लाखेजात्रा, बाल्यकाल र बुझाइ !

लाखेजात्रा, बाल्यकाल र बुझाइ !


बाल्यकालमा लाखेपूर्णिमा भनेर चिनिएको पूर्णिमाका अरुपनि थुप्रै पहिचानहरू रहेछन्, जो हिन्दु संस्कृति र परम्परासँग जोडिएका छन् । एकदिनको बाटो हिँडेर हरियो मकै, सितलु मिठाइ, मिस्री र डौठे निगुरो लिएर मामा, सानिमाका साथमा मावली गाउँभरिका क्षामा, मामाहरू लाखेजात्राको अवसरमा घर आइपुग्दा बेग्लै रमाइलो हुन्थ्यो ।

पाहुना आउँदा धान (चामल)को भात दिने चलन भएपनि हाम्रोमा कहिले हुन्थ्यो कहिले हुँदैनथ्यो । त्यसैले जे छ त्यै दिन्थ्यौँ र खान्थ्यौं पनि । मङ्सिरको धानले असारको मकै भेट्न धौ-धौ पर्थ्यो । त्यसैले भदौरे भातमा रमाउनुको विकल्प हुँदैनथ्यो । असारको अन्त्यतिर भाँचेका मकै राम्ररी सुक्न पनि नपाउँदै जाँतोमा पिसेर बनाइएको मकैको च्याँख्लाको भात, स्कूसको मुन्टा र मोही वा सोलरसँग भात खाँदाको मज्जा बेग्लै थियो । उबेला मकैको भात खान नपरे हुन्थ्यो भन्ने लागेपनि बाध्यता थियो । त्यसमा मामा, सानिमासँगै जात्रा हेर्न जान पाएपछि त्यसै फुरुक्क !

वर्षदिनभरि काम गरेर जात्राका लागि खास समय छुट्याएर, जात्राखर्चको पर्याप्त जोहो गरेर आएका उहाँहरू प्रायः लाखेपूर्णिमादेखि अष्टमीका दिनसम्म बस्नुहुन्थ्यो । अष्टमीका दिन राती १२ बजे महेन्द्रचोकनजिकै धाराको छेउमा लाखे सेलाउँछन् भनेको सुनिन्थ्यो । लाखे कसरी सेलाउँथे त्यो भने कहिल्यै हेर्न पाइएन । तर, हाम्रा घरमा आउनुभएका पाहुना भने अष्टमीका दिन बिहान हिँडेपछि राति उतै बसेर रातको उक्त दृष्य हेर्ने भन्दै ताप्लेजुङ बजारआसपासमा थातथलोबाट आएर बसेका आफन्त छरछिमेकी, गाउँले, नाता, कुटुम्ब, गाउँघरका चेलीहरूको घर खोजेर बस्ने गर्थे । झट्ट सुन्दा त्यसरी बस्नुलाई अहिलेको पुस्ताले त्यति राम्रो नमान्न सक्लान्, नपत्याउन सक्लान् ! तर, यथार्थ यही हो । वर्षदिनसम्म माइत जान नपाएका चेलीहरूलाई माइतीघर-गाउँका भाइबहिनी आउँदा माइत नै पुगेझैँ लागेर खुशी हुने, अर्को वर्षमा एकचोटी लाग्ने जात्रामा जिल्लाभरबाट आउने जनसंख्याको चाप थेग्न सक्ने क्षमता बजारको पनि बनिसकेको थिएन शायद ।

त्यति महत्वको लाखेजात्रा हेर्न जानका लागि हामी पनि तीन दिनदेखि गाई-बाख्रालाई घाँसको जोहो गर्थ्यौं । पूर्णिमादेखि कृष्णजन्माष्टमीको मध्यरातलाई मानेपनि मुख्यगरी शुरुका तीनदिन र जन्माष्टमी आकर्षक थिए । पूर्णिमाका दिन लाखेजात्रा, भोलिपल्ट गाईजात्रा, पर्सिपल्ट रोपाइँजात्रा र जन्माष्टमी । यी चारै दिनका आ-आफ्नै विशेषता र महत्व छन् ।

