कला-संस्कृतिमाथि प्रहार हुँदा हामी चुपचाप !?

कला-संस्कृतिमाथि प्रहार हुँदा हामी चुपचाप !?


कुनै समय थियो, जस्तोसुकै थिचोमिचो र अव्यवहारिक रुढीवादबाट प्रहार हुँदा पनि ‘मेरो भाग्य नै यस्तै रहेछ, सहनुपर्छ’ भन्दै सहिरहन्थे । तर अहिले समय त्यस्तो छैन । अब त सहने होइन सिधै प्रतिकार गर्नुपर्छ भन्ने चेतना पन्पिएको छ । मेरी हजुरआमा भन्नुहुन्थ्यो- ‘तिम्रो शरीरलाई छोएर कसैले पीडा पुऱ्याउँछ भने त्यसको प्रतिकार गर ! किनकि तिम्रो शरीरमा तिम्रो अधिकार छ । तर, कसैले तिमीलाई शब्दले प्रहार गर्छ भने त्यस्तो कुरालाई सकेसम्म सहनु, किनकि शब्दले गरेको प्रहार चाँडै उसैतर्फ फर्कन्छ ।’ हजुरआमाको यो उपदेश यतिबेला महसूस हुन्छ ।

विस्तारै हाम्रो जीवनशैली परिवर्तन हुने क्रममा हामीले प्रयोग गर्ने सबैजसो कुरामा परिवर्तन आएको छ, व्यक्तिको जीवनयापनमै फरकपन ल्याएको छ । हामी नेपालीले आफ्नो जीवनकालमा अनेक प्रहारहरू देखेका छौँ, भोगेका छौँ । हाम्रा हजुरआमा-जिजुआमाहरूले सहनुभएको एक खालको समयदेखि हालसम्म आइपुग्दा हामी धेरै पटक विभिन्न कुराको प्रहारबाट जोखिममा पऱ्यौँ । सबै कुरामा प्रहार भइरहँदा हाम्रो कला र संस्कृतिमाथि विदेशी प्रचलनको प्रहार नराम्रोसँग परेको छ । तर हामीबीच एउटा बहस या तर्क के पनि छ भने ‘मानिस परिवर्तनशील प्राणी भएकोले उ संधै एकनास रहन सक्दैन, समयक्रमसँगै परिवर्तन हुँदै जान्छ र हुनुपर्छ’ । एक दृष्टिमा यो ठिक पनि र कतिपय कोणबाट बेठिक पनि देखिन्छ । जस्तोकि, खानेकुराको उपभोग या खानपानमा परिवर्तन आउँदा व्यक्ति या परिवारमा मात्र सीमित रहन सक्छ, तर चाडपर्व, रीतिथिति तथा संस्कृति मनाउने तरिकामा परिवर्तन आयो भने त्यो सिङ्गो समाजले देखिरहेको हुन्छ, आफ्नोपनमाथि प्रश्न चिन्ह लाग्छ र, यसले नयाँ बहस जन्माउँछ ।

कुरा गरौँ सङ्घारमै आइपुगेको तीज पर्वको । महिलाले तीजको दर खाने कार्यक्रमका कारण अहिले शहरका साना-ठूला सबैजसो पार्टी प्यालेसहरू ‘बुक्ड’ छन् । एकपछि अर्को महिला समूहहरूले ‘तीजको दर’ कार्यक्रम यस्तै होटल र पार्टी प्यालेसमा गर्ने प्रवृत्तिले संस्कारकै रूप लिइसकेको छ । बढ्दै गएको शहरीकरण र खुम्चिँदै गएको घरको आँगनका कारण स्थानाभावले भनौ या आँगन भएपनि सफा गर्न झन्झट मानेर फराकिलो स्थान खोज्न थालिएको छ । त्यसैले आधुनिक तौरतरिकाका विवाहहरू, बच्चाको अन्नप्रासन लगायत शुभ कार्यहरू पार्टी प्यालेसमै हुने गर्छन् । यति हुँदाहुँदै पितृको तेह्र दिनको काममा पनि क्याटरिङ बोलाएर काम चलाउन थालेको धेरैतिर देखिन्छ । त्यसैगरी, सात समुन्द्र पार रहेका आफन्तजनलाई दशैँको टिकासमेत इन्टरनेटको माध्यमबाट लगाइदिने, बच्चाको न्वारन गरिदिने समेत गरिन्छ । नयाँ-नयाँ प्रविधिहरू भित्रिँदैगर्दा त्यसको प्रयोग गर्ने हुटहुटीको परिणाम हो यो !

