✍ राजेन्द्रप्रसाद पाठक
वर्षमा एकदिन मात्रै प्रेमको ढोंगी भैदिने !
सतीको प्यारो बन्नमा उनकै घर गैदिने !!
सेवामा मजदुरी माग्ने रुपियाँ भए भैदिने !
लोकलाज बुझाउन फोटोसामु रोइदिने !!
यस्तै सन्तानले ढाके भोलिको पुस्ताले पनि !
डोको साथ साथै ल्याऊ बाँसको चोयाले बुनी !!
पालो भो तिम्रो फ्याँकिने बाबुले झैँ झ्याँकिने !
पैंचोमा आउनेछ चक्र गलहत्तिने न्याँकिने !!
बोकाको बली चढाउँदा खसी घाँस चपाउँछ !
पर्सिंदा कानको झाम्टो यताउति हल्लाउँछ !!
आलो पालो आउने गर्छ जाने दिन यसैगरी !
पदवैभव लान सक्दैन मूर्ख मनुवा कसैगरी !!
फट्याँग्रोले जिस्क्याउँछ सुतेको बुढो बाघलाई !
मांसाहारी गिज्याउँछ साकाहारी अनि सागलाई !!
सबै अँध्यारो उस्तै उज्यालो सब झलमल्ल छ !
बुझ्नेलाई लाग्छ उस्तै नबुझ्ने झन अलमल्ल छ !!
बाँच्दामै गर्नु सेवा आमाबाबु र अरु मनुष्यको !
मृत्युले निली सकेपछि चिन्ता हुन्न भविष्यको !!
गुणको सट्टा वैगुणले तिर्नेहरु जति रमाउँछन् !
भलो कुभलो गुणदोष यही धर्तीमा कमाउँछन् !!
प्रतिक्रिया