रोकिएन मोटरसाइकल चोरिनेक्रम : चोरीमा संलग्न तीन जना पक्राउ

रोकिएन मोटरसाइकल चोरिनेक्रम : चोरीमा संलग्न तीन जना पक्राउ


राजधानी उपत्यकामा मोटरसाइकल र स्कुटर चोरिनेक्रम रोकिने वा न्यूनिकरण गर्न सकिएको छैन । प्रहरीले केहीदिनको अन्तरमा चोरीका सवारी साधन र चोरीमा संलग्नहरुलाई पक्राउ गरिरहेको छ ।

काठमाडौँको चावहिल र स्वयम्भूबाटबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई वुधबार ट्राफिक प्रहरीले नियन्त्रणमा लियो । नुवाकोट घर भएका र हाल काठमाडौंको चावहिल बस्ने २८ वर्षीय सन्तोष फुयाल, मकवानपुर घर भएर हाल स्वयम्भू बस्ने ३० वर्षीय सुर्यबहादुर स्याङ्तानलाई चावहिलबाट र पर्सा घर भएर हाल भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षीय अजय शर्मालाई स्वयम्भूबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

बास्तविक नम्बर बागमती प्रदेश ०२–०४९प ०१९० नम्बरको मोटरसाइकको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०४ प ९०१९ राखि चलाइ रहेको अवस्थामा फुयाललाई ट्राफिक प्रहरीले फेला पारेको थियो । उक्त मोटरसाइकलमा पछाडि सवार स्याङ्तानसमेतलाई अनुसन्धानका लागि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी बास्तविक नम्बर सुदुरपश्चिम प्रदेश ०१–००९प ७८१५ नम्बरको मोटरसाइकललाई नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३७प ७७१५ नम्बर राखेर चलाइरहेको अवस्थामा फेला पारी शर्मालाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

बागमाती प्रदेश ०२–०४९प ०१९० नम्बरको मोटरसाइक झापाको विर्तामोड नगरपालिका ८ घर भइ हाल अनामनगर बस्ने प्रदिप अधिकारीले गत साउन २० गते हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । त्यस्तै सुदुर पश्चिम प्रदेश ०१–००९प ७८१५ नम्बरको मोटरसाइकल हराएको भनि डढेल्धुराको पर्शुराम नगरपालिका ४ घर भइ किर्तिपुर बस्ने डम्बरसिंह पालले पनि खोजतलासको निवेदन दिएका थिए । नियन्त्रणमा आएका फुयाल र स्याङ्तानलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार र शर्मालाई प्रहरी वृत्त किर्तिपुर पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।