- डिल्ली अम्माई, युरोप प्रतिनिधि
स्विट्जरल्यान्डमा क्यान्सर रोग विशेषज्ञ (बेर्नस्थित युनिभर्सिटी अस्पतालमा रेडिएसन अंकोलोजी विभागमा विशिष्ट विशेषज्ञ) को रुपमा कार्यरत डा. विनयकुमार श्रेष्ठको नेतृत्वमा युरोपका नेपाली स्वास्थ्यकर्मीहरूले ‘सोसाइटी अफ नेप्लिज हेल्थ प्रोफेसनल इन युरोप’को घोषणा गरेका छन् । अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मीको प्रमुख अतिथ्यतामा भर्चुअल माध्यामबाट भएको सोसाइटी घोषणा कार्यक्रममा युरोपका विशिष्ट ब्याक्तिहरुले नयाँ संगठनलाई अतिथि दीर्घाबाट शुभकामना दिएका थिए ।
शनिबार (१५ भदौ) भर्चुअल रुपमा आयोजना भएको सो कार्यक्रममा ‘सोसाइटी अफ नेप्लिज हेल्थ प्रोफेसनल इन युरोप’ नामको संस्था घोषणा गरिएको हो ।
युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरुले बृहद छलफलपछि विभिन्न रणनैतिक उद्येश्यहरु राखेर सोसाइटी अफ नेपलीज हेल्थ प्रोफेसनल इन युरोप नामक नयाँ स्वास्थ्य संगठनको जन्म दिएका हुन् । स्वास्थ्यसम्बन्धी समस्याहरूमा आपसी सुचना, बहस, सहयोग र मानक विकास गर्ने संस्थाको उद्देश्य रहेको छ। यसका साथै नेपाली स्वास्थ्यकर्मीहरु बीच भाइचाराको अभिवृद्धि गर्नु पनि सोसाइटीको कार्यनीति हो ।
विगत लामो समयदेखी युरोपमा रहेका नेपाली स्वास्थ कर्मीहरुबीच संगठित हुने बहस चलिरहेको भएता पनि सम्पूर्ण नेपाली हेल्थ प्रोफेसनलहरुलाई एक ठाउँमा ल्याएर संगठनको निर्माण गर्ने काम भएको थिएन । सोसाइटी अफ नेप्लिज हेल्थ प्रोफेसनल इन युरोपको घोषणाले उनीहरुको आफ्नै संगठन बनाएर स्वास्थ्य क्षेत्रमा संगठित रुपले अगाडि बढ्ने कार्यभार पनि पुरा गरेको छ ।
स्विजरल्याण्ड निवासी डा. विनय श्रेष्ठ चेयरपर्सन (नेतृत्व) रहेको उक्त सोसाइटीको अपरेसनल डाइरेक्टरमा अष्ट्रीयानिवासी सागर सुवेदी चुनिएका छन् ।
सर्बसम्मत रुपमा गठन गरिएको उक्त सोसाइटीको अन्य पदहरुमा उप चेयरपर्सन स्विडेननिवासी डा. दिपराज थापा, फाइनान्स डाइरेक्टरमा जर्मन निवासी डा. सागर धिताल, मेम्बेरशिप र आउटरिच डाइरेक्टरमा जर्मन निवासी डा. सुनील हमाल, प्रोफेसनल डेभलोप्मेन्ट डाइरेक्टरमा फिनल्याण्ड निवासी डा. मनोज बस्नेत, डेनमार्क निवासी लक्ष्मी बेल्वासे र नेदरल्याण्ड निवासी डा. किशोरमणी श्रेष्ठ रहेका छन् । नवगठित तदर्थ समतिका संयोजक तथा सदस्यहरुलाई अष्ट्रीयाका लागि नेपाली राजदुत तथा प्रमुख अतिथि भरत कुमार रेग्मीले शपथ ग्रहण गराउनुभएको थियो ।
