मानसिक विकारलाई पूर्वीय दर्शनले सामान्यतया मनको अस्थिरता, अज्ञानता वा वासनाद्वारा उत्पन्न असन्तुलनको रूपमा लिन्छ । यस सन्दर्भमा यदि कुनै व्यक्तिले आफ्नो मानसिक स्वास्थ्यको कारणले यथार्थ र कल्पनाको बीचमा भिन्नता छुट्याउन सक्दैन भने त्यो मानसिक विकारको रूपमा लिन सकिन्छ । तर, मुन्धुम गाउने प्रक्रिया भनेको जानाजानी उच्च चेतना प्राप्त गर्ने प्रक्रिया हो ।
✍ विलाश योङ्या
यो छोटो लेखमा पूर्वीय दर्शन, विशेष गरी मुन्धुम गाउने येबा, फेदाङवा, साम्वारको विषयमा चर्चा गर्दैछु । यसको सदर्भमा चर्चा गर्दै केही प्रष्ट पार्न प्रयास गरेको छु । अब हामी Shamans लाई पूर्वीय दर्शनको आधारमा बुझ्न प्रयास गरौँ ।
पूर्वीय हिमालयन दर्शन
पूर्वीय दर्शन, विशेषगरी मुन्धुम गाउने येबा, येमानी, फेदाङ, साम्बा, वेद, उपनिषद् र बौद्ध धर्ममा रहने योग, विपश्यना आदि अभ्यास मनशान्ति, स्थिरता र आत्मज्ञान प्राप्त गर्ने, मन निको गर्ने माध्यमको रूपमा परिभाषित गरेको पाइन्छ ।
मानसिक विकार भनेको मानिसको मन र आत्माको बीचमा असन्तुलन हुनु हो । यस परिप्रेक्ष्यमा, मानिसको मन, शरीर र आत्माबीचको सम्बन्धलाई गहिरो महत्व दिने गरिन्छ । तसर्थ Shamans प्राकृतिक वैज्ञानिक रुपमा उपचार गर्ने सामाजिक प्रणाली हो ।
या फेदाङवा के हो ?
या, फेदाङ, साम्बा भनेको एक प्रकारको भौतिक ज्ञानको व्याख्या एवम् आध्यात्मिक अभ्यास गर्ने साधक हुन् । यी साधकहरू आध्यात्मिक संसारसँग प्रत्यक्ष जोडिन पुग्छन् । यसरी ब्रम्हलीन हुने क्रममा या, फेदाङहरूले मुन्धुम फलाक्ने अर्थात् ध्यानको माध्यमबाट उच्च चेतना वा आत्मिक शक्तिहरूसँग सम्बन्ध स्थापना गर्छन् । यो प्रक्रिया धार्मिक अनुष्ठानको रूपमा हेर्न गरिन्छ र धेरै संस्कृतिमा यसलाई सम्मानका साथ सामाजिक मान्यता प्रदान गर्दै आइएको छ ।
मानसिक विकार : येबा, साम्बा र फेदाङवा
मानसिक विकारलाई पूर्वीय दर्शनले सामान्यतया मनको अस्थिरता, अज्ञानता वा वासनाद्वारा उत्पन्न असन्तुलनको रूपमा लिन्छ । यस सन्दर्भमा यदि कुनै व्यक्तिले आफ्नो मानसिक स्वास्थ्यको कारणले यथार्थ र कल्पनाको बीचमा भिन्नता छुट्याउन सक्दैन भने त्यो मानसिक विकारको रूपमा लिन सकिन्छ । तर, मुन्धुम गाउने प्रक्रिया भनेको जानाजानी उच्च चेतना प्राप्त गर्ने प्रक्रिया हो, जुन आध्यात्मिक अनुभवको रूपमा ज्ञान प्राप्त गरिन्छ । यसरी चेतना अनुभव नियन्त्रणमा रहन्छ र आत्मज्ञानको मार्गको सन्दर्भमा केन्द्रित हुने भएकाले यो मानसिक विकार (Mental disorder) होइन । यो एक आध्यात्मिक अभ्यास हो । जसले आध्यात्मिक संसारसँग अन्तरक्रिया गर्न चेतनाको परिवर्तित अवस्थाहरूमा पुग्न प्रयास गर्दछ । यो अभ्यास सन्दर्भमा प्रायः दार्शनिकहरूले गलत रुपमा बुझ्न पुगे र पश्चिमाहरूले Shamans लाई गलत रुपमा अर्थ्याउन पुगे ।
