महिलाको हरेक क्रियाकलापमा औंला उठाउने पितृसतात्मक समाजको चरित्र देखिन्छ । बाबुको, नानीको, आमाको, बुबाको जन्मदिनमा केक काट्न सहज मान्ने समाजमा तीजको दर खान पार्टी प्यालेसमा हिँडेकी महिलालाई हेरेर ‘यो तीज कहिले सकिएला जस्तो भइसक्यो’ भन्ने जस्ता टिप्पणी घर-परिवारका सदस्यले नै गर्ने गरेका छन् ।
✍ लिजा प्याकुरेल
हरेक वर्ष भाद्र शुक्ल तृतीयाको दिन मनाइने हरितालिका तीज हिन्दु नारीहरूको एउटा महत्वपूर्ण पर्व हो । भाद्र द्वितियाको दिन दर खाने र अर्को दिन तीजको ब्रत बस्ने चलन छ । भाद्र चौथीका दिन स्नान गरी ब्रतको पाराण गरेर खाना खाइन्छ भने तीजको तेश्रो दिन ऋषिपञ्चमीको दिन ब्रतालु महिलाले दत्तिमनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् ।
हरितालिका पनि हिमालय पुत्री पार्वतीसँग जोडिएको छ । सतीदेवीले आफ्ना बाबु दक्ष प्रजापतिको हवनकुण्डमा प्रवेश गरी शरीर त्याग गरेपछि पुनः पार्वतीको रूपमा पिता हिमालय पर्वत र मेनुकाको कोखमा जन्म लिनुभएको पाइन्छ । जन्मपश्चात पार्वतीले सानै उमेरदेखि शिवजी पति पाउनको लागि ध्यान तपश्या गर्थिन् । शुक्लपक्षको चन्द्रमाझैँ बढ्दै गएकी, सबै लक्षणले युक्त भएकी कन्या देखेपछि नारद ऋषिले विष्णु भगवानसँग पार्वतीको विवाहको कुरा राख्दा विवाह हुने थाहा पाएपछि आफ्नो वेदना साथीहरूलाई सुनाउनुभएको पाइन्छ । तत्पश्चात साथीहरूले पार्वतीलाई सुटुक्क जंगलमा लगेको र त्यसपछि पार्वतीले शिवजीको पुजा र तपस्या गर्नुभएको प्रशङ्ग छ । पार्वतीले महादेव पति पाउन घोर तपस्या गरिन् तर सफल भइनन् । कसरी तपस्या सफल हुन्छ भनेर भगवान् विष्णुलाई सोधिन् । त्यसपछि विष्णु भगवानले शिव प्राप्त गर्ने ब्रत आसना पुजा गर्ने विधिको बारेमा बताए । हरिले दिएको तालिकाअनुसार पार्वतीले कठोर ब्रत बसिन् । त्यसैले हरिको तालिकाअनुसार पुजा, ब्रत, आराधना गरेर पार्वतीले शिवजी प्राप्त गरेकोले यस ब्रतको नाम हरितालीका तीज रहन गयो ।
सबै विवाहित नारीहरूले यो ब्रत विशेषगरी आफ्नो श्रीमानको सुस्वास्थ्य तथा दीर्घायुको कामनाका लागि बस्छन् । भागवत पुराणअनुसार श्री कृष्ण अष्टमी अर्थात् कृष्ण जन्मिएको ११औँ दिन (न्वारण नामाकरण) मा गोपीनीहरूले नाचगान गरेर बाजागाजासहित रमाइलो गरी खुसीयाली साटासाट गरेका थिए । तीज पनि त्यही तिथिमा परेकाले यस पर्वमा नाचगानसमेत गरी हर्षोल्लासका साथ मनाउन थालियो ।
