झापामा मानव-हात्ती द्वन्द्व बढ्दै

झापामा मानव-हात्ती द्वन्द्व बढ्दै


  • द्रोण अधिकारी, भद्रपुर (झापा)

झापा जिल्ला मानव-हात्ती द्वन्द्वका कारण निकै चर्चामा रहन थालेको छ । हरेक वर्ष हात्तीका कारण मानिसको तथा मानिसका कारण हात्तीको ज्यान जाने अवस्था वृद्धि भइरहेको छ । डिभिजन वन कार्यालय झापाको विवरण हेर्दा झापामा मात्र मानव-हात्तीबीचको द्वन्द्व तथा हात्तीको आक्रमणमा परी २०६८ सालयता साठी नेपाली र आठ विदेशी नागरिकले ज्यान गुमाए भने २१ वटा हात्तीसमेतले ज्यान गुमाउनुपरेको छ ।

तर, यतिका धेरै हात्तीलाई मानिसले मारिरहँदा अहिलेसम्म कसैमाथि पनि कार्वाही हुन सकेको छैन । मानव-हात्तीबीचको द्वन्द्वमा अपराध बढिरहँदासमेत कार्वाही गर्न नसक्नु वन्यजन्तुको संरक्षणप्रति प्रहरी प्रशासनको लाचारीपन प्रष्ट भएको छ । हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई राज्यले नौ करोड रुपैयाँ राहत वितरण गरिसकेको छ ।

मृतकको अवस्था अध्ययन गर्दा हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेमा ज्येष्ठ नागरिक बढी संख्यामा रहेको डिभिजन वन कार्यालय झापाको तथ्याङ्कले देखाउँछ । दैनिक मजदुरी गरी खाने मानिसहरूलाई नै हात्तीले निशानामा पार्ने गरेको समेत देखिन्छ । हात्ती आक्रमणमा पर्नेहरू चिया बगानमा पत्ती टिप्दा, खेतमा पानी लगाउँदै गर्दा र घाँस काट्दै गर्दा हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाको विवरणले देखाउँछ । अर्थात्, कृषिकर्ममा रमाउने श्रमजीवी नागरिक नै हात्तीको आक्रमणमा परिरहेका छन् ।

हात्तीले बिहान, बेलुकाको समयमा आक्रमण गरेर मान्छेलाई मार्ने गरेको घटना मुचुल्का विवरणले देखाउँछ । विगतमा भारतबाट दैनिक हुल बाँधेर आउने हात्तीमध्ये १३ वटा यहीको जङ्गलमा रैथाने भएर बसेका थिए । यस हुलको संख्या बढेर ३२ वटा जति भइसकेका छन् । यिनीहरू पनि विभिन्न झुण्ड बनाएर बाहुनडाँगीदेखि कचनकवलसम्मका कृषि उर्वर क्षेत्र आसपास चरिचरण गरिरहेका छन् ।

झापामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । हात्तीको आक्रमणबाट हुने गरेको मानवीय क्षति रोकिएको छैन भने हात्ती मारिने क्रमसमेत रोकिन सकेको छैन । हात्तीले आक्रमक भएर मानिसलाई कुल्चेर मार्ने गरेको छ भने मानिसले सुरक्षाका लागि लगाएको विद्युतीय तारबारमा परेर धेरैजसो हात्तीको ज्यान जाने गरेको पाइन्छ ।

झापामा मानव हात्ती द्वन्द्वका क्रममा मानिस र हात्ती मारिने क्रम रोकिन सकेको छैन । यकिन कागजी विवरणले सबै खुलाउन नसके पनि झापामा वि सं २०४१ सालबाट हात्ती र मान्छे बीच प्रत्यक्ष द्वन्द्व सुरू भएको स्थानीय स्तरका अग्रज व्यक्तित्वहरू बताउने गर्दछन् । पछिल्लो समय हात्ती मृत भेटिँदा अधिकांश मृतहात्तीका पुच्छर र दाह्रा निकालेर लैजाने गरेको देखिने गरेको छ । प्रायः हात्तीलाई तस्करले गोली हानेर मारेको हुन सक्ने डिभिजन वन कार्यालयले निष्कर्ष निकाल्ने गरेको छ, तर कारवहीको दायरामा कोही पर्न सकेका छैनन् ।

संरक्षित सूचीमा रहेको जनावर हरेक वर्ष जस्तो मारिँदा पनि वन कार्यालय झापा गम्भीर हुन सकेको छैन । वि सं २०६२ देखि हालसम्म झापामा २१ वटा हात्ती मारिएको विवरण भने डिभिजन झापामा भेटिन्छ तर मरेका हात्तीको पोस्टमार्टम रिपोर्ट भने कार्यालयले सार्वजनिक गर्ने गरेको छैन ।

