तपाईंको दृष्टिमा

तपाईंको दृष्टिमा


पुराना अभिनेता तथा चलचित्र निर्देशक कृष्ण मल्ल आज पनि चलचित्र क्षेत्रमा सक्रिय रहनुभएको छ । रंगमञ्चदेखि रेडियो नाटक, टेलिभिजन तथा चलचित्र हरेक विधामा संलग्न मल्ल चलचित्र विकास बोर्डको सदस्यदेखि अध्यक्षसम्म हुनुभयो । लामो समयदेखि कलाकारिता क्षेत्रमा लागिपर्दै आउनुभएका मल्लको भोगाइमा जीवन र जगत् के हो ? घटना र विचार साप्ताहिकको स्तम्भ ‘तपाईंको दृष्टिमा’का लागि कृष्ण मल्ल राजन घिमिरेसँग यसरी प्रस्तुत हुनुभयो ।

० जीवन के हो ?
– एउटा मिसन
० प्रेम के हो ?
– मानसिक लगाव
० सुन्दरता के हो ?
– मोहनी रूप
० मन के हो ?
– भावनाको स्रोत
० भावना के हो ?
– मनको तरङ्ग
० विवाह के हो ?
– स्वच्छन्दताको अन्त्य
० बन्धन के हो ?
– मोहको पासो
० अपमान के हो ?
– अहम्मा ठेस
० इज्जत के हो ?
– व्यक्तित्वको उज्यालोपन
० बेइज्जती के हो ?
– व्यक्तित्वको अँध्यारोपन
० मिलन के हो ?
– सामीप्यता मनको, तनको ।
० विछोड के हो ?
– भौतिक र मानसिक आबद्धताको अन्त्य
० जवानी के हो ?
– जीवनको सुन्दरतम, सक्षम र ऊर्जायुक्त अवस्था
० बालापन के हो ?
– सत्यम्, शिवम् सुन्दरम्
० तृष्णा के हो ?
– लोभको भण्डार
० रिस के हो ?
– दुर्घटनाको कारण
० जोस के हो ?
– ‘लुट’ फिल्म चलेपछि अरू निर्मातामा आएको आँट
० नसा के हो ?
– जति छोड् भने पनि प्रधानमन्त्रीको कुर्सी नछोडेको अवस्था
० यौन के हो ?
– सुन्दर उन्माद
० सन्तुष्टि के हो ?
– पूर्णताको अवस्था
० कर्तव्य के हो ?
– ६०१ सभासद्लाई सोध्नुपर्छ
० विश्वास के हो ?
– चार वर्षअघि जनताले दिएको मत
० असल के हो ?
– डा. बाबुराम अर्थमन्त्री हुनु
० खराब के हो ?
– डा. बाबुराम प्रधानमन्त्री हुनु
० सबैभन्दा ठूलो धोका के हो ?
– दुई वर्षको संविधानसभाले चार वर्ष हुँदा पनि संविधान नबनाउनु
० दु:ख के हो ?
– नेपालमा बस्नेले पनि यो कुरा सोध्ने हो ?
० सुख के हो ?
– जाँडखाने बहाना
० खुसी के हो ?
– मनको सन्तुष्टि
० आनन्द केमा छ ?
– पारिवारिक शान्ति र सफलतामा
० मित्र को हो ?
– जरुरी पर्दा जसले सहयोग गर्दछ
० शत्रु को हो ?
– आफैंभित्रको रिस, लालच र इष्र्या
० सङ्घर्ष के हो ?
– परीक्षा
० प्राप्ति के हो ?
– अथक् मिहिनेतको परिणाम
० आस्था के हो ?
– बिस्तारै हराउँदै गएको ‘शब्द’
० धर्म के हो ?
– मानवीयता
० नैतिकता के हो ?
– चरित्रको प्रमाणपत्र
० चरित्र के हो ?
– आडम्बरयुक्त व्यक्ति
० बुद्धि के हो ?
– विवेकको अनन्त भण्डार
० सम्झौता के हो ?
– माओवाद र मधेसवादीको संयुक्त सरकार
० सृष्टि के हो ?
– प्रकृतिको नियमित कार्य
० गुरु को हो ?
– व्यक्ति वा परिस्थिति, जसले नयाँ कुरा सिकाउँछ
० राजनीति के हो ?
– राज्य चलाउने नाममा गर्ने ठेकेदारी वा व्यापार
० देश के हो ?
– मुटुभित्र रहने भूगोल
० समाज के हो ?
– एकले अर्कोलाई छिर्के हानेर लडाउनेहरूको जमात
० पद के हो ?
– भविष्य सुधार्ने जागिर
० विकास के हो ?
– आज साइकल, भोलि मोटरसाइकल र पर्सि प्राडो चढ्नु
० व्यापार के हो ?
– इमान÷सामान बेचेर अर्थोपार्जन गर्ने धन्दा
० अनुशासन के हो ?
– असक्त, कोही नहुनेहरूलाई लगाइने सामाजिक नियम