तीजको एक दिनअगाडि दर खाने चलन छ । तीजको दिन पानी पनि नखाएर कठोर ब्रत बस्ने चलन भएकोले एकदिन अगाडि मिठो खानेकुरा बनाएर खाने चलन चलेको हो । छोरीहरू घरमा हरेक किसिमको काममा ब्यस्त हुने भएकोले माइतमा बोलाउने चलन छ । साथै दर खाने दिन मिठो खानेकुरा तथा परिकार बनाई सबै परिवारका साथै छरछिमेकसँग बसेर खाने चलन भयो । यसरी साथीहरूसँग भेटघाट गराई दुःख-सुखका कुराकानी गर्दै नाच्दै गाउँदै रमाइलो गर्ने पर्वको रूपमा विकास हुँदै गयो ।
नेपाली समाजमा प्राचीन कालदेखि नै तीजलाई महत्वपूर्ण पर्वको रूपमा लिने गरेको पाइन्छ । विवाह भएर टाढा पुगेकी छोरी, चेली, भान्जीहरूलाई घरमै माइतीका तर्फबाट लिन जाने प्रचनल अहिले पनि छ । माइतमा एकसाथ भेला हुने, रमाइलो भेटघाटबीच मिठो एवं स्वादिष्ट दर खाने ब्रत बसी सामुहिकरूपमा पुजा गर्ने र नाचगानका माध्यमबाट आफ्ना दुःख-सुखका पिरमर्का व्यक्त गर्ने अवसर तीजले जुराउँछ । यो पर्वले पति-पत्नीबीचको सम्बन्ध अझ बलियो र गाढा बनाउने विश्वास गरिन्छ । घरको सासु, बुहारी र नन्द भाउजुबीचको सम्बन्ध राम्रो हुने जस्ता अनेकौँ प्रेरणाहरू तीज पर्वबाट प्राप्त गर्न सकिन्छ । तीजको दिन महिलाहरूले लगाउने रातो पहिरन सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रङ्गले महिलाहरूलाई एक किसिमको शक्ति प्रदान गर्ने विश्वास छ । पोतेले शान्ति प्राप्त गर्दछ भने रातो टीकालाई शौभाग्यको प्रतीकको रूपमा लिइन्छ ।
विवाह भएर टाढा पुगेकी छोरी, चेली, भान्जीहरूलाई घरमै माइतीका तर्फबाट लिन जाने प्रचनल अहिले पनि छ । माइतमा एकसाथ भेला हुने, रमाइलो भेटघाटबीच मिठो एवं स्वादिष्ट दर खाने ब्रत बसी सामुहिकरूपमा पुजा गर्ने र नाचगानका माध्यमबाट आफ्ना दुःख-सुखका पिरमर्का व्यक्त गर्ने अवसर तीजले जुराउँछ । यो पर्वले पति-पत्नीबीचको सम्बन्ध अझ बलियो र गाढा बनाउने विश्वास गरिन्छ ।
धर्ममा विश्वास गरेर अनुशासनमा चल्नुका बाबजुद हाम्रो पितृसतात्मक समाजले महिलाको स्थान तल देखाएको छ । समाज परिवर्तनशील छ । हामी पहिलेको जस्ता समाजमा छैनौँ । खानपानमा परिवर्तन आएको छ । रहनसहनमा परिवर्तन आएको छ । इन्टरनेटको सुविधाले गर्दा संसारका मानिसहरूको गतिविधि हेर्न सकिन्छ । उनीहरूको नक्कल गर्न सकिन्छ । यस्तो अवस्थामा चाडपर्वमा फेरबदल हुनु स्वाभाविक हो । तीजको दर खाने चलनमा परिवर्तन भएको छ । संघ-संस्था कार्यालय, समुह, टोलबासीहरूले सामुहिक रूपमा तीजको दर खाने चलन चलेको छ । यो सकारात्मक पक्ष हो । घर साँघुरो भएर बाहिर नजिकै खुल्ला ठाउँ नभएर पार्टी प्यालेस र होटलहरूमा जान बाध्यता भएको छ । एउटै टोलमा वा अफिसमा पनि एक महिलाले अर्को महिलालाई नचिन्ने परिपाटी हुर्कंदै गएको समाजमा सबै ब्यस्त महिलाहरू एक आपसमा दुःख-सुख साटासाट गर्दा त्यसले आपसी एकता कायम गर्नु समेत मद्धत पुऱ्याउँछ ।
