- विशेष प्रतिनिधि, युरोप
एनआरएनए बेल्जियमको १८औँ वर्षिक साधारणसभा सम्पन्न भएको छ । बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीको प्रमुख अतिथ्यता एवम् गैरआवाशीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटाको सभापतित्वमा आयोजित साधारणसभामा एनआरएनए बेल्जियमका संस्थापक अध्यक्ष रविन्द्रमान श्रेष्ठ र निवर्तमान अध्यक्ष खड्क बहादुर केसीको पनि विशेष उपस्थिति रहेको थियो भने एनआरएनए बेल्जियमका उपमाहासचिव राजेन्द्र कार्कीले सभामा सहजकर्ता (सञ्चालन)को भूमिका निर्वाह गरेका थिए ।
साधारणसभाका संयोजक तथा संघका उपाध्यक्ष लोकेन्द्र नेपालले सभाको तयारिको लागि खेलेको उत्कृष्ट भूमिकालाई उपस्थित सबैले प्रशंसा गरे भने अर्का उपाध्यक्ष काशी दनैले संघले वर्षभरी गरेको कामबारे स्लाइड सोसहित छोटकरीमा प्रगति डाटा प्रस्तुत गरेका थिए । उक्त प्रस्तुतिको उपस्थित व्यक्तित्वहरुबाट निकै प्रसंशा गरिएको थियो ।
शुभकामना मन्तव्यको क्रममा बेनेलेक्सका राजदुत, संघका अग्रज लगायतले एनआरएनए बेल्जियमलाई आन्तरिक अनुशासनलाई दृढताका साथ पालना गर्दै एकढिक्का भएर अगाडि बढ्न सुझाव दिएका थिए ।
सो अवसरमा एनआरएनए बेल्जियमले भाषा, संस्कृति, खेलकुद लगायत विविध क्षेत्रमा विशिष्ट योगदान पुऱ्याउने अग्रज अभियन्ताहरु बालेन्द्र गुरुङ, विनिता रिमाल, गोरख घले, बालाराम पुन र नारायण अधिकारीलाई कदरपत्रद्वारा सम्मान गरेको थियो ।
सभाको अन्त्यमा सभापति सापकोटाले निर्वाचन भएर आएको एक वर्षमा गरिएका प्रयासहरुको विषयमा संक्षिप्त विषयहरु राख्दै विशेषगरी जाजरकोट भुकम्पमा असल नियतले काम गर्दागर्दै भ्रष्टाचार गरियो भनेर सामाजिक संजालमा भ्रमपूर्ण अफवाह फैलाइएता पनि सामाजिक काममा उठाएको एक पैसा रकम पनि तलमाथि गरेको प्रमाण कसैले पेश गर्छ भने आफु बेल्जियमस्थित सामाजिक, क्षेत्यत्रि, जातीय तथा वैचारिक संस्थाका अगाडि जसले छानबिन गर्दा पनि खुलेर सहयोग गर्ने भन्दै यस्ता अफवाहका पछाडि नलाग्न बेल्जिमयवासी गैरआवासीय नेपालीहरुलाई आब्हान गर्नुभयो । सापकोटाले आफ्नो कार्यकालसँगै बितेको एक वर्षमा संस्थाले गरेका परोपकारी क्रियाकलापको बारेमा प्रस्ट पार्नुभएको थियो।
एनआरएन बेल्जियमलाई स्वार्थी समूहले केही विवादित तुल्याउन खोज्दा आफूले लचकता अपनाइ संस्थागत एकताका लागि पहल गरेको तर आफ्नो प्रयास सफल नभएको समेत अध्यक्ष सापकोटाको भनाइ थियो । केन्द्रिय विवाद सम्बन्धमा समेत सबै विषय स्पष्ट नभइन्जेल साझा सँस्था कुनै एक समुहको मात्र नभएको भन्दै आफ्नो पदिय दृष्टिकोण साथै व्यक्तिगत दृष्टिबाट समेत हरेक गैरआवासीय अभियानकर्ता समान भएको धारणा राख्नुभएको थियो ।
साधारणसभामा प्रस्तुत प्रगति तथा आर्थिक प्रतिवेदन सामान्य संशोधनसहित पारित गरिएको थियो ।
प्रतिक्रिया