✍ द्रोण अधिकारी गुयेली
कवि, लेखक, विश्लेषक, सम्पादक/प्रकाशक तथा पत्रकारको पहिचान बनाएका राजेश ढुंगाना सडक कविता क्रान्तिकाल वि सं २०३६ देखि विद्रोह बोकेर कविता रचना गरिरहेका स्रष्टा हुन् । यस अवधिमा नेपाली राजनीतिले उथलपुथलका दर्जन घटना पार गर्दा पनि ढुंगाना कविता लेखनको ४५वर्षे यौवन पूरा गरेर निरन्तर विद्रोहका भाव ओकलिरहेका छन् । झापा भद्रपुर ८ निवासी कवि ढुंगाना कविता लेख्नकै लागि जन्मिएका व्यक्ति जस्तो आभाष उनका कविताले दिलाउँछन् ।
झापाको भद्रपुरमा २०१९ सालमा जन्मिएका कवि ढुंगाना काव्य रचनामा कोमल हृदय भएका तर विकृतिविरूद्ध प्रहार गर्ने सशक्त सर्जक हुन् । स्वतन्त्रका लागि कठोर आवाज विद्रोहस्वरूप ओकल्ने कवि ढुंगानाको मन भने निरन्तर सिर्जनशील छ । वि.सं. २०८१ बैशाख ६ गते दोश्रो कृतिका रूपमा प्रकाशित भएको मैले खोजेको देश कविता संग्रह राष्ट्रवादी भावसित विद्रोह बोकेर आएको छ । यस संग्रहका कविताले कवि ढुंगानालार्ई राष्ट्रवादी सर्जकका रूपमा उभ्याइदिएको छ ।
कवि ढुंगानाका कविताले राष्ट्रप्रति निःस्वार्थ प्रेम, जीवन जगतमा मान्छेको भूमिका, स्वतन्त्रता, विकृति विसंगतिप्रति प्रहार, आजको राजनीतिमाथि अविश्वास गर्दै विद्रोहको ज्वाला दन्काउने प्रयास गरेका छन् । मानव जीवनमा आशावादी जीवन दृष्टिलाई कलात्मक रूपमा वर्णन गर्न सफल कविका अधिकांश कविताले मान्छेकै बेलिबिस्तार गर्दै देशप्रति माया दर्शाएर शासकीय स्वरूपको विकृतिमाथि चिरफारको प्रयास पनि गरेका छन् । समयअनुसारको आवाज र राजनीतिको अन्धोपना बीचको द्वन्द्व पनि प्रष्ट्याउने इच्छा राखेको पाइन्छ । उनका लामा छोटा गरी ७० वटा कविताले मूल रूपमा देशलाई उभ्याएका भए पनि मान्छेसित जोडिएको राजनीति, प्रेम, शासन शैली जस्ता पक्षलाई मूल भाव बनाएका छन् । उनका कविताहरू फुटकर टुक्राटाक्री देखिए पनि भाव प्रस्तुतिमा कुनै न कुनै रूपमा शक्तिशाली राष्ट्रवादी भावना बन्न सफल देखिन्छन् ।
मैले खोजेको देश कविता संग्रहमा ७० वटा कवितालाई ११८ पृष्ठमा बिटो कस्ने काम भएको छ । कला सर्जक अवि खरेलले नेपालीपन झल्किने आकर्षक आवरण प्रस्तुत गरेका छन् । यस पुस्तकमा हरि अधिकारी र कृष्ण धरावासीको भूमिका, विवश पोख्रेल र प्रमोद प्रधानको कृतिभित्रका कवितामा रहेका विषय वस्तु केन्द्रीत टिप्पणी रहेको छ । भूमिकामा कवि राजेशलाई स्वतन्त्रताप्रेमी, प्रजातन्त्रप्रेमी, राजनीतिकर्मी, पत्रकार र सफल कविका रूपमा परिचय गराउने सार्थक प्रयास गरिएको छ । साना ठूला गरी ७० वटा कविता रहेको यस कृतिले देशको राजनीति विकृत र विसंगत बन्नुमा गोली तथा बारूदको धङधङी रहेको निचोड निकालेको छ । संग्रहित हरेक कविताले एउटा नयाँ भावलाई उराल्ने प्रयास गरेका छन् ।
नेपालमा वि सं २००७ देखि वर्तमानसम्म राजनीतिका तन्त्रैतन्त्रको खात लगाइसक्दा पनि, पुस्तौँ पुस्तासम्म राजनीतिक लडाइँ लडिरहनु परेको आक्रोश भेटिन्छ । देश भ्रष्ट चंखे, चतुरे, तिघ्रे र पाखुरेहरूकै मात्र मस्तीकेन्द्र भइरहेको छ । बाँच्नका लागि नागरिककले देश छोडेर विदेशीको दास बन्नु परेको अवस्थामाथि ब्यंग्य कसिएको छ । मान्छे हुन केही गर्नु पर्छ भन्ने भावना विचारका रूपमा कवितामा आएका छन् ।