नेपालमा रहेको कानुनी व्यवस्था अनुसार, कुनै हात्ती कुनै कारणले मर्न गएमा सम्बन्धित क्षेत्रको वन अधिकृतले आवश्यक जाँच–पड्ताल गरी वा गर्न लगाई मृतकको अन्त्येष्टि कर्म गर्न आदेश दिइनुपर्ने छ । तर, झापामा कुनै जाँचटोली नबनाइ मुचुल्का उठाएर खाल्डोमा गाड्ने चलन छ  । वन कार्यालय झापाले अहिलेसम्म यसरी गम्भीर रूपले कुनै अनुसन्धान गरेको सचेत व्यक्ति कसैलाई थाहा छैन ।

वन कार्यालय झापाको वन्यजन्तु क्षति विवरण पुस्तिकामा हरिण, चित्तल, आदि वन्यजन्तु मारेको आरोपमा धेरैलाई मुद्दा चलाइएको देखिए पनि हात्ती मारेको आरोपमा कसैमाथि मुद्दा चलाइएको देखिँदैन । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐनका अनुसार हात्तीलगायत दुई दर्जनबढी जंगली जनावर संरक्षित सूचीमा छन् । त्यस्ता जनवार बस्तीआसपास मृत फेला परे हत्यामा मानिसको संलग्नता हुने आशंकामा अनुसन्धान गर्नुपर्ने हुन्छ तर झापामा हात्ती मृत्यु प्रकरणमा खोजतलास गरिने परम्परा नै नपाइनु आश्चर्यजनक अवस्था मान्नुपर्ने हुन्छ । यी वन्यजन्तु गैरकानुनी रूपमा मारेमा ३ वर्षदेखि १० वर्ष र अझ बढी कैद र जरिवाना हुने प्रावधान छ ।

वन कार्यालयको तथ्यांकलाई आधार मान्ने हो भने हरेक वर्ष सरदर एउटा हात्ती मारिन्छ  । वर्षमा एउटा हात्ती मारिनु भनेको सामान्य कुरा होइन । झापामा प्रत्यक्ष रूपमा वि.सं. २०४१ सालदेखि मानव–हात्ती द्वन्द्व जारी छ । यही द्वन्द्वको चपेटामा हात्ती र मान्छे दुवै पक्षको ज्यान जाने गरेको छ । मान्छे र हात्ती दुवैको बर्सेनि मृत्यु भइरहेको भए पनि दुवै पक्षलाई कसरी जोगाउने भन्ने विषयमा सरकार समेत गम्भीर हुन सकेको छैन ।

उत्तरी झापामा पछिल्लो सात वर्षयता भने विद्युतीय घेराबेराले हात्ती आउने क्रम रोकिएको अनुभव गरिरहेका स्थानीयमा पछिल्लो केही समययता फेरि भारतबाट हात्तीको बथान आउने क्रम सुरु भइसकेको होकि भन्ने त्रास बढेको छ । निर्वाचनका बेला चुनावी मसला बनाएर जीत निकाल्ने नेताहरूले झापामा मानव–हात्ती द्वन्द्व घटाउन ठोस पहल समेत गर्न नसकेको परिणाम मानिस र हात्ती मारिने क्रम नरोकिएको हो ।

पृथ्वीको पर्यावरण सन्तुलनका लागि मानिस जति महत्वपूर्ण छ त्यति नै हात्तीको पनि आवश्यकता छ । यो पृथ्वी सबैको साझा घर हो भन्ने भावना विकास नभएसम्म मानिसका कारण हात्तीले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुने छैन । यसैले नियामकको भूमिका खेल्ने सरकारी मान्छेहरूले हात्ती मार्ने हत्याराको पनि खोजी गर्नु पर्दछ अनि मात्र पृथ्वीको ठूलो स्थल प्राणी हात्ती संरक्षित हुन्छ । नीतिगत रूपमा हात्ती र मानिस बचाउने गरी सरकारी पक्ष लाग्ने हो भने झापाको मानव-हात्ती द्वन्द्व घटेर जाने थियो । खासगरी जंगल अतिक्रमण गर्ने मानवीय प्रवृत्ति पूर्ण रूपमा रोकेर जंगल भित्र हात्तीको आहारा व्यवस्थापन हुने वातावरण बनाउने हो भने मानिस र हात्ती दुवै पक्षको ज्यान जाने थिएन ।

भारतसित जोडिएको झापाको उत्तरी नाका बाहुनडाँगी हुँदै भारतबाट नेपालमा हात्ती प्रवेश गर्ने मुख्य गौंडा रहने गरेको छ, जहाँबाट दैनिकजसो दर्जनौंको संख्यामा हात्तीहरु नेपाल पस्ने गर्छन् । सर्वसाधारणलाई बस्तीमा हात्ती प्रवेश गरेको जनाउ दिने डिजिटल प्रविधिको प्रयोगले यो समस्या केही हदसम्म कम हुने विश्वास लिएर नेपालमै पहिलो पटक हात्ती आगमन सूचना प्रविधि केन्द्र झापाको मेचीनगरमा २०८१ असार २१ गतेबाट सञ्चालनमा ल्याइएको छ । एपमार्फत हात्ती आएको संकेत कसैले गरेमा जडित साइरन बज्नेछ र सर्वसाधारणले हात्ती आएको खबर पाउने छन् । हात्तीको आक्रमण वा षतिबाट बच्न साइरनले सचेतना प्रदान गर्ने विश्वास राखिएको छ ।