नेवार समुदायको मुख्य पर्वका रुपमा रहेको लाखेजात्रा ताप्लेजुङमा कसको हो भन्ने कुरा चिनिदैनथ्यो । लिम्बू समुदायका युवायुवती वा तरुण-तन्नेरीहरू धान नाच्न थाल्थे । लयमा भनिएको पालम (धाननाच) को रौनक निकै रमाइलो हुन्थ्यो । छिनमा पानी पर्ने, छिनमा घाम लाग्ने मौसमी परिवेश पनि त्यत्तिकै लजालु, नशालु र मायालु झैं लाग्यो । किनकि एकैछिनमा बादलको घुम्टो ओढ्दा छिनभरमै सिमसिम पानी अनि घामपानी र मधुरा घाम । प्रकृतिको माधुर्यतामा भेट भएका सोल्टी-सोल्टीनीहरूले गाएको पालम । लिम्बूनी आमा, दिदीहरूले लगाएको शिरमा शिरबन्दी र जुनविरी, नाकमा चुच्चे बुलाकी र ढिके फुली, कानमा च्याप्टे सुन, गलामा कण्ठ र चाँदीको रेजी । मखमलको चोलो र छिटको साडी वा लुङ्गी र एक काँधमा मिलाएर राखेको टाटनको बर्की (मजेत्रो), लाग्थ्यो- यिनै हुन् पहाडका रानीहरू ! त्यसो त पुरुषहरू पनि दौरा, सुरुवाल, ढाका टोपी, इष्टकोट गलबन्दीमा सजिएका हुन्थे । कतिको त धाननाच नाच्दानाच्दै घरजम बसाउने माध्यमसमेत हुन्थ्यो अरे ! उसबेला ताप्लेजुङको आवश्यकता टार्ने धरान । धरानको प्रभाव छिटो पर्दथ्यो । थातथलो छोडेर लाहुर पसेका लाहुरेहरूको ओहोरदोहोरले सुदूरपूर्वमा भएपनि इलाम, पाँचथर भन्दा ताप्लेजुङमा लवजको प्रभाव अलि छिटो पुग्दोरहेछ पछि बुझ्दा । कता-कता हङकङ, युके हुँदै धरानमा भित्रिएको फेसन देखिन्थ्यो । अर्थात्, महिलाले लगाउने लुङ्गी पनि त्यसैको प्रभाव हो भन्ने सुनिन्थ्यो ।

लाखेजात्रा, गाइजात्रा, रोपाइँजात्रा र कृष्णजन्माष्टमी- यी चार दिन साँच्चिकै रमाइलो हुन्थ्यो ताप्लेजुङ बजारमा । अझ गाउँबाट आएका ओठमा रातो लिपिस्टिक, राता-राता स्याउ जस्ता गाला, बर्की या सल ओढेका दिदी-बहिनीहरूको सल लाखेले झुक्याएर अलि पर लगेर देखाउँदा ती स्याउ जस्ता गालाबाट रगत झर्ला जस्तो देखिने दृष्य अरुका लागि रमाइलो हुन्थ्यो । उबेला लाखे र ढँट्वारेले लाखेजात्राका दिन त्यसरी नै मनोरञ्जन दिन्थे । अझ तोक्मेडाँडामा हाट लाग्ने दिन पूर्णिमा पऱ्यो भने त झन् रमाइलो हुन्थ्यो । गाउँघरबाट बिक्रीका लागि ल्याइएका राम्रा काँक्रा डोकाबाट फुत्त झिकेर पर लगेर नचाउँदै लाखेले लोभ्याउँथ्यो । लाखेको बाजा, ढँट्वारेको चुरीफुरीका कारण कतिपय त फिर्ता लिन जान पनि सक्दैनथे । तर, रमाइलो दिने लाखेले लगेको सामान केही समयपछि फिर्ता गर्दा सामान तथा कपडाधनीहरूको रुन्चेहाँसो मच्चिन्थ्यो ।

उबेला नेवारी बाजा सुन्दै पनि डर लाग्थ्यो । नजिक आउला कि भनेर जमदारको घरको बरण्डामा चढेर डराइ-डराइ हेर्थ्यौं । उबेला ताप्लेजुङ बजारमा कस्ता घर थिए ? अनि कसको घरको बरण्डामा कहाँबाट कसरी जाने ? वा माथि डाँडाको ढुङ्गामा कसरी पुग्न सकिन्छ ? त्यहाँबाट कति ठाउँ हेर्न सकिन्छ ? भन्नेसम्म विचार गरिन्थ्यो । अहिले लाग्छ- बालापन साँच्चिकै चलाख र धुर्त नै हुँदोरहेछ !

