- विशेष प्रतिनिधि, जापान
ताइफु १० आँधीका कारण जापानभर वर्षा र तिब्र हावाहुरी चलिरहेको छ, जसले विभिन्न स्थानमा पहिरो, बाढी तथा डुबानको समस्या सिर्जना गरिरहेको छ। सो विपदमा परेर अहिलेसम्म चार जनाको मृत्यु भएको छ भने ९४ जना घाइते भएका छन् । त्यसैगरि एक जना बेपत्ता भएको बताइएको छ ।
एनएचकेले विभिन्न प्रसारण स्टेशनहरूमार्फत संकलन गरेको जानकारी अनुसार आइची प्रिफेक्चरको गामागोरी शहरमा पहिरोमा परी ३० देखि ७० वर्ष उमेर समूहका तीनजना महिला र पुरुषको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए । यसका साथै तोकुशिमा प्रिफेक्चरको कामिता-चोमा एउटा घरको दोस्रो तल्लाको छाना खस्दा ८० वर्षका एकजना मानिसको मृत्यु भएको छ।
यामागुची, मिए, खागोसिमा, आइची, सिजुओका तथा ओइता लागायतका स्थानहरुमा गरी कुल ९४ जना घाइते भएको पुष्टि भएको छ ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार ताइफु १० बिस्तारै उत्तरी क्युसुतर्फ सर्दैछ । ताइफुको मार्गबाट निकै टाढा रहेको कान्तो र तोकाइ क्षेत्रमा समेत पछिल्लो २४ घण्टादेखि भारी वर्षा भइरहेको छ।
भारी वर्षाको अतिरिक्त ३१ तारिखसम्म पश्चिमी र पूर्वी जापानमा अत्यन्तै शक्तिशाली हावा जारी रहने अनुमान गरिएको छ । जापान मौसम विज्ञान एजेन्सीले पहिरो, बाढी एवं डुबान जस्ता प्राकृतिक प्रकोपहरुमा कडा सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।
प्रतिक्रिया