हत्या-हिंसाबाट उम्रिएको राजनीतिले देश र जनतालाई सुख, शान्ति र समृद्धिको फल दिन सक्दैन । राजनीतिलाई नागरिकले बेइमानी, ठगी, लुट-झुट र अनैतिकता स्वाभाविक हुने खेलका रूपमा बुझ्नुपर्ने अवस्था छ । देशको हितविपरीतका गतिविधिमाथि कवितामा ब्यंग्यको वाण बजारिएको छ । वि सं २०७० देखि २०८० सालका बीचमा साहित्यिक तथा समचारपत्रका साहित्य अंकमा प्रकाशित कविताहरूले नेपाली मन र नेपालीपनका लागि गाँसिएका अक्षरहरू जोडेर देश, समाज र मानवताको अस्तित्वबोध मूल भावना बनाउने प्रयास गरेका छन् । यस कविता संग्रहले सरल शब्दभित्र प्रभावकारी बिम्ब र उत्कृष्ट काव्यशिल्प प्रयोग गरेको देखिन्छ । मान्छे उन्मुक्त स्वतन्त्रताप्रेमी भएको ठान्ने कवि ढुंगानाले मान्छेभित्र लुकेका अहम र विकृतिविरूद्ध भने खरो प्रहार समेत गरेका छन् ।
‘मैले खोजेको देश’ कवितासंग्रह सुन्दर कलात्मक आवरणले सजिएको छ । आवरणको पृष्ठभूमिमा दृश्यचित्रले नेपालको हिमाल पहाड र तराईको भौगोलिक स्वरूपलाई एकाकार गरेर देखाएको छ । हरेक कविताहरू बिम्ब र कलाले भरिएका कलात्मक छन् । गहन भावसित गाँसिएर उत्कृष्ट अभिव्यक्तिका रूपमा आएका छन् । कविता पढ्दा पाठकले आनन्दानुभूति गर्ने अवसर पाउने छन् । उनका कविताले मन र मस्तिष्कलाई सोचनीय बनाउने छन् । हाम्रो संकुचित समाजमा कतिपय शब्दहरू निर्लज्ज देखिन सक्छन् । त्यो मानव समाजको यथार्थ ऐना हो तर पनि पचाउन सहज छैन । कवि राजेश ढुंगानाका कविता देश दुनिया छोडेर मानवताबाट टाढा भागेका छैनन् । वर्तमान नेपाली राजनीतिमा सत्तामोह र स्वार्थमा लागेका नेताहरूप्रति व्यंग्य र विद्रोहका स्वरहरू उराल्ने प्रयास गरिएको छ । पहिलो कृतिभन्दा कवि ढुंगाना दोस्रो कृतिमा आइपुग्दा बलवान विद्रोहीका रूपमा देखिएका छन् ।
यस कृतिका कविताहरूमा मातृभूमि, राष्ट्रियता, स्वाभिमान र स्वतन्त्रताको वकालतलाई बलियो बनाउने प्रयास गरिएको छ । नेपालको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, शैक्षिक, प्रशासनिक जस्ता पक्षलाई राजनीतिक आवरणमा नियन्त्रण गरिएकोमा प्रतिवादको आक्रोश पोखिएको यस कविता संग्रहले नयाँ युग जन्मिने संकेत समेत छोडेको छ । विद्रोह एक युगमा एक पटक ज्वालामुखी बनेर आउने विश्वास राजनीतिले राखे पनि नेताका कारण राजनीतिमाथि पटक पटक विद्रोहले धावा बोल्नु परेकोमा कवि आक्रोश पोख्दै भन्छन्-
१. युद्ध
झुप्राहरूले
महलका विरूद्ध लड्दैछन्
बन्दुकका विरूद्ध
केवल
हात र आवाजहरूले
लड्नेछन् । (हात र आवजहरू)
२. म विद्रोह बोल्छु
र बारम्बार
तिम्रा विरूद्ध म विद्रोह गर्छु । (ईश्वर नै भए पनि)
माथि उल्लेखित दुई टुक्रा कविताका सारले नै भन्छ कवि राजेश ढुंगाना देश र जनताको भलाइका लागि विद्रोह बोल्ने राष्ट्रवादी कवि हुन् । जसले विचारलाई हतियार बनाएर विध्वंशका बमहरू सधैंका लागि देशका सिमानाबाट फाल्ने हिम्मत कसेका छन् । चेतन र अवचेन मनभित्र देशको माटो साँच्नेहरू साँच्चै राष्ट्रवादी बन्न सक्छन् भन्ने तथ्य राजेश ढुंगानाले फुटकर कवितामार्फत मैले खोजेको देशको रूपमा प्रस्तुत गरेका छन् । नेपाली फुटकर कविता काव्य जगतमा यस कृतिले एउटा बलियो इँटा बनेर आएको छ ।
प्रतिक्रिया