हेलिकप्टर चढेको खुशी

हेलिकप्टर चढेको खुशी


कहिलेकाहीँ कुनै सानो भेट पनि रोचक र स्मरणीय हुनपुग्छ !

हल्दिबारी नवसृजना प्राविमा भेटिनुभएका लक्ष्मीप्रसाद खनालसँगको सानो भेट पनि रोचक रह्यो । उहाँ त्यस विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुनुहुँदोरहेछ !

अन्य शिक्षकसँगको चिनजानको क्रममा मैले बताएँ- म ज्ञानमणि भुर्तेल ! घर भद्रपुर ! निकैअघि हल्दिबारीमा हाम्रो खेती थियोे । म यस क्षेत्रको पुरानै मान्छे हो !

मेरो बोली सकिनासाथ लक्ष्मी दाइले बताउनुभो- तपाईंले मलाई चिन्नुभएन, तर तपाईंलाई म चिन्छु । भुर्तेल हो तर कसको छोरा हो त्योचाहिँ अल्मलिएँ !

म गोविन्द भुर्तेलको छोरा हो !

‘ओहो ! तपाईं भरतजीको भाइ हो ?’ भन्ने सवालमा मेरो ‘हो’ जवाफपछि उहाँ नजिकै आउनुभो अनि एउटा अचम्मको लवज बोल्नुभो- ‘तपाईंलाई थाहा छ कि छैन… हल्दिबारीबाट तपाईंहरूलाई खेद्ने अपराधी मै हो !’ उहाँको शब्दले म टवाँ परेँ !

‘तपाईंचाहिँ होइन तर हामीलाई सारै दुःख दिने एकजना …जी हुनुहुन्थ्यो ।’ उहाँको थर भन्नेबित्तिकै वरिपरिका सबैबीच हाँसो चल्यो ! उहाँले तपाईंहरूलाई मात्रै होइन सबै गाउँलेलाई दुःख दिनुहुन्थ्यो, अहिले बितिसक्नुभो । नजिकै रहेका अर्का शिक्षकले जानकारी दिनुभो ।

हाम्रो खेती राम्रो उब्जनी हुने । हामी बाली लाउने ! …जी हरेक वर्ष अमिन ल्याएर सिमाना आफ्नोतिर पारेर बाली काट्ने ! अमिन पनि कालो नुनिया चामलको भातमा कुखुराको झोल मिसाएर हसुर्न पाएपछि …जीकै कित्तामा उभिने ! एउटा दुःख ….जी थिए अर्को भुतुनीखोला । पाराखोपी चोकसम्म त जेनतेन पुगिन्थ्यो तर भुतुनीखोलामा गाडी लिएर जाँदा गोरु डुब्ने, साइकल लिएर जाँदा साइकल बगाउने ! हल्दिबारी अति विकट उस समय ! हल्दिबारी छोड्नु यिनै कारण थिए तर लक्ष्मी दाइको कुराले कन्फ्युज भो !

मैले अचम्मित हुँदै उहाँतिर फर्केपछि उहाँको कथन, उहाँकै लवजमा- ‘लु सुन्नुस् ! मैले तपाईंहरूलाई कसरी हल्दिबारीबाट खेदेँ ! तपाईंका काका शंकर दाइले खेती बेच्ने कुरा गरेपछि तपाईंको बुबा गोविन्द दाइले पनि बेच्ने कुरा गर्नुभएछ ! आएका ग्राहक भड्काउने काम उनै …जी लगायतका छिमेकीले गर्दा रहेछन् ! त्यस्तो उब्जाउ जमिनका बारे ‘हैट ! यस्तो खत्तम जग्गा पनि किन्ने हो र ? यहाँ उब्जनी राम्रो हुँदैन’ जस्ता कुरा गरेर फर्काउँदा रहेछन् ! उनीहरूको षड्यन्त्रचाहिँ अरुलाई भड्काएर सस्तोमा आफैं लिनु थियो !

आजित भएर गोविन्द दाइले मलाई बोलाएर खेती बिक्री गराइदिन आग्रह गर्नुभो ! त्यसबेला हल्दिबारी अहिलेजस्तो सुगम थिएन । यातायातको साधनसमेत नभएको बेला कहिले शंकर दाइको घर संगमचोक र कहिले तपाईंहरूको घर क्याम्पसमोड पैदल धाएको छु ! त्यस समय मसँग साइकल समेत थिएन ! मैले पनि पहाडबाट आफन्त बोलाएर आफ्नो घरमा राखेर हल्दिबारी-भद्रपुर निकैपटक पैदल यात्रा गरेर कसैलाई एक बिगाह कसैलाई दुई बिगाह गरेर सबै आफन्तलाई तपाईंहरूको दस बिगाह खेती बिक्री गराइदिएँ ! मैले तपाईंहरूको खेती बिक्री नगराइदिएको भए तपाईंहरू अहिलेसम्म हल्दिबारीमै रहनुहुन्थ्यो । अब बुझ्नुभो होला नि ! म तपाईंहरूलाई हल्दिबारीबाट खेद्ने अपराधी हो भनेर !

