‘आजको निगरानी सुन्दर भविष्यको लागि लगानी’ भन्ने कुरा अभिभावकहरूले बुझ्नु आवश्यक
✍ रसना ढकाल
घटना नम्बर १
भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका-१ मनोहरा (जडिबुटी)मा सञ्चालित ‘सिन्धुली होटल ढिँडो सर्भिस एण्ड गेष्ट हाउस’मा आर्थिक अवस्था कमजोर भएका तीन बालिकालाई शारीरिक सम्पर्क गर्न लगाउने गरेको अवस्थामा गत असारको अन्तिम साता मानव बेचबिखन ब्युरोको टोलीले सञ्चालकहरूलाई प्रकाउ गरी उक्त स्थानबाट बालिकाहरूलाई उद्दार गऱ्यो । प्रहरीले घटनास्थलबाट गर्भनिरोधक औषधि, अस्थाइ साधनहरू, प्रेग्नेन्सी टेष्ट किट फेलापारेको थियो । उक्त खाजाघरमा बालिकाहरूले ग्राहकहरूसँग गएर बस्नुपर्ने, ग्राहकहरूको खाजाबिल बढाइदिनुपर्ने जस्ता बाध्यात्मक श्रममा सञ्चालकहरूले बालबालिकाको प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखायो ।
घटना नम्बर २
गत साउन महिनामा काठमाडौंको कोटेश्वरस्थित ‘रामेछाप खाजाघर एण्ड गेष्ट हाउस’मा केही बालिकालाई प्रलोभनमा पारी बेश्यावृत्तिमा प्रयोग गरिरहेको अवस्थामा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले खाजाघरका सञ्चालकहरूलाई पक्राउ गऱ्यो, साथै घटनास्थलबाट ६ जना बालिकालाई उद्दार गरेको थियो । ती बालिकाहरूलाई रु ५०० दिने प्रलोभन देखाइ प्रत्येक ग्राहकबाट सञ्चालकले ४-५ हजार लिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखायो । हाल ती सञ्चालकहरू मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका छन् ।
यसैगरी पोखराको एक होटलमा वेट्रेसको काम लगाइदिने प्रलोभनमा पारी भारतमा बेचबिखन गर्ने र वेश्याबृत्तिमा लगाउने उद्देश्यले काठमाडौंबाट मकवानपुर हुँदै भारततर्फ लैजान लागेको अवस्थामा गोप्य सूचना प्राप्त भएपछि मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले जेष्ठ २६ गते ललितपुर महानगरपालिका वडा नं २७ सुनाकोठीबाट बालिका लैजाँदै गरेको अवस्थमा फेला पारेको थियो । प्रहरीले अभियुक्तउपर ओसारपसारको मुद्दा चलायो ।
घटना नम्बर ३
यसैगरी भदौ १२ गते प्रहरीले काठमाडौं महानगरपालिका कोटेश्वरस्थित ‘कमलामाई खाजाघर एण्ड गेष्ट हाउस’बाट ५ जना बालिकाहरूलाई उद्दार गरेको छ । ती बालिकाहरूलाई सञ्चालकहरूले ग्राहकहरूसँग बस्नुपर्ने, शारीरिक सम्पर्क राख्नुपर्ने बाध्यात्मक र निकृष्ट काम गराइरहेका थिए । प्रहरीले गोप्य सूचनाको आधारमा बालिकाहरूलाई त्यस स्थानबाट उद्दार गर्न सफल भयो । र, सञ्चालकलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाएको छ ।
प्रस्तुत घटनामा शिकारको पात्र बनेका दुई बालिकाहरूसँग प्रत्यक्ष सोधपुछ गर्दा, ‘ हामी गरिब छौँ, बाबु-आमाले नै शहर जा.. जसरी भएपनि हामीलाई कमाएर पैसा पठा भन्छन्’ भन्ने जवाफ दिए । उनीहरूले अगाडि भने, ‘पढ्न पर्दैन, पढेर के हुन्छ र भन्दै आमाले हप्काउने, केही काम गर्दिन यसले भन्दै कुटपिट गर्ने गरेकोले घरमै पनि मानसिक र शारीरिक यातना दिनहुँजसो पाइरहेका थियौँ । त्यो याताना सहन नसकेर हामी घर छोडी शहरमा पसेका हौँ ।’
‘बाबुआमाले नै आफूखुशी व्यवहार गरेर हामी बच्चाको बिचल्ली बनाए, त्यस अवस्थामा गाउँकै एक काका पर्नेले हिँड नानी तिमीलाई म शहरमा काममा लगाइदिन्छु, खान/बस्न सबै पाउँछौ भनी साथ लिएर आए, र त्यस खाजाघरमा हामी काम गर्न थाल्यौँ । सञ्चालकले हामीलाई ग्राहकसँग बस भन्दा हामीले अस्वीकार गरेपछि कुटपिट गर्ने, कपडा खोल्न लगाउने काम गर्थ्यो…’, एक बालिकाले बडो मार्मिक ढंगले भनिन् ।
यसरी डरैडरमा हुर्किएका बालबालिकाहरूले आफ्नो शारीरिक तथा मानसिक विकास कसरी गर्न सक्छन् ? बालकालिका राष्ट्रको कर्णधार भन्दै हामी नारा त घन्काउँछौँ तर त्यो नाराले माथिका बालबालिकामाथि कुनै सकारात्मक असर पर्दैन, किनकि उनीहरूको मानसपटल नै डरैडरको माहोलमा सृजित भयो । उनीहरूलाई पहिलेको अवस्थामा फर्काउन मनोविमर्श सेवाको मद्दत त लिन सकिन्छ त समय लाग्छ ।
माथि प्रस्तुत घटनाहरूको फेहरिस्त हेर्दै जाँदा बालिकाहरू कति असुरक्षित छन् त भन्ने दृश्य देखिन्छ र, फेरि एक पटक सबैलाई सोच्न बाध्य बनाउँछ कि हामी दशौँ वर्षदेखि बालबालिकाको अधिकार सुनिश्चित एवम् सुरक्षाको लागि काम गर्दै आइरहेका छौँ रपनि उनीहरूमाथि असुरक्षा बढेको बढ्यै छ । आखिर किन त यस्तो ? पैरवीको तरिका बदल्नुपर्ने त होइन भन्ने जस्ता तर्कहरू पनि आउँछन् ।
समस्याको चाप झन्-झन् बढ्दै गएको छ । हरेक व्यक्तिमा एक खालको उदाशिनता अनि पैसा कमाउने अभिलाषा बढेको छ । त्यसको लागि बयस्क महिलाभन्दा बालिकाहरू प्रयोग भइरहेका छन् । अभिभावकहरूको उचित रेखदेखको अभावमा दुर्गम स्थानबाट शहर पसेका ती किशोरीहरू वेश्यावृत्तिमा धकेलिन्छन् ।
बालबालिकामाथि अत्याचार किन ?
