(तीज विशेष)
यदि यस्तै हो भने भोलिको दिनमा नेपालको संस्कारी तीज हेर्न हामी थाइल्याण्डको नेपाली बसोबास गर्ने ठाउँ पिलोक, म्यानमार, दार्जिलिङ, सिक्कीम, गान्टोकलयायत भारतका अन्य भाग र विदेशीभूमिमा जानुनपर्ला भन्न सकिन्न । तसर्थ, बेलैमा सचेत बनौँ, प्रत्येक नेपाली जातजातिले मनाउने पर्वहरूको मौलिकता, संस्कृति र सिङ्गो देशको सभ्यताको संरक्षण गरौँ ।
✍ राजेन्द्र खनाल ‘क्षितिज’
‘मायाको पोको चोखो छ चोखो,
बिहेअघि दिन्न म लरीलरी लै,
बिहेपछि जम्मै फुकाउने धोको,
मेरो हुनेवालालाई दिउला बरी लै’… !
अहिले बजारमा छ्यापछ्याप्ती यी र यस्ता गीतहरू एफएम, यूट्युबलगायत माध्यमबाट बजिरहेका सुनिन्छन् । गीतले भनेजस्तो टिकटकमा आफ्ना संवेदनशील अङ्गहरू देखाएर अभिनय गर्नेहरू पनि प्रशस्त छन् । सस्तो लोकप्रियता र भ्यूजको लागि आफ्नो संस्कृतिको पनि ख्याल नगरिकन किन यस्ता गीतहरू बनाइन्छन् ? के तीजमा गाइने गीत यस्तै हुन् ? हुन त, केही गीत यस्ता भए पनि अधिकांश गीतहरू राम्रा छन्, जसले तीजलाई नेपाली महिलाहरूको एक विशेष चाडको रुपमा दिदीबहिनी, साथी-सङ्गिनीसँग हाँस्ने, खेल्ने, सुखदुःख साटासाटको रूपमा प्रस्तुत गरिएको पाइएको छ । त्यस्ता गीत बनाउने र गाउने सर्जकहरूलाई पङ्क्तिकारको सलाम छ ।
हरितालिका तीज विशेषगरी महिलाले मनाउने एउटा भव्य र सभ्य पर्व हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजको अघिल्लो दिन विभिन्न परिकार बनाएर खानेलाई ‘दर खाने’ भनिन्छ । यो पर्व सनातन संस्कृति मान्नेले नेपालमा विशेषरूपमा मनाउँछन् । त्यस्तै, भारतमा पनि केही भाग र हिन्दु सनातन तथा नेपाली रहेका अन्य मुलुकमा पनि अहिले धुमधामसँग मनाउने गरिएको छ ।
पहिला-पहिला विवाह गरेर गएकी दिदी-बहिनीलाई लिन तीजको केहि दिनअघि नै माइतीपक्षबाट दाजुभाइ जान्थे । सासुससुरासँग बिदा मागेर दिदीबहिनी दङ्ग पर्दै दाजुभाइसँग माइत आउँथे । माइतमा सबै भेला भएर आमाले पकाएको स्वादिष्ट खाना खाने, नाचगान गर्ने, साथी सङ्गिनीसँग भेट्ने, रमाइलो र हाँसखेल गर्ने गर्दथे । नाचगान गर्दा आफ्नो कर्मघरमा भएका सुखदुःख, वेदना झल्किने खालका गीत गाउने एउटा अवसर पनि हो । अनि तीजको अघिल्लो दिन माइतमा जे बनाएको छ- खीर, ढकने, मासु, पुरी, तरकारी, दालभात, मिठाइ, फलफुल दूध-दही आदि राति बाह्र बजेसम्म खाने गर्दथे । भोलिपल्ट निर्जला ब्रत बसी शिवको, माता गौरी र श्रीगणेशको सामूहिकरूपमा पुजा गर्ने गर्दथे । यो पर्वमा विवाहित महिलाले आफ्नो पतिको दीर्घजीवन र समस्त परिवारको समृद्धिको लागि कामना गर्दछन् । त्यस्तै, अविवाहित युवतीहरू ओजस्वी, तेजस्वी वर (पति) पाउँ भनेर ब्रत बस्ने गर्दछन् । अहिले अन्य समुदायले पनि तीज पर्वमा आफ्नो सहभागिता देखाएर, ब्रत बस्ने नाचगान गरी रमाइलो गर्ने संस्कृतिको विकाश भएको छ । तीजको दिन पानीसम्म पनि नखाइ निराहार तथा निर्जला ब्रत बस्नाले भगवान् शिव खुसी हुने र परिवारमा सुख समृद्धि हुने जनविश्वास गरिएको छ ।