उहाँको स्पष्टीकरणले सबैजना निक्कै मज्जाले हाँस्यौँ ! यत्तिमै कुरो सकिएन ! उहाँले अगाडि थप्नुभो- तपाईंको बुबासँगको अर्को रमाइलो कथा पनि छ ! म नक्सलबारी जान काकरभिट्टा पुग्दा भन्सारमा गोविन्द दाइसँग भेट भो ! उहाँ त्यहाँ सरुवा भएर आउनुभएको रहेछ ! मलाई देखेपछि बेलुका फर्किने बेलामा अनिवार्य भेट्ने उर्दी जारी गर्नुभो ! दाइको आदेश पालना गर्दै फर्केर भेट्दा तपाईंका बुबाले भन्नुभएको शब्द अहिलेसम्म याद छ ! ‘लक्ष्मी भाइ ! तपाईंलाई मैले धेरै दुःख दिएको छु ! मेरो तर्फबाट यो तपाईंलाई’ भन्दै नयाँ साइकल देखाउँदा म कति खुशी भएँ त्यो भनीसाध्य छैन । उसबेला जग्गा किनबेचमा अहिले जस्तो खुलेआम दलाली हुन्थेन । मैले पैसा माग्ने कुरो पनि थिएन । उहाँले मलाई कामबापतको पैसा दिने कुरो पनि थिएन । हाम्रो सम्बन्ध विशुद्ध पारिवारिक थियो । त्यसैले तपाईंका बुबाले त्यो तरिका अपनाउनुभएको मेरो बुझाइरह्यो ! म अहिलेसम्म हेलिकप्टर चढेको त छैन तर त्यसदिन काकडभिट्टाबाट साइकल चढेर हल्दिबारीसम्म आउँदा मैले हेलिकप्टर चढेको कल्पना गरेँ ! मलाई ‘आफ्नो’ साइकलको धनी बनाउने गोविन्द दाइ हो !

निकै लामो हाँसो चल्यो ! ‘निकै भयो भेट नभएको ! अहिले बुबालाई कस्तो छ ?’

‘बुबालाई ७३ सालमा बिदा गरियो’ मेरो शब्दले उहाँ भावुक हुनुभो ! बुबाको निधनको खबर थाहा नपाएकोमा पश्चातापसमेत गर्नुभो !

गोर्खालीको जात ! त्यसमाथि भेट भएका सबै झापाली !’ कुनै झापालीले बोल्न नसकेर कुटाइ खायो भन्दा नपत्याउनु, धेर बोलेर कुटाई खायो भन्दा तुरुन्तै पत्याउनु’ भन्ने जीवनाथ चापागाईं (राते काइँलो) को वाणी सत्य सावित गर्दै केही बेरको राजनैतिक माहोलबीच त्यससमयका नेपाल विद्यार्थी संघका चर्चित योद्धा भरत भुर्तेल, मुकुन्द ढुंगाना, सुरेश दाहाल, उत्तम सुवेदी, राजेश ढुंगाना आदिसँगको सहकार्यको चर्चा चल्यो !! ‘विवाह बन्धनमा बाँधिएको पत्तै नपाइ… वर्ष बितेछ’ भनेझैँ हामी गफ्फिएको पनि पत्तैनपाइ लगभग डेढ घण्टा बितेछ !

गफ बिट मार्दै अब भेटघाट बाक्लो बनाउने सहमति गर्दै बिदा हुने बेलामा उहाँ बोल्नुभो- म तपाईंहरूकै परिवारको मान्छे हो ! अब चैँ नबिर्सिनुहोला !

स्विकारोक्तिमा टाउको हल्लाउँदै मैले पनि झापाली गफ थपेँ- मेरो बिर्सिने बुरी आदत छ ! बिर्सेछु भने गाला पड्काएर ‘म हल्दिबारीको लक्ष्मी खनाल’ भन्ने अधिकार तपाईंलाई छ ! भरसक त्यो अवस्था नआओस् भन्ने कामना गरौँ । अनि अर्को कुरा पनि भन्छु- तपाईं हामीलाई खेद्ने हैन ! हाम्रो कल्याण गर्ने शुभचिन्तकचैँ हो ! आफुलाई अपराधी नठान्नुहोला ! हामीलाई सारै दुःख दिएर खेद्ने चैँ …जी हुन् ! उनको आत्माले शान्ति पाओस् ! सबै गलल्ल हाँसियो !

भुर्तेल परिवार साथै बुबाको हितैषी, दाजु भरतको अभिन्न मित्र तथा मेरो आदरणीय दाइ लक्ष्मीप्रसाद खनालसँगको लगभग डेढ घण्टाको भेट अविष्मरणीय रोचक रह्यो ! उहाँको शैक्षिक सामाजिक सक्रियता कायम रहोस् ! जय होस् !!