बहुजाति, बहुभाषी, बहुसंस्कृति जस्ता विविधतापूर्ण बसोबासरहेको हाम्रो समुदायमा पुज्ने देवता र आस्था पनि फरक छन् । नेवार समुदायको लाखेनाचले त्यो विविधता पनि झल्काउँछ । समय बित्दै जाँदा लाखेसम्बन्धी विभिन्न भनाइहरू सुनियो ।

■ कृष्णलाई मार्नका लागि कङ्सले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखेनाच नचाउने गरिन्छ । भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदेओस् भनेर पनि यो जात्रा मनाइएको भन्ने किंवदन्ती सुनिन्छ ।

■ भयंकर जिउडाल र दाह्रा निस्किएको डरलाग्दो अनुहार अनि ठूलो जटाधारी राक्षसजस्तो लाखेलाई तलेजु भवानीको अंगरक्षक मानिन्छ । अदृश्य शक्तिको रूपमा मानिने लाखेले मानवलाई भूतप्रेत, पिचास र रोगव्याधीबाट बचाउने जनविश्वास रहिआएको रहेछ ।

झापा झरेपछि मात्रै बुझियो । त्यही भएर लाखेजात्रा शुरु हुनुअगावै नागपञ्चमीदेखि नै लाखेनाच शुरु गर्ने गरेको पाइन्छ । उबेला रमाइलो लाखे र छुच्चो ढँट्वारेको नट्वार कलाले कहिले डर लाग्थ्यो त कहिले रमाइलो । रमाइलो लाखेजात्राको डरलाग्दो गाईजात्रालाई बिर्सने कुरै भएन । विषय प्रवेशका लागि केही भूमिका बाँध्नैपर्ने बाध्यतासँगै स्मृतिलाई प्रस्तुत गर्नु मनासिव ठानेँ ।

सन्दर्भ गाइजात्राको :

गाईजात्रा किन भनिएको हो भन्ने कुराको जानकारी थिएन । के-के प्रयोग गरिएको हुन्थ्यो बाल्यकालमा त्यो ख्याल पनि गरिँदैनथ्यो । अगाडि-पछाडि केटामान्छेले बोकेका हुन्थे । बीचमा सायद बाँस प्रयोग गरेर (ताप्लेजुङ बजारका घरका छानोजत्तिकै) अग्लो । टुप्पामा मान्छेको जस्तो आकृति । कुनै वर्ष महिलाजस्तो देखिने त कुनै वर्ष पुरुषजस्तो देखिने दृष्य घुमाउँथे । पछि बुझ्दा नेवार समुदायका मृतकको प्रतिमा बनाएर बजार घुमाएर देखाइएको रहेछ । (हजुर आमाले नेवारको ख्याग देख्दा डराए भने सातो जान्छ भन्नुहुन्थ्यो, हामी लुकीलुकी जान्थ्यौं) हजुरआमाले भनेको ख्याक देख्दा साँच्चिकै डर लाग्थ्यो र लुक्थ्यौँ पनि ।

बिस्तारै बुझ्दै जाँदा नेवार समुदायबाट एकवर्षभित्रमा ज्यान गुमाएका व्यक्तिको सम्झनामा माटोको साँढे वा तहासाँ बनाएर नगर परिक्रमा गर्ने चलन रहेछ गाइजात्रा । तहासाँ वा तहामचा भनिदोरहेछ । बाँसमा फरिया बेरेको भए त्यो महिलाको (तहामचा) र कपडा बेरेको भए त्यो पुरुषको (तहासाँ) भनिदोरहेछ । यो एक प्रकारको मृत्युगणना जात्रा रहेछ । नेवार समुदायको परम्परागत बसोबास रहेको ठाउँमा गाइजात्राको ढुकेर बस्ने हो भने वर्षभरिमा कतिले ज्यान गुमाए भन्ने तथ्याङ्क झल्काउँदारहेछ ।

नेपालमा भक्तपुरलाई नेवार समुदायको परम्परागत बसोबासका रुपमा चिनिन्छ । यहाँ गाईजात्राको प्रारम्भिक कालमा मृतकको सम्झनामा साँढे छाड्ने गरेको भएपनि छाडिएका साँढेले किसानका बालीनालीमा क्षति पुऱ्याउन थालेपछि त्यसमा रोक लाग्यो । त्यसपछि ताहासा (माटोको साँढेको प्रतीक) बनाएर नगर परिक्रमा गराएको ऐतिहासिकता पनि पाइन्छ । त्यो पनि खर्चिलो भएपछि डोकसा बनाउने प्रचलन आएको बताइन्छ । डोकसा (डोकोमा लिङ्गअनुसारका कपडाले सिँगारेर गाईको मुखाकृति र परालले बनाएका सिङसहित अन्य सामग्रीले सजाएर गाईको प्रतीक बनाइदोरहेछ । गाईजात्राका लागि बनाइएको गाईको प्रतीकको आधारमा सम्बन्धित परिवारको आर्थिक अवस्थाको आँकलन समेत गरिन्छ अरे !