मनोवैज्ञानिक सन्दर्भको रुपमा
‘प्याथोलोजिकल’ व्याख्या : केही प्रारम्भिक पश्चिमी मनोवैज्ञानिकहरू, विशेष गरी मनोविश्लेषणबाट प्रभावित व्यक्तिहरूले गहिरो अनुसन्धान र अनुभव विना Shamans अभ्यासहरूलाई मानसिक विकार रूपमा हेर्न पुगे जुन तथ्यपरक थिएन जसले Subjectively hypothesis interpretation गर्न पुगे ।
यसको ठीक विपरीत Carl Jung को दृष्टिकोण अलि भिन्न छ । उनका अनुसार साम्बा येवाहरूको अनुभवहरूलाई रोग विज्ञानको रूपमा नभएर सामूहिक अवचेतनको अभिव्यक्तिको रूपमा ब्याख्या गरेका छन् । उनले विश्वास गरे कि Shamans मानवले गर्ने परम्परागत प्राकृतिक चिकित्सा हो, उनलेका यसैरूपमा व्याख्या गरेका छन् । यो मानसिक रोगको संकेतको सट्टा सामाजिक विधि र शारीरिक पीडा निको पार्ने परिवर्तनकारी स्वरुप हो र, अलिक फराकिलो दायराको रुपमा लिनुपर्छ भनेका छन् कार्ल जंगले ।
यसै सन्दर्भमा ट्रान्सपर्सनल मनोविज्ञानले Shamans लाई अझ सकारात्मक रूपमा हेर्छ । जसअनुसार Shamans अनुभवहरू मानसिक विकारहरू होइनन् बरु आत्मिक अनुभवहरू हुन्, जसले व्यक्तिगत अध्यात्मिक साधनामा लीन हुन र निको पार्न सक्छ । चेतनाको यी परिवर्तन गरिएका अवस्थाहरूलाई रोगविज्ञानको संकेतको सट्टा उच्च स्तरको चेतनाको प्रवेशद्वारको रूपमा हेर्नुपर्छ भनेर भनिएको छ ।
मानवशास्त्रीय दृष्टिकोण
सांस्कृतिक सापेक्षतावाद : धेरै पश्चिमी मानवशास्त्रीहरूले यसको सांस्कृतिक सन्दर्भभित्र Shamans बुझ्न यसको महत्वलाई व्याख्या गर्न जोड दिन्छन् । यस परिप्रेक्ष्यबाट Shamanic अभ्यासहरू निश्चित समाजको सामाजिक र आध्यात्मिक क्षेत्रको अभिन्न अंगको रूपमा हेरिन्छ । मानवशास्त्रीहरू पश्चिमी ज्ञानले मानसिक विकारको रुपमा गरेका व्याख्याको सन्दर्भलाई ठाडै अस्विकार गर्छन् ।
केही मानवशास्त्रीहरू तर्क गर्छन् कि Shamans ले महत्वपूर्ण सामाजिक र मनोवैज्ञानिक कार्यहरू गर्दछ, जस्तै द्वन्द्व समाधान गर्ने, रोग निको पार्ने र समुदायको सांस्कृतिक एकता कायम राख्ने । यो परिप्रेक्ष्यले यो धारणालाई चुनौती दिन्छ कि Shamans जन्मजात मानसिक विकारसँग नभएर सामाजिक विज्ञान र आध्यात्मिक कार्यसँग जोडिएको छ ।
