आफ्नै प्रतिबिम्ब

आफ्नै प्रतिबिम्ब


मलाई यसै यसै तिमीसँग भएको हो प्रेम
थाहा छ
प्रतिदानलाई चुनौती दिँदै उम्रेको हो प्रेमको बिरुवा
एकोहोरो तिमीले नै खन्याएपछि सद्भावी रंगहरु
लहरिएँ म तिमीसँग
लठ्ठिएँ म तिमीसँग
बिना कुनै संकोच
बिना कुनै भय
कुनै रोकले नरोकिने
गन्तव्य बिनाको यात्रा तय भयो नि
हेर त
चन्द्र सूर्यको बाटो जस्तै अनन्तसम्मको
निर्बाध सुतेका बालुवाहरु जस्तै असङ्ख्यौं सपनाहरूको
केही आशाको अनि
केही विश्वासको
केही जीवनगीतहरूको योगको
अचम्म छ
मैले त मेरा निम्ति हिडाएकी थिएँ आफूलाई
कोलाहलसँगै भिडाएकी थिएँ
आफूलाई
अत्तालिएको म
रन्थनिएको म
कसो कसो आइपुग्यौ तिमी
र गऱ्यौ साउती
फर्केर हेरेँ
हो त्यहीँ नै भयो भेट
अनि
जीवनसँग
पलायो राग
तिमीसँगै उदय र तिमीसँगै अस्त हुँदै
सकिनेछ यो सबै समयहरु
ऐना अघि उभिएर
आलिङ्गन गर्नपुग्छु
कसैलाई
यो यात्राको मन मिल्ने साथीआफैलाई

आफ्नै प्रतिबिम्बलाई !!