समय परिवर्तनसँगै अहिले ब्रत बसे पनि फलाहार खाने, पानी/जुस पिउने आदि गरिन्छ । डाक्टरले पनि भोकै बस्ने सल्लाह दिँदैनन् । कति जना पशुपतिनाथमा पानी पनि नपिइ लाइनमा उभिँदा बेहोस पनि भएका छन् । अझ रोगी वा दबाइ खाइरहनेहरूले त केही न केही खानु नै पर्छ । यो तीज पर्व मनाउने चलन सत्ययुगमा माता पार्वतीले शिवलाई पतिको रूपमा पाउँ भनेर कैयौँ दिन अनकन्टार जंगलमा निराहर ब्रत बसेर अन्त्यमा शिवलाई पतिको रूपमा पाएकी थिइन् । त्यसैको निरन्तरता यो तीज पर्व मनाइँदै आएको हो ।
तीज भनेको महिनादिन अघिदेखि मनाउने पर्व पनि होइन । पार्टी प्यालेस, होटेल नै बुक गरेर तामझाम गर्ने पनि होइन । एक से एक गरगहना लगाउने र देखाउने दिन पनि होइन । हुनेले गरगहना लाउलान्, नहुनेले के लाउने ? गरगहना नहुनेलाई त त्यहाँ जान पनि मन लाग्दैन होला । फेरि पैसा उठाएर भोजभतेर गर्नु भनेको पनि पैसा हुनेले नै हो, नहुनेले चैँ के गर्ने ? त्यसैले यो तीज पर्वलाई संस्कारी र सभ्य बनाऔँ ।
तीजमा गाउन र नाच्न बनाइएका केही उछृङ्खल गीतको उदाहरण दिनुपर्दा-
‘लोग्ने विदेश छ भनेर टोल-टोलमा फुइँ लाउँछे,
फेरि किन त्यस्का बाजे, तीनमहिने सुइ लाउँछे…!
देशमा रोजगारी नपाउँदा यूवाहरू विदेशिने बाध्यता हो, रहर होइन । तातो घाममा खलखली पसिना बगाएर, अनेक दुःख गरेर केही कमाएर घर फर्कन्छन् । कोही त ज्यानै फालेर काठको बाकसमा फर्कन्छन् । अनि यस्ता गीतले के सन्देश दिन्छ ? उनीहरूको दुखेको घाउमा मलम लगाउनुको साटो झन् नुन छर्किनुसरह नै भएन र ?
‘डेटिङ जाने हो, हुक्का तान्ने हो’…
किन तीजको दिन डेटिङ जानु अनि हुक्का तान्नु ? यो के तीज मनाउने संस्कृति हो ? डेटिङ जाने हुक्का तान्ने दिन त जानैपरे भ्यालेन्टाइन डे छँदैछ नि, त्यसैमा गए हुन्न र ? तीजमा त विवाहित महिला माइत जाने हो, अनि अविवाहित युवतीहरू दिदीबहिनीसँग बसेर रमाइलो गर्ने हो ।
‘काले के-के बोल्यो-बोल्यो,
मलाई बिस्तराले पोल्यो’
यस्तो गीत तीजमा गाउनु भनेको मौलिक संस्कृतिलाई भड्खालोमा पार्नु हो । अझै यो गीतको नृत्य हेर्नुस्, छर्लङ्ग हुनेछ । पुरुषहरूलाई बिहेमा बेउलापटि खेलिने रत्यौलीमा जान निषेध हुनेहुनाले मैले रत्यौली त देखेको छुइन, तर सुनेअनुसार सायद यस्ता गीतहरू चैँ रत्यौलीको लागि चैँ उपयुक्त होला ? माथि दिइएका केही उदाहरण उछृङ्खल गीतहरू मात्र हुुन् । यस्ता गीतहरू मनोरञ्जात्मकरूपमा बनाइएका फिल्महरूमा सेन्सर बोर्डले उपयुक्त ठानेँ गाउन र नृत्य गर्न सकिएला ? किनकि, जसलाई हेर्न मन लाग्छ उ जान्छ । तर संस्कृतिमाथि प्रहार हुनेगरी यस्ता गीत गाउन मिल्दैन ।