दार्शनिक दृष्टिकोण
Phenomenological दृष्टिकोण : यो दार्शनिक दृष्टिकोण पहिलो-व्यक्ति परिप्रेक्ष्यबाट अनुभवहरू बुझ्नमा केन्द्रित छ । Shamanic अर्थात फेदाङवा एक साक्षीको रुपले तर्क गर्न सक्छ कि मानसिक विकारको रूपमा नभएर Shamans अभ्यास गर्दा व्यक्तिपरक वास्तविकतालाई बेवास्ता गर्दछ र, यी अनुभवहरूले व्यक्ति र उनीहरूको संस्कृतिको लागि अर्थ राख्छ । तिनीहरूले पश्चिमी निदान मापदण्ड लागू गर्नुको सट्टा Shamans को जीवित अनुभव बुझ्न जोड दिएका छन् ।
अझ यस सन्दर्भमा Postmodernism philosopher उत्तरआधुनिक दार्शनिकहरूले आधुनिक विज्ञानबाट निर्मित ज्ञान सांस्कृतिक साम्राज्यवाद जहाँ पश्चिमी मान्यताहरू पूर्वीय दर्शनमाथि थुपारियो । यसरी पश्चिममा ज्ञानबाहेक अन्य पूर्वीय दर्शन, आस्था, मूल्यमान्यतालाई अस्विकार गर्नु गलत हो भनेर व्याख्या गर्न पुगे । उतरआधुनिकवादले बहु संस्कृति र सत्यलाई जोड दिएको छ ।
निष्कर्ष
पूर्वीय हिमालयन मुन्धुमी दर्शनमा या, फेदाङबा, साम्बा अर्थात् धामीझाँक्रीको अभ्यासलाई मानसिक विकारको कारण मान्न सकिँदैन । यदि कुनै व्यक्ति आफ्नो मानसिक अवस्थालाई पूर्ण रूपमा नियन्त्रणमा राखेर आत्मज्ञान प्राप्त गर्न वा अन्य व्यक्तिहरूको कल्याणका लागि आध्यात्मिक मार्ग अपनाउँछ, आफ्नो सामाजिक, साँस्कृतिक अनुष्ठान सम्पन्न गर्छ र विश्व दृष्टिकोण अभिव्यक्त गर्छ भने त्यो मानसिक विकार होइन यो ज्ञान प्राप्त गर्ने र बाँड्ने सशक्त माध्यम हो । तर, यदि कुनै व्यक्तिले वास्तविकता र भ्रमको बीचमा भिन्नता छुट्याउन नसक्ने स्थितिमा छ भने, त्यो मानसिक विकारको लक्षण हो तर या, फेदाङमाहरू सचेत भएर आध्यात्मिक ज्ञानसहित उच्च चेतनाले साँस्कृतिक/धार्मिक अनुष्ठान विधि पूरा गर्ने गर्छन् ।
यसकारण पूर्वीय मुन्धुम दर्शनमा या, फेदाङमा साम्बाहरू मानसिक विकारको रूपमा हेर्नु भन्दा पनि यसलाई एक आध्यात्मिक अभ्यासमार्फत उच्च ज्ञान प्राप्त गर्ने सामाजिक, साँस्कृतिक विधि र वैज्ञानिक विश्वास पद्धतिको रूपमा हेर्न जरुरी छ । आत्मज्ञान प्राप्त गर्न मद्दत पुऱ्याउनका साथै सिङ्गो चराचर जगतदेखि विश्व ब्रमाण्डमाथिको मुन्धुमी दृष्टिकोण अभिव्यक्त गर्ने यो ब्याख्याता हो, ज्ञाता हो, ज्ञानको स्रोत हो । यसलाई सके सम्मान र संरक्षण गर्ने हो तर घृणा र अपमान होइन ।
(लेखक त्रिभूवन विश्वविद्यालयमा एमफिल पिएचडी इतिहास विषयका सोधार्थी हुन् ।)
प्रतिक्रिया