गाइजात्रा पर्वको प्रचलन लिच्छवीकालिन राजा प्रताप मल्लले शुरु गरेको भनिएता पनि त्यो भन्दा ३०० वर्षअघि शुरु भएको भन्दै आएका छन् । तत्कालिन राजा प्रताप मल्लले पुत्रवियोगमा शोकविव्हल भएकी आफ्नी रानीलाई शोकबाट मुक्त गराउन गाइजात्राको प्रचलन चलाएको मानिन्छ । गोपालराज वंशावलीमा सायातु भन्ने शब्द उल्लेख गरिएको भन्दै साको अर्थ गाई र यातुको अर्थ जात्रा भएको संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठको भनाइ छ ।

गाईजात्राको परम्परागत मान्यता पछिल्लो समय नेवार समुदायमा मात्र सीमित रहेन । राष्ट्रिय हास्यब्यङ्ग्य चाडको रूप लिएको छ भन्दा अत्युक्ति नहोला । यसले ब्यङ्ग्यात्मक हास्यब्यङ्ग्य प्रहसन, गाइजात्रे पत्रपत्रिका, नाटक तथा सञ्चारका माध्यमबाट सार्वजनिक पदधारण गरेका व्यक्ति राज्य सञ्चालकहरूलाई तिखो ब्यङ्ग्य प्रहार गरी झक्झक्याउने काम गर्दै आएको छ । तथापि, ‘गाईजात्रा’को प्रहर्सन कमसल भइ त्यसको महत्व र गरिमालाई कायम राख्न नसके जबर्जस्त ‘हँसाउनैपर्ने र हाँस्दिनुपर्ने’ बाध्यताका बाबजुद पर्वको मर्म ‘मृत्यु चिन्तन’ र मौलिक परम्परा भने संकटमा नपर्ला भन्न सकिन्न ।

जन्म र मृत्यु शाश्वत सत्य हो भन्ने जान्दाजान्दै पनि आफन्त गुमाउँदाको पीडा अशैह्य हुनु मानवीय स्वभाव हो । जीवनशून्यता र डरत्रासको मनोविज्ञान मात्र होइन प्रकृति र जीवनबीचको अन्तरसम्बन्ध पनि हो । आकांक्षा र अभिलाशा जीवनलाई डोहोऱ्याउने माध्यम पनि हो । लोभ, मोह, क्रोध र स्वार्थ सबै प्रकृति प्रदत्त हुन् । मृत्यु सत्य हो तर अनिश्चित । त्यही अनिश्चित यात्राका यात्री मानिसलाई पीडाबाट निकाल्ने माध्यम मनोरञ्जन नै हो । गाइजात्राले यही विशेषता प्रदर्शन गरेको रहेछ ।

रोपाइँ (चोपाइ) जात्राबारे केही :

गाइजात्राको भोलिपल्ट रोपाइँजात्रा मनाइन्थ्यो । त्यसलाई ‘धानरोपाइँ’ पनि भनिन्थ्यो । यो जात्रा पनि नेवार संस्कृतिबाट सुरू भएको मानिन्छ । असार महिनामा धानको रोपाइँ सकेपछि रोपाइँजात्रा मनाइन्छ ।

भाद्र कृष्ण पक्ष द्वित्तीयाका दिन मनाइने यो जात्रामा नेवार समुदायको बाहुल्य रहेको ठाउँमा उनीहरूको मौलिक भेषभूषामा सजिएर मौलिक बाजाको तालमा धान रोपेजस्तै गरी नृत्य गर्दै मनाइन्छ । रोपाइँ जात्रामा रोपाइँमा धान रोपेझैं गरी नाच्ने गाउने गरिन्छ । तर, मेरो बाल्यकालको रोपाइँजात्राको अनुभव भने बेग्लै छ । नेवार समुदायको पर्व विशेष हो भन्ने नजान्दै लिम्बू समुदायका एक शिक्षकले नेतृत्व गरेको देखिन्थ्यो । पाटको बोरा ओढेर गोरु जस्तो हुनेहरू को को थिए चिनिदैनथ्यो । तर, तुलसी पालुङ्वा सरले डोकोमा सिस्नु पछाडि फर्काएर राखी रोपाइँ गर्ने ठाउँ खाली गर्दाको रमाइलो दृश्य जीवनको अमिट छापजस्तै छ । बाटोको दुवै किनारमा भएका घर, बीचमा सानो बाटो, ताप्लेजुङ बजारको त्यही बजारभरी धानरोपाइ गर्नुपर्ने । अनि ताप्लेजुङमात्रै होइन, जिल्लाबाहिरबाट समेत मेला हेर्न जानेको भिड । उक्त भिड नियन्त्रणका लागि लिम्बु पहिरनमै सजिएकी सुब्बेनी बजै (तुलसी पालुङ्वा)ले घरबेटी बज्यैका रुपमा गरेको अभिनय । साँच्चै शब्दमा वर्णन नै गर्न सकिन्न । डोकोमा राखेको सिस्नोले झ्याम झ्याम पार्दै भिड हटाउन गरेको प्रयत्न साँच्चै रोचक थियो । त्यतिमात्रै होइन, कहिलेकाहीँ बाउसेको भूमिकामा देखिने उहाँको अभिनय साँच्चै लोभलाग्दो हुन्थ्यो ।