कूनै पनि देश चिनिने भनेको नै मुलतः संस्कृति र त्यो देशको सभ्यताले नै हो । यदि हाम्रो संस्कृति र सभ्यता नै हामीले तहसनहस गऱ्यौँ भने देशको अस्तित्व नै समाप्त हुन्छ । तीजको बेला दिदीबहिनीहरू केही दिन माइतीमा बा-आमा दाजुभाइ अनि साथी सङ्गिनीसँग रमाईलो गर्ने, नाचगान गर्ने दुःखसुखका कुरा गर्ने, अनि फेरि केही कोशेलीपात बोकेर कर्मघर जाने चलन थियो ।
पहिलाको तीजको गीतमा भावना हुन्थ्यो, स्नेह हुन्थ्यो, बात्सल्यता हुन्थ्यो, वेदना हुन्थ्यो, आत्मियताले भरिपूर्ण हुन्थ्यो अनि सम्झना रहिरहन्थ्यो । जस्तोकि स्वरसम्राट नारायण गोपालले गाएको गीतको एउटा पंक्ति यस्तो छ-
‘आउँछिन् कि चेली भनेर आमा दोबाटो धाएकी,
तीजमा पनि बिर्सिछे क्यारे गरिव माइती !
सल्लाझैँ आमा सुसाइरहिन्, एकलै कोठामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टामा ।’
यो गीतले माइतीमा आमा छोरी तीजमा आउँछिन् भनेर पर्खेर बस्छिन्, कतिखेर आउँछिन भनेर दोबाटोसम्म धाइरहन्छिन् । छोरी माइती नपुग्दा र छोरीलाई देख्न नपाउँदा आमा एकोहोरिन्छिन्, निस्ताउँछिन् ।
त्यस्तै बिष्णु माझीको गीतले पनि भन्छ,
‘एकै झल्को देख्न मन छ,
तिम्रो आँगन टेक्न मन छ,
आइन आमा हो यो तीजमा…!
अर्को उनैको गीत भन्नुपर्दा-
‘जेलैमा हो जेलैमा चरी जेलैमा
मै छोरी रुँदै रुँदै बेसी मेलैमा
तीजको दर खान मन थियो
माइत घर जाने मन थियो’
के गर्नु चेलीलाई माइती आउन तीव्र मन थियो, आमाको अनुहार एक झल्को भएपनि हेर्न मन थियो । आफूले खेलेको त्यो आँगन टेक्न मन थियो । तीजको दर पनि दिदीबहिनी र आमासँग बसेर खान मन थियो । तर विवश उनी आउन पाइनन् यो तीजमा, उनी ब्यस्त रहन्छिन् तीजको बेलामा पनि बेशीको खेतीपातीमै । सासुससुराले सायद बिदा दिएनन् होला । यसरी व्यक्त गरिएको छ यो गीत ।
कन्यादान फिल्ममा छायाङ्ङ्कन गरिएको गीत ‘तीजको रहर आयो बरी लै’…. त चर्चित गीत नै बनेको थियो, प्रत्येक वर्षको तीजमा महिलाहरू छमछमी नै नाच्दथे । हरिदेवी कोइराला, देवी घर्ती लगायत कैयौँ गायिकाहरूका तीज गीत पनि तीजको मौलिकतामा रचिएका र गाइएका छन् । मैले सबै गीत गाउने वा रचना गर्नेको नाम त यहाँ बर्णन गर्न सक्दिनँ, अन्यथा नलिनुहोला, क्षमाप्रार्थी छु ।
‘यो तीजमा ढल्केरै नाचिन्छ, बारुले बरु कम्मर भाँचिए भाँचिन्छ’….! यस्ता धेरै रमाइला गीतहरू बजारमा आएका छन् । सबै राम्रा गीत जस्ले मौलिक संस्कृति दर्शाउने रचना गर्नुभएको छ, र गाउनुभएको छ सबै सर्जक र गायक गायिकाहरूलाई मेरो हृदयदेखि नै मुरीमुरी धन्यवाद छ । संस्कृति बचाउने अनि विश्वमा चिनाउने भनेकै हामी साहित्य, संगीत, कला र सम्पदा संरक्षणमा लाग्नेहरू नै हौँ ।
केही गीतहरू तीजको लागि भनि गाइएका र नृत्य गरिएका भने अलिक छाडापन नै देखाएको छ । गायक गायिकाहरूले केवल सस्तो लोकप्रियता, भ्युज बटुल्न र पैसा कमाउनका लागि मात्र हो । यस्ता गीतहरू परिवारसँग बसेर कसरी हेर्ने ?
