए, त्यही बन्धन तपाईँको हातमा पनि बाँधिदिएको छु, तपाईँको रक्षा होस् ।

अचेल त रक्षाबन्धनको दिन दिदी-बहिनीहरू आफ्नो दाजु-भाइहरूलाई रक्षासुत्रका नाममा ’राखी’ बाँधेर सुरक्षा र दीर्घायुको कामना गर्छन् । यो परम्परा आफैँमा दाजु-बहिनी, दिदी-भाइबीचको ममता र स्नेहको प्रतीकका रूपमा परिभाषा गर्न त सकिन्छ नै र, भाइबहिनीको सम्बन्धलाई बलियो पनि बनाउँछ । तर, हाम्रो वैद्धिक परम्परा अनुसारका विधिहरूको अवलम्बन भने यो होइन । आजकल त्यो संस्कारी धरोहरहरू त इतिहासको कठघरामा थन्किन बाध्य भएका छन् । यही मानेमा पनि वर्तमानको परिपाटी उपर धावा नबोली पुरानो प्रचलनको स्मरणका हेतु यो प्रयास गरिएको हो । कतै कसैलाई आँच पुगेमा वा उल्लेखिएको विषयमा कतै त्रुर्टि चुहिएको भए यसै आलेख मार्फत् यथोचित याचनासहित सबैमा जनैपूर्णिमा/रक्षाबन्धनको हार्दिक शुभकामना !!!

…सके सपारौँ, नसके नबिगारौँ…