पाटाको बोरा ओढाएर मानिसलाई नै गोरु बनाइन्थ्यो । हलुका काठका जुवा र टिनको हलोमा नारिन्थ्यो । हली छुट्टै । बाउसे र रोपाहारहरूले असारे गीत गाउँदै बजारका बाटाभरी रोपाइ गरेका दृश्यहरू विस्मृतिमा जान थालीसकेछन् । हुन त तुलसी सरको धामगमनले रोपाइँजात्राको रौनकता ओझेलमा पऱ्यो रे । अब त किंवदन्ती पो होला कि भन्न सकिन्न । त्यसबेला गोरु, लाखे, ढँटुवारे, बाउसे, रोपाहारको अभिनय कसले गर्थे ? केटाकेटीमा सोधीखोजी नै गरिएन । तर, तुलसी सरको नामचाहिँ बारम्बार ठुलाहरूले दोहोऱ्याउँथे ।

डोकामा सिस्नो, हातमा चिम्टा लिएर भिड नियन्त्रण गर्ने र अटेरीहरूलाई ठेगान लगाउन गरिएको प्रयत्न थियो त्यो । तथापि, झ्याम्म सिस्नोले पोलेर वा चिम्टाले च्यापिएपछि कराउँदै भाग्नेहरूले पनि मेलामा रौनक भर्थे । हामी केटाकेटीहरू लुसुक्क ठूलाका चेपचापमा पसेर बच्थ्यौँ । अनि बाहिर सिँढी भएका वा चिनजान भएका घरको माथिल्लो तलामा चढेर आँखाले भ्याउन्जेलको दृश्य पनि हेरिन्थ्यो । नेवार भन्दा लिम्बूसहित अन्य जातजातिको बसोबास बाहुल्य रहेको ताप्लेजुङमा यी जात्राहरू निश्चित समुदायको हो भन्ने आभास नै हुँदैनथ्यो । सबै जातजातिले अपनत्व ग्रहण गरेझैँ लाग्दथ्यो र सबै जातजातिको समान सहभागिता देखिन्थ्यो ।

पूर्वमा रोपाइँजात्राका रुपमा मानिने यो जात्रालाई पश्चिम कर्णालीको जुम्लामा चोपाइ भनिँदो रहेछ । स्थानीय भाषाअनुसार चोपाइ भन्नाले चोप्ने (डुबाउने) भन्ने बुझिन्छ । त्यसैले अन्यत्र रोपाइँ जुम्लामा चोपाइ !

बालापनमा रोपाइँजात्रा मनोरञ्जनका लागि हो भन्ने बुझेपनि त्यसले दिने सन्देश बृहत रहेछ । शहरी क्षेत्रमा बसोबास गर्नेहरूका बालबालिकाहरूलाई माटो चिनाउने, कृषिकर्मबारे सिकाउने तथा काम गर्दा मनोरञ्जन पनि चाहिन्छ भन्ने सन्देश बोकेको रहेछ ।

त्यससँगै कृष्ण जन्माष्टमीको दिन लाखेजात्रा समापन गरिन्थ्यो । दिनभरजसो बजार आसपासमा लाखे र ढँटुवारेको नृत्य प्रस्तुत गरेपछि रातको १२ बजे लाखे सेलाउँछन् भनिन्थ्यो । यद्यपि लाखे कसरी सेलाउँथे त्यो दृश्यचाहिँ कहिल्यै देखिएन । तर बालापनमै देखिएको त्यो लाखेजात्राको रमाइलो सम्झँदा अहिले पनि लाखेपुर्णिमा अर्थात् जनै पुर्णिमामा ताप्लेजुङ बजार पुगौँ झैँ लाग्छ ।