‘विश्व सञ्जय बज्जिका पाण्डुलिपि पुरस्कार-२०२६’ साहित्यकार अजय कुमार झालाई प्रदान

‘विश्व सञ्जय बज्जिका पाण्डुलिपि पुरस्कार-२०२६’ साहित्यकार अजय कुमार झालाई प्रदान


  • आरके श्रीवास्तव, रौतहट

विश्व सञ्जय बज्जिका साहित्य कोष अक्षय कोषअन्तर्गत प्रदान गरिने विश्व सञ्जय बज्जिका पाण्डुलिपि पुरस्कार २०२६ महोत्तरीका साहित्यकार अजय कुमार झालाई प्रदान गरिएको छ । रौतहटको गरुडा नगरपालिका-५ स्थित गोपाल सेवा समिति भवन, महम्मदपुरमा आयोजित समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो ।

विश्व सञ्जय बज्जिका साहित्य कोषको आयोजनामा तथा बज्जिका साहित्य संगम, रौतहटको व्यवस्थापनमा सम्पन्न कार्यक्रमका पुरस्कारका संस्थापक समाजसेवी महानन्द झारहेका छन् ।

कार्यक्रमको अध्यक्षता बज्जिका साहित्य संगम, रौतहटका अध्यक्ष किसुनदयाल यादव ‘श्रीकृष्ण’ले गरेका थिए भने प्रमुख अतिथिका रूपमा बज्जिका साहित्य समाज, सर्लाहीका अध्यक्ष रामचन्द्र महतोको उपस्थिति रहेको थियो ।

अध्यक्ष किसुनदयाल यादव ‘श्रीकृष्ण’ले बज्जिका भाषा र साहित्यको संरक्षण तथा प्रवद्र्धनका लागि सबै स्रष्टा र सरोकारवालाहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले स्रष्टाहरूलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

प्रमुख अतिथि रामचन्द्र महतोले बज्जिका भाषाको मौलिकता जोगाउँदै साहित्य सिर्जनालाई अझ सशक्त बनाउन आवश्यक रहेको बताउँदै पुरस्कार तथा सम्मानले स्रष्टाहरूलाई सिर्जनशील यात्रामा प्रेरणा दिने धारणा राखे ।

कार्यक्रम सञ्चालन गर्दै साहित्यकार सञ्जय साह मित्रले बज्जिका भाषा, साहित्य र संस्कृतिको विकासका लागि सबैको साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि तथा साहित्यकारप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा नेपाल र भारतका विशिष्ट अतिथिहरूलाई अन्तर्राष्ट्रिय बज्जिका दूत सम्मान २०२६ प्रदान गरी सम्मानित गरिएको थियो ।

यस अवसरमा पुरस्कार विजेता साहित्यकार अजय कुमार झाद्वारा लिखित ‘दृष्टिकोण’कृतिको लोकार्पण पनि गरिएको थियो ।

समारोहमा प्रतिक दैनिकका प्रकाशक तथा सम्पादक जगदीश शर्मा, साहित्यकार विश्वराज अधिकारी, मणिभूषण अकेला, शिवचन्द्र साह, विन्दा साहनीलगायत बज्जिका साहित्यकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूका लागि बिबिसी कम्पनीद्वारा उत्पादित बज्जिका ठेकुवाको खाजा व्यवस्थापन गरिएको थियो ।

सोही अवसरमा बजिकान्चल मिडिया प्रा।लि।का सञ्चालक आरके श्रीवास्तवले बज्जिका पत्रकारिताको प्रवद्र्धन गर्ने उद्देश्यले बज्जिका पत्रकारहरूका लागि छुट्टै पुरस्कार स्थापना गर्ने घोषणा गरेका छन् । उक्त घोषणाको कार्यक्रममा उपस्थित साहित्यकार तथा सञ्चारकर्मीहरूले स्वागत गरेका थिए ।