उप चेयरपर्सन समेत रहेका डा. दिपराज थापाले स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रममा विश्व स्वास्थ संगठनका विभागीय डाइरेक्टर समेत रहिसकेका डा. शम्भु आचार्यले पठाउनुभएको लिखित संदेश बाचन गरेर सुनाइएको थियो भने, गैरआवासीय नेपाली संघ युरोप क्षेत्रका पूर्व उप संयोजकसमेत रहिसकेका सामाजिक व्यक्तित्व शुक्रराज न्यौपानेले नितान्त प्रोफेसनल व्यक्तित्वहरुबाट नेतृत्व गरिएको नवगठित सोसाइटीबाट युरोपले ठुलो आशा राखेको भन्दै शुभकामना ब्यक्त गर्नुभएको थियो।
नेपाल र युरोपमा कार्यरत स्वास्थ प्रोफेसनलको बिचमा क्षमता अभिवृद्धि, नयाँ अनुसन्धानका केन्द्रित रहेका स्वास्थ्य सम्बन्धि आयोजनाका साथै नेपालको ग्रामिण क्षेत्रमा कार्यरत स्वास्थकर्मीहरुको हौसाला बढाउँन र पेशागत दक्षता अभिवृद्धि गर्ने हेतुले वार्षिक रुपमा ‘नेपाली रुलर हेल्थ अवार्ड’समेत वितरण गरिने घोषणा उक्त सभामा गरिएको थियो।
बिबिसी नेपाली सेवामा लामो समय काम गरिसकेका वरिष्ठ पत्रकार भगिरथ योगी, लेखक तथा कथाकार पन्चम अधिकारी, अनेसासका केन्द्रिय उपाध्यक्ष डिल्ली राम अम्माई, अनलाइन खवरका युरोप प्रतिनिधि वसन्त रानाभाटका साथै प्रकृतिप्रेमी लेखक तथा कान्तिपुर कर्मी ददि सापकोटाले समेत डाक्टर विनयको नेतृत्वमा घोषणा गरिएको स्वास्थ्य समितिलाई बधाई दिएका थिए ।
अन्तिम वक्ता अष्ट्रियाका नेपाली राजदुत रेग्मीले विदेशमा रहेका नेपालीको ज्ञान, सिप र पुँजी समाहित गर्ने सरकारको नीति रहेको जिकिर गर्दै युरोपमा रहेका स्वास्थ्यकर्मीहरुको संगठित अभियानले नेपालको स्वास्थ्य क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्नेमा दुताबास बिश्वस्त रहेको बताए । उनले यो घोषणा कार्यक्रमलाई अत्यान्त महत्वका साथ हेरेकै कारण अर्को कार्यक्रममा नगई यो सभामा उपस्थित भएको बताएका थिए।
सोसाइटीका अपरेसनल डाइरेक्टर सागर सुवेदीले संचालन गरेको उक्त घोषणा सभाको समापन गर्दै अध्यक्ष डा. श्रेष्ठले नेपालमा हाल स्वास्थ्य नीति र स्वास्थ्य समस्याको सन्दर्भमा धेरै समस्याहरु रहेको बताउनुभयो । नेपालको स्वास्थ्य क्षेत्रमा नीजि क्षेत्रको लगानी भन्दा राज्यको लगानी न्यून रहेकोले सबैको लागि स्वास्थ्य क्षेत्रमा पहुँच कमजोर भएको आँकडा समेत कार्यक्रमा प्रस्तुत गर्नु भएको थियो। ‘हेल्थ केयर सिष्टम राम्रो बनाउनका लागि राम्रो स्वास्थ्य नीति बन्न जरुरी भएको बताउँदै स्वास्थ्य नियामक निकायहरुले सबैको स्वास्थ्यमा पहुँच स्थापित गर्ने दिशामा नीति निर्माण र अनुगमन गर्न समेत नेपाल सरकारलाई अनुरोध गर्नुभएको थियो। उहाँले स्विजरल्याण्ड, जर्मनी, फ्रान्स लगायत युरोपियन देशहरुमा स्वास्थ्य क्षेत्रको लगानी कुल जीडीपीको ११-१२ प्रतिशत रहेको उल्लेख गर्दै नेपालमा भने स्वास्थ्य क्षेत्रको लगानी त्यसको आधा पनि नभएकोमा नेपाल सरकारको ध्यान आकृष्ट गराउनुभएको थियो ।
प्रतिक्रिया