हाम्रा हजुरआमाहरूको पालामा रोदन र व्यथाका शब्दले भरिएका हुन्थे तीज ! यो पर्वमा गाउँघरमा महिलाहरू जम्मा भएर मौलिक भाकासहितको गीतको माध्यमबाट आ-आफ्ना पीडा/दुःखेसो पोख्थे । तीज मनाउने तौरतरिका नै भिन्न थियो । तर, अहिले तीज डिस्को, डान्स अनि ह्वीस्की र वाइनको ‘दर’सँग मनाइन्छ । तीजमाथिको पहिलो प्रहार यही नै भयो । हामी आफ्नो संस्कारभन्दा धेरै नै ‘माथि’ उठ्न चाहन्छौँ ! हुन त रक्सी-चुरोट महिला या पुरुष दुवैको लागि हानिकारक हो, तर हाम्रो समाजको सोच यस्तो छ कि महिलाले त्यसको प्रयोग गर्दा लैङ्गिक दृष्टिकोण नकारात्मक जान्छ र, समाजमा गलत छाप छोड्छ ।

धेरै ठाउँमा तीज पूरै आधुनिकतामा मनाउन थालिएको छ । भद्दा प्रकारका गीत र नृत्यले तीजको संस्कृतिलाई लगातार विकृतितर्फ उन्मुख गरिरहेको छ । तीजलाई नै लक्षित गरेर निकालिएका गीतहरू बजारमा खुब चल्छ, युटुबमा पनि ट्रेन्डिङमा परिरहँदा त्यस गीतमाथि प्रतिबन्ध लगाइन्छ । हुन त तीजलाई ‘महिलाको अभिव्यक्ति स्वतन्त्रता’को अवसरको रूपमा पनि हेरिने गरिएको छ, तर अभिव्यक्ति स्वतन्त्रताको तर्क दिएर सुन्न र पचाउन नै नसकिने गीतहरू बजारमा ल्याउनु, त्यस्ता गीत-सङ्गीतमा नृत्य गर्नु र होश नै गुम्नेगरी मादक पदार्थ सेवन गर्नु चहिँ बिल्कुल गलत हो । प्रख्यातिको लागि (भाइरल बन्न) जस्तो पनि गीत गाउन तयार हुने कलाकारहरूले पनि सोच्नुपर्छ कि यस्तो गीत गाएपछि भोलि कति नकारात्मक प्रतिक्रिया ब्यहोर्नुपर्छ भनेर !

हरेक पर्वको धार्मिक पक्षहरू छन् । हाम्रो इतिहास र धर्मलाइ पाखा लगाएर हामी कुनै कामको योजना बनाउन सक्दैनौँ । कुनै शुभकार्य गर्न थाल्यौँ भने पहिला साइत हेर्ने हाम्रो परम्परा तथा संस्कार-संस्कृति हो । कुनै महत्वपूर्ण कार्य कुन समयमा गर्दा ठिक होला या नहोला, हेरेर या हेराएर साइत जुरेपछि बल्ल त्यो कार्यलाई आरम्भ गर्ने तथा पूर्णता दिइने गरिन्छ । हामीकहाँ यो सदियौँदेखि चलिआएको परम्परा हो । हाम्रा सबै परम्परा नराम्रा छैनन् । परम्पराले धानेको देश र नेपालीको अस्तित्व हो । यसमा हाम्रो संस्कार जोडिएको छ । आधुनिकताको नाममा हामी शैलीमा गैसकेका छौँ ।

यसैगरी, आजभोलि नेपाली विवाहमा अस्वाभाविक तवरले मेहन्दी र हल्दीका कार्यक्रमहरू राख्ने गरिन्छ । वास्तवमै यो चलन हाम्रो होइन । जसको हो उसलाई चाहिँ सम्मानपूर्वक गर्न दिनुपर्छ । घरको आँगनमा आगो बालेर गरिने विवाह अहिले स्थानको अभावमा पार्टी प्यालेसलगायत स्थानमा टिनको डिब्बामा आगो बालेर वैवाहिक कार्य सम्पन्न गरिन्छ । त्यसो त विवाह अदालतबाट पनि गरिन्छ । तर अदालतबाट गरिने विवाहलाई विदेश जाने कुरामा ल्याएर जोडिन्छ । विवाहलगायत पर्वहरूमा देखिएको तडकभडकले समाजलाई पूँजीजवादतिर जानुपर्छ भन्ने कुराको बोध गराइरहेको हुन्छ । अब हामी नेपालीको कला-संस्कृति कहाँ छ ? योे कुरा सबै बिर्सिन थालेका छौँ । पुराना पुस्ताले नै अरुको संस्कृतिलाइ आफ्नो झैँ गरी अङ्गीकार गर्न थालेपछि नयाँ पुस्ताले पनि सिक्ने त त्यही नै हो ।

