नेपाली कांग्रेसका नेता, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीको संयोजकत्वमा क्रियाशील नेपाली कांग्रेस सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानले नेपाललाई धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन राष्ट्र (हिन्दू) घोषणा गर्न माग गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । जारी केन्द्रीय कार्यसमितिको बैठककै सन्दर्भ पारेर महाअभियानका संयोजक एवं केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा गएको कांग्रेसका नेताहरुको टोलीले सभापति देउवालाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा संविधानसभाबाट संविधान घोषणा गर्दा व्यवस्था गरिएको धर्मनिरपेक्ष राष्ट्रको प्रावधानलाई खारेज गरी धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन राष्ट्र (हिन्दू) घोषणा गर्न माग गरिएको छ भने पार्टीभित्र र बाहिरबाट दबाब सिर्जना गर्न अभियान सञ्चालन गरेको गौरवपूर्ण ऐतिहासिक तथ्य स्मरण गराइएको छ ।
ज्ञापन पत्रमा नेपाली कांग्रेसको नवलपरासीको त्रिवेणी धाममा बसेको महासमिति बैठक, पाँच वर्षपहिले काठमाडौंमा सम्पन्न महासमिति बैठकमा व्यापक रूपमा सनातन हिन्दूराष्ट्रको पक्षमा आवाज उठेको, २०८० फागुन ७-१० मा गोदावरी ललितपुरमा सम्पन्न पछिल्लो महासमिति बैठकमा उपस्थित महासमिति सदस्यहरूको बहुमतले वैदिक सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा हस्ताक्षरसहित गरेको मागलाई पनि स्मरण गराइएको छ ।
वैदिक सनातन हिन्दूराष्ट्र स्थापनाको एजेण्डालाई संविधान संशोधनको एजेण्डा बनाउन माग गरिएको उक्त ज्ञापनपत्र यस्तो छ-
नेपाली कांग्रेस सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान
केन्द्रीय समन्वय समिति, २०७१, काठमाडौं ।
श्रीमान सभापतिज्यू
कांग्रेस, केन्द्रीय कार्यसमिति बीपी स्मृति भवन, सानेपा, ललितपुर, नेपाल ।
विषय : धामिक स्वतन्त्रतासहितको वैदिक सनातन (हिन्दू) राष्ट्र नेपाल कायम गर्ने विषयमा ।
महोदय,
उपरोक्त विषयमा नेपाली भूमिमा पादुर्भाव भएको बौद्ध एवम् किरात धर्म, दर्शन, संस्कृति, वोन, जैन, सिख आदि सहित ९४ प्रतिशत भन्दा बढी वैदिक सनातन हिन्दू धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने नेपाली जनताको भावनालाई पुरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल् पुग्ने गरी ११ बैशाख २०६३ मा पुनःस्थापित संसदको ४ जेष्ठ २०६३ को घोषणा र अन्तरिम संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको विषयप्रति गम्भीर बन्दै नेपाली काँग्रेसका कार्यकर्ताहरूको एउटा ठुलो समुहले २०७१ साल कार्तिक २० गते काठमाडौंमा नेपाली कांग्रेस, वैदिक सनातन (हिन्दू) राष्ट्र स्थापना महाअभियान गठन गरी संविधान सभाबाट संविधान घोषणा गर्दा धर्मनिरपेक्ष राष्ट्रको प्रावधानलाई खारेज गरी धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन (हिन्दू) राष्ट्र घोषणा गर्न माग गर्दै पार्टीभित्र र बाहिरबाट दबाब सिर्जना गर्न अभियान सञ्चालन गरेको गौरवपूर्ण ऐतिहासिक तथ्यको यो अवसरमा स्मरण गराउँदछु ।
नेपाली कांग्रेसको नवलपरासी जिल्लाको त्रिवेणी धाममा बसेको महासमिति वैठक, पाँच वर्ष पहिले काठमाडौंमा सम्पन्न महासमिति बैठकमा व्यापक रूपमा सनातन हिन्दूराष्ट्रको पक्षमा आवाज उठेको, २०८० फागुन ७–१० मा गोदावरी ललितपुरमा सम्पन्न पछिल्लो महासमिति बैठकमा उपस्थित महासमिति सदस्यहरूको बहुमतले वैदिक सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा हस्ताक्षरसहित गरेको मागलाई महासमिति बैठक स्थल गोदावरीमा बसेको पदाधिकारीहरूको बैठकले नेपाली कांग्रेस, सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको तर्फबाट यसका संयोजक केन्द्रीय सदस्य माननीय शंकर भण्डारीलाई महासमिति बैठकको पूर्ण-सत्रमा महाअभियानको बहुमतको हस्ताक्षरसहितको मागलाई प्रस्तुत गर्न दिने निर्णय गरे बमोजिम संयोजक शंकर भण्डारीले महासमिति बैठकको पूर्ण-सत्रमा महासमितिका बहुमत सदस्यले हिन्दूराष्ट्रको पक्षमा गरेको हस्ताक्षरसहितको मागलाई निर्णयार्थ पेश गरिएको तथ्य तर्फ सभापतिज्यु मार्फत जारी केन्द्रीय कार्यसमिति बैठकको ध्यान आकृष्ट गर्न चाहन्छु ।
महासमिति बैठकले महासमिति बैठकमा समूहगत रूपमा भएका छलफलमा महासमिति सदस्यहरूले दिएको सुझावलाई समेटेर पछि बस्ने नेपाली कांग्रेस, केन्द्रीय कार्यसमिति बैठकले राजनीतिक, आर्थिक लगायत सबै प्रस्तावलाई अन्तिम रूप दिने भन्ने निर्णय गरेबमोजिम जारी केन्द्रीय कार्यसमिति बैठकमा व्यापक छलफल भैरहेको अवस्थामा आम नेपाली जनताको व्यापक सरोकारको विषय बनेको, महासमिति बैठकको बन्द सत्रको समूहगत छलफलमा व्यापक रूपमा हिन्दूराष्ट्रको पक्षमा मत प्रकट भएको, महासमिति बैठकमा बहुमत महासमिति सदस्यहरूको हस्ताक्षरसहित हिन्दूराष्ट्र पक्षमा अभिव्यक्त अभिमतलाई सम्वोधन गरी जारी केन्द्रीय कार्यसमिति बैठकले नेपाललाई वैदिक हिन्दूराष्ट्र नेपाल स्थापनाको विषयलाई गम्भीरतापूर्वक ग्रहण गर्दै यसलाई संविधान संशोधनको एजेण्डा बनाउन नेपाली कांग्रेस अग्रसर वनोस भन्ने माग गर्दै सभापतिज्यू मार्फत नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा यो विशेष प्रस्ताव पेश गरेको छु । यो राष्ट्रिय महत्वको र व्यापक जनसरोकारको विषयमा पार्टीले समय छँदै उपयुक्त निर्णय लिन सकेन यसले भविष्यमा पार्टीलाई पुग्नसक्ने क्षतिप्रति अहिले नै गहिरो चासो र चिन्ता लिन पार्टी समग्र कार्यकताहरूलाई पनि विशेष आग्रह गर्दछु । जय नेपाल !
मा. शंकर भण्डारी संयोजक
प्रतिक्रिया