नेकपा (एमाले)ले पार्टीको नयाँ वार्षिक कार्ययोजनाको तयार पारेको छ । बिहीबार (१३ भदौ) ललितपुर, च्यासलस्थिति पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले पार्टीको यस आर्थिक वर्षका लागि तयार गरिएको नयाँ वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल सुरु गरिएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकमा सचिवालय सदस्यले मस्यौदामाथि सुझाव दिएका र मस्यौदालाई आगामी बस्ने पोलिटब्युरो बैठकले अन्तिम रुप दिने ज्ञवालीको भनाइ छ । पोलिटब्युरो बैठक यही भदौ १८ र १९ गते केन्द्रीय कार्यालयमा राखिएको छ ।
कार्ययोजनामा प्रचार कार्यलाई थप प्रभावकारी बनाउने, कमिटीलाई बजेट बनाएर कामलाई अगाडि बढाउने, सदस्यता विस्तार गर्ने, नवीकरणको कामलाई प्रभावकारी बनाइने, बाँकी रहेका जिल्ला र पालिका अधिवेशनलाई व्यवस्थित गर्ने कुरा उल्लेख गरिएका छन् ।
पार्टी प्रवेश र जिम्मेवारीविहीन भएका नेता तथा कार्यकर्तालाई तीन महिनाभित्र जिम्मेवारी दिइने कार्ययोजनामा उल्लेख गरिएको उपमहासचिव ज्ञवालीले बताए । हरेक कमिटीले नेता तथा कार्यकर्ताको मूल्याङ्कन गर्ने कुरा समेटिएको छ ।
कार्ययोजनामा केन्द्रमा एउटा स्थायी रुपमा पार्टी स्कुल र प्रदेश तहमा सात वटा स्थायी स्कुल राख्ने उल्लेख छ । सबै पार्टी सदस्यले वर्षको एकपटक अनिवार्य रुपमा पार्टी स्कुलबाट दीक्षित हुनेगरी ढाँचा तयार गरिएको छ ।
बैठकले पार्टी स्थापना ७५ वर्ष पूरा गरेको अवसरमा बाँकी रहेका कुरालाई पनि वार्षिक कार्ययोजनामा समेटिएको छ । पार्टीको इतिहास, आन्दोलनका विभिन्न घटनाको अभिलेख लेख्ने र पुस्तक पार्टीको सेल्टर प्रकाशन गर्नेजस्ता कुरा कार्ययोजनामा समेटिएका छन् । बैठकले पार्टीको आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले पार्टीका पूर्वउपाध्यक्ष सुभाषचन्द्र नेम्वाङको प्रथम स्मृतिमा भदौ २६ गते मनाउने निर्णय गरेको छ ।
लामो समयदेखि अल्झिएको सङ्क्रमणकालीन न्याय टुङ्गिने प्रक्रिया रहेको र यसलाई पार्टीले कोशेढुङगाको रुपमा लिएको उपमहासचिव ज्ञवालीले बताए । अहिलेको सरकारले सरकार सञ्चालन र प्रशासनमा आशाको भरोसा बढाएको र सरकारले अझ गतिका साथ काम अगाडि बढाउनुपर्ने बैठकले निष्कर्ष निकालेको उनको भनाइ छ ।
file photo: rss
प्रतिक्रिया