झापामा रहेका रैथाने हात्तीको संख्या तीन गुणाले बृद्धि भएको वन डिभिजन झापाको तथ्याङ्कले देखाएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा रैथाने हात्तीको संख्या झण्डै तेब्बर बृद्धि भएको डिभिजन वन कार्यालय झापाकाको विवरणले पुष्टि गरेको हो । डिभिजन वन झापाका प्रमुख मेघराज राईका अनुसार २०७५ सालसम्म १०-१२ वटा संख्यामा रैथाने हात्ती रहेकोमा झापामा हाल ३० वटाभन्दा धेरै हात्ती देखिएका छन् । भारतबाट आहाराको खोजीमा नेपाल प्रवेश गरेका हात्ती यतै बस्न थालेपछि रैथाने हात्तीको संख्या बढ्दै गएको प्रमुख राईको भनाइ छ ।

गत वर्ष सुक्ष्म रूपमा अध्ययन गर्दा रैथाने हात्तीको संख्या वृद्धि भएको पाइएको बताउँदै उनले पहिला निश्चित क्षेत्रमा मात्र देखिने गरेका हात्ती अचेल जिल्लाभर देखिन थालेका छन् । यिनीहरू पनि विभिन्न झुण्ड बनाएर बाहुनडाँगीदेखि कचनकवलसम्मका कृषि उर्वर क्षेत्र आसपास चरिचरण गरिरहेका छन् ।

झापामा धान, मकै लगायत बालीको व्यवसायिक खेती बढेसँगै हात्तीबाट जनधनको क्षति पनि बढ्दै गएको उनको भनाइ छ । यसअघि कहिलै नपुग्ने ठाउँमा समेत हात्ती पुगिरहेको बताउँदै आहाराको खोजीका क्रममा हात्तीको उपद्रो बढेको हो ।

हात्तीले प्रयोग गर्ने जैविक मार्गमा पुल, सडक लगायतका संरचना निर्माण भएपछि हात्तीले बाटो परिवर्तन गर्दा बढी क्षति हुने गरेको छ । हात्तीले बाटो परिवर्तन गर्ने क्रममा गाउँबस्ती प्रवेश गर्दा जनधनको बढी क्षति हुने गरेको कार्यालय प्रमुख राईको भनाइ छ ।

मानव–हात्ती द्वन्द्व नियन्त्रणका लागि योजनाविद्हरुले विशेष गुरुयोजना बनाउनुपर्ने भन्दै मानव–हात्ती सहअस्तित्वका लागि चरणबद्ध तरिकाले अघि बढ्नुपर्ने राईको सुझाव छ । उनले हात्ती नियन्त्रणका लागि महत्वपूर्ण गुरुयोजना छैन । तीनै तहका सरकारले यस विषयमा विशेष ध्यान दिन जरूरी रहेको औंल्याएका छन् ।

हात्ती समस्या न्यूनीकरणका लागि प्रदेशभरिको योजना निर्माण भइरहेको सुनाउँदै उनले हात्ती प्रभावित क्षेत्रको पहिचान गरी स्थानीयबासीको सामूहिक बिमा, बाली बिमा, भौतिक संरचनाको बिमा गर्न सकिए मानिस ढुक्क भएर बाँच्ने वातावरण हुने प्रष्ट पारेका छन् ।

स्थायी रूपमा झापामा बस्ने हात्तीले छावा जन्माउने–हुर्काउने कार्य गरिरहेकाले जिल्लामा रैथाने हात्तीको संख्या बृद्धि भएको कार्यालयका वन अधिकृत देवेन्द्र उप्रेतीको भनाइ छ । गत वर्ष तत्कालीन मुख्यमन्त्री केदार कार्कीले सञ्चालन गरेको हात्ती प्रभावित क्षेत्रको पदयात्राका क्रममा स्थानीयबासीले हात्तीले बच्चा जन्माएको, छावासहित हिँडिरहेको बताएको जानकारी दिए ।

झापामा आव २०६७/०६८ देखि आव २०८०/०८१ सम्म ६८ जना मानिस र २१ वटा हात्तीको मृत्यु भएको छ । मृत्यु भएका मानिसमध्ये ८ जना गैरनेपाली रहेका छन् । सो अवधिमा चार हजार पाँच सय हात्तीपीडितलाई रू नौ करोड राहत वितरण गरिएको कार्यालयले जनाएको छ ।

जिल्लामा रहेका रैथाने हात्तीमध्ये १० वटाको नामाकरण समेत गरिएको छ । जिल्लामा रहेका रैथाने हात्तीको सुनौलो दाँते जग, घुमन्ते युव गज, कानदुले गज, घुमन्ते राज गज, तालबेताल गज, जलथले गज, ठुटे अञ्जु गज, सेते गज, एकदाह्रे सानी गज र रंगे गज नामाकरण गरिएको छ ।