नेपाल देश बहुल जाति, भाषा, धर्म, संस्कृति भएको विशाल अग्रगामी राष्ट्र हो, देशका विभिन्न महत्वपूर्ण सांस्कृतिक पर्वहरू छन् । यो बहुसंस्कृतिको कारणले नै नेपाल भन्ने देश विश्व मानचित्रमा चिनिन्छ । विदेशीहरू हाम्रो यही संस्कृति हेर्न आउँछन् । अन्य पर्वहरूमा अहिलेसम्म यस्ता विकृति भएको खासै देखिएको छैन, केवल तीजमा मात्र किन यस्ता गीतहरू गाएर तीजको मौलिकतामा प्रहार गरिएको ? प्रत्येक जातिको संस्कृतिमा नारीलाई सम्मान गरिन्छ । तर आज यस्ता उछृङ्खल गीतहरू तीज जस्तो महान् पर्वमा गाएर र यस्ता गीतमा महिलाहरूलाई नचाएर बजारीकरण बनाइँदैछ, सभ्य बनौँ । जब बजारमा यस्ता छाडापन भएको गीतहरू गुन्जिन्छ, अनि नृत्य गरिन्छ, महिलालाई हेर्ने दृष्टि नै फरक हुन्छ । तसर्थ, यस्ता गीतहरू जुन मौलिक संस्कृतिलाई खलबल पुऱ्याउने हुन्छन्, समयमै जनसमुदाय, लोक तथा दोहोरी प्रतिष्ठान र सरकारले बेलैमा बहिष्कार र प्रतिबन्ध लगाउनु पर्दछ ।
महिला दिदीबहिनीहरू अहिले उच्च स्थानमा गाउँदेखि संसदसम्म गरिमामय पदहरूमा विराजमान छन् । सबै कुरामा स्वतन्त्र छन् । तर, स्वतन्त्रतालाई काबुमा राख्न सकिएन भने अनि उछृङ्खलता बढ्दै जाँदा, बिस्तारै हाम्रो संस्कृति क्षय हँुदै जान्छ । भावी पुस्ताले पनि यही सिको गर्दै जानेछन्, अनि एकदिन पुर्खाले अहिलेसम्म जोगाएर राखेको सबै तीजको मौलिकपन हराएर जानेछ । के तीज भनेको यस्तै अभद्र गीत गाउने र छाडा हाउभाउ गर्ने नृत्य नै हो ? यदि यस्तै हुने हो भने, भोलिको दिनमा नेपालको संस्कारी तीज हेर्न हामी थाइल्याण्डको नेपाली बसोबास गर्ने ठाउँ पिलोक वा म्यानमार, दार्जिलिङ, सिक्कीम, गान्टोकलयायत भारतका अन्य भाग र विदेशी भूमिमा जानुनपर्ला भन्न सकिन्न । तसर्थ, बेलैमा सचेत बनौँ, प्रत्येक नेपाली जातजातिले मनाउने पर्वहरूको मौलिकता, संस्कृति र सिङ्गो देशको सभ्यताको संरक्षण गरौँ ।
दिदीबहिनीहरूमा आउँदै गरेको हरितालिका तीजको पावन अवसरमा सभ्य र भव्यताका साथ मनाउनुस् भन्दै असिम शुभकामना दिन चाहन्छु ।
अस्तु !
- विजयपुर, धरान (हाल मालीगाउँ, काठमाडौं)
प्रतिक्रिया