व्यक्तिहरू पश्चिम पलायन हुन थाले भन्दैमा देशको संस्कृति पनि पश्चिम पठाउने हो र ? यो कुरा हामीले बुझ्न जरुरी छ । हामीलाई कुनै विदेशीले ‘विदेशी परम्परा मान’ भनेका छैनन्, हामी स्वयम् नै यस्तो गर्न उद्यत् हुन थालेका छौँ । हाम्रो कला–संस्कृतिमाथि कुनै बाहिरको व्यक्तिले आएर प्रहार गर्नुभन्दा ज्यादा हामी आफैले यसलाई मलजल गर्दैछौँ । पश्चिमी शैलीमा गैरहेको हाम्रा चाडपर्वहरूलाई पूर्वावस्थामा फर्काउनुपर्ने जिम्मेवारी हाम्रो होइन र ?

हाम्रा हरेक पर्वका पछाडि पौराणिक कथा जोडिएको छ । माता पार्वतीले महादेव पति पाउन गरेको ब्रतको कथाले तीज पर्वलाई जोडेको छ । पार्वतीले शिव पति पाउन लामो तपस्या गरेको तर यसो गर्दा पनि शिव पाउन नसकेको गुनासो भगवान् विष्णु (हरि)सँग गर्नुभयो । माता पार्वतीको गुनासोमा सुझाव दिँदै भगवान् विष्णु अर्थात् हरिले एक दिन निर्जल/निराहार रहेर भगवान् शिवको आराधना गर्न सुझाव दिए । माता पार्वतीले हरिको सुझावबमोजिमको ब्रत गरिन् र, सो ब्रत सफल भइ भगवान शिवले दर्शन दिनुभयो । यसरी हरिको सल्लाहले माता पार्वतीले ब्रत गरेको कारण यो पर्वलाई हरितालिका तीज भनेर सम्बोधन गर्ने गरिएको पुराणमा उल्लेख छ । त्यस बेलादेखि भाद्र महिनाको तृतिया तिथीमा तीज पर्व मनाउने गरिन्छ । यस दिन महिलाहरू एक ठाउँमा जम्मा भइ गीत गाउने, नाचगान गर्ने गर्छन् । आफ्ना सुख-दुःखहरू गीतमार्फत पोख्छन् । यसरी वर्षौंदेखि गुम्सिएको पीडालाई बाहिर निकाल्न पाउँदा मन चङ्गा हुने, शरीरमा उर्जा बढेको महसूस हुने, आफ्नो कुरा अरुलाई सुनाउन त पाइयो भन्ने भाव जागृत भइ सन्तोष मिल्ने अवस्था भयो र, बिस्तारै ययो रीति चल्यो । तर विडम्बना ! अहिले आएर त्यो रीति नै कुरीतिमा परिणत हुन थालेको छ ।

गीत-संगीत एक महत्वपूर्ण कला हो । यसलाई उच्च सम्मानको साथ हेर्नुपर्छ । भ्यान्टिलेटरममा राखेको बिरामी पनि सुमधुर गीत-सङ्गीतको धुन सुनेपछि बिस्तारै पूर्व अवस्थामा फर्किन्छ भनिन्छ । सङ्गीत स्वास्थ्यसँग सिधै जोडिने कुरा हो । तर आजभोलि बदलिँदै गएको हाम्रो रीति-प्रवृत्ति, हाम्रो व्यवहारले भोलिको नेपाल कस्तो होला ? यसरी हाम्रो आफ्नोपन कहाँ रहला ? संस्कार-संस्कृति हराएपछि आफैलाई खोज्नुपर्ने अवस्था आउँछ भन्ने हामीले किन बुझ्न सकिरहेका छैनौँ ? तीजको नाममा यतिबेला सार्वजनिक गरिउका कतिपय गीतहरूका कारण हाम्रो संस्कृति नै धमिलिन थालेको महसूस हुन्छ । प्रश्न उठ्न थालेको छ कि हाम्रो जीवनको महत्वपूर्ण पाटो गीत-सङ्गीतलाई यसरी सुन्न र हेर्न नसक्ने किन बनाइरहेका छौँ ? आधुनिकताको नाममा बाह्य प्रभावमा परेर हामी आफ्नै अस्तित्व मेटाउन किन उद्यत् बनिरहेका छौँ ?