शहर बजारका शिक्षित धनाढ्य र सभ्य आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय र संस्कारयुक्त बनाउन पहल गरिरहेका छन् । ती शिक्षित धनाढ्य महिलाहरू पनि पारिवारिक नाता सम्बन्धमा कसैको बुहारी, देउरानी, जेठानी, आमाजुहरू हुन् । उनीहरूका पनि आफ्नै प्रकारका पारिवारिक समस्या र जटिलताहरू हुन्छन् । अरुसँग दुःख साटासाट गर्न सकिरहेका हुँदैनन् । घरको काम, अफिसको काम, बच्चाको कामले गर्दा एकोहोरो भइसकेका हुन्छन् । कतिपय महिलाहरू परिवारिक समस्या र तनावले मानसिक रोगको सिकार भएका छन् । उनीहरू एकदिन भएपनि आफ्ना साथीहरूसँग दिन बिताएर रमाइलो गरेर दुःख साटासाट गर्न चाहन्छन् । ब्यस्तताको बावजुद दर खाने चलनलाई जोगाइरहेका छन् । दर खाने र तीजको दिनमा घरको कामकाज छोडेर स्वतन्त्र तथा हर्षित भएर निस्कन्छन् । उनीहरूको खुसीमा आफ्नो अधिकार तथा वेदनाको कुरा समेटिएका हुन्छन् । यसले महिलालाई सशक्त बनाउँछ । यो समाज विकाशको सकारात्मक पक्ष हो ।
महिलाको हरेक क्रियाकलापमा औंला उठाउने पितृसतात्मक समाजको चरित्र देखिन्छ । जन्मदिन मनाउने शैलीमा परिवर्तन भएको छ । पहिला मन्दिर गएर मनाउँथे भने अहिले पश्चिमी शैलीमा केक काटेर मनाउने चलन बढ्दो क्रममा छ । तर, यसमा कसैको आपत्ति देखिएको छैन । बाबुको, नानीको, आमाको, बुबाको जन्मदिनमा केक काट्न सहज मान्ने समाजमा तीजको दर खान पार्टी प्यालेसमा हिँडेकी महिलालाई हेरेर ‘यो तीज कहिले सकिएला जस्तो भइसक्यो’ भन्ने जस्ता टिप्पणी घर-परिवारका सदस्यले नै गर्ने गरेका छन् । नारीहरूले परम्परागत रूपमा चलिआएको दर खाने र तीजमा ब्रत बस्ने प्रचलनलाई निरन्तरता दिइराखेका छन् । रातो साडी, चुरा, पोतेको पहिरनमा सभ्य भएर पुजा गरेर दिनभर भोको बसी यो पर्व मनाइँदै आएको देखिन्छ ।
तर, विगत केही वर्षयता आधुनिकताको नाममा परिवर्तनको बहानामा अति सस्तो लोकप्रियता र सजिलो आय आर्जनको लोभमा तीजजस्तो पवित्र चाडलाई विकृति र उच्छृङ्खलताको रूपमा मनाएका दृश्यहरू समेत सामाजिक सञ्जालमा देखिन्छ । पोइला जान पाम, बीच-बीचमा र डिस्कोमा तीज जस्ता गीतहरूले विकृति फैलाउनुको साथै अत्याधिक मदिरा सेवन र गरगहनाको होडबाजीले कुनै वर्गका महिलाले समाजलाई असभ्य समाजमा धकेल्न प्रयास गरिरहेका आरोपसमेत लाग्ने गरेको छ ।
निष्कर्षमा, तीज पर्वले सिङ्गो समाजलाई जोड्न भूमिका खेलेको पाइन्छ । यो सिङ्गो नेपाली समाजलाई जुरुक्क उठाउने र राष्ट्रिय एकताको सन्देश दिन सक्ने माध्यम हुनसक्छ । सामाजिक सद्भाव र मेलमिलाप एवम् समाजका विकृति, विसंगतिका साथै सामाजिक अधिकारलाई उजागर गर्ने पर्वको रूपमा यो चाडको निरन्तरता आवश्यक छ ।
प्रतिक्रिया