बाल्यावस्था एक यस्तो अवस्था हो जुन अवस्थामा आफूमाथि नराम्रो कुनै कार्य भइरहेको छ भने पनि बालबालिकाले त्यसलाई बुझ्न सक्दैनन्, प्रतिकार गर्न पनि सक्दैनन् । उनीहरू पूरै दलालको चंगुलमा परिसकेका हुन्छन् । लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा उनीहरूमाथि मानसिक तथा शारीरिक असर पर्दछ । बालबालिकाको पहिलो पाठशाला अभिभावक नै हुन् । तर आजभोलि अभिभावकहरूको संरक्षत्वको अभावमा धेरै बालबालिकाहरू जोखिममा पर्न सक्ने सम्भावना हुन्छ । अर्काेतर्फ जीविकोपार्जन गर्न विदेशको भूमिमा टेकेका बुबाका सपनाहरू कसरी पैसा कमाएर घर पठाउँ भन्ने हुन्छ भने कतिपय अभिभावक बालबच्चालाई अलपत्र बनाएर आ-आफ्नो जोडी खोजेर अलग बस्ने गरेको कारण आजभोलि धेरै बालबालिकाहरू असुरक्षाको दायरामा छन् ।
यी सबै घटना हेर्दै जाँदा यस्तो पनि हुन सक्छ र ? भन्ने तर्क आउनसक्छ, तर समाजमा यस्ता हर्कतहरू भइरहेका छन् । हाम्रा कलिला नानी-बाबुहरू उचित संरक्षण तथा सम्भारको अभावमा लागुपदार्थ सेवन गर्नतर्फ लाग्छन् । काम गर्ने स्थानहरू सुरक्षित छैनन् । आफ्नो परिश्रम गरेर खानुपर्ने स्थानमा शारीरिक जोखिम धेरै बालबालिकाहरूले मोलिरहेका छन् ।
कानुन बलियो कि दलाल ?
समाज जहिले पनि कानूनभन्दा पाँच गुणा अघि बढिरहेको हुन्छ । किन त भन्दा विभिन्न तत्वहरूले समाजलाई प्रभाव पार्दै गइरहेका हुन्छन्, त्यसको असर समाजमा तुरुन्त पर्दछ । अर्कोतर्फ गैरकानूनी रूपमा काम गर्ने अधिकांश व्यक्तिहरू राजनीतिक दलको संरक्षणमा हुन्छन् । यसले गर्दा प्रहरीले अभियुक्तलाई पक्राउ गरे तापनि अभियुक्त चाँडै थुनामुक्त हुने, उसमाथि मुद्दा चलाउन नदिने लगायतका दबाब प्रहरीलाई राजनीतिक दल तथा नेता दलहरूको पर्दछ । हामीकहाँ अपराधको प्रकार हेरिरहँदा जति ठूलो घटना त्यति ठूलो च्यानल देखिन्छ; त्यसमा बलात्कार, ठगी, मानव बेचबिखनलगायत गम्भीर प्रकारका अपराधहरूमा त राजनीतिक दलहरूको पावर हुन्छ । एकतर्फ मुलुकमा दण्डहीनता बढ्नुमा सर्वप्रथम राजनीतिक दलहरू नै दोषी देखिन्छन् । यिनका व्यक्तिहरू पक्राउ पर्न नहुने, सोधपुछ गर्न हुने यावत कुराहरूले गर्दा यसको प्रभाव समाजमा पूरै नकारात्मक परेको छ । यसतर्फ राजनीतिक दलभित्र बहस हुन जरुरी छ किनकि अपराधबाट व्यक्ति छुटाउनु भनेको भोलि ठूलै अपराधी सृजना गर्नु हो ।
नेपाल बालअधिकारसम्बन्धी महासन्धीको पक्षराष्ट्र हो । हामीकहाँ बालबालिकासम्बन्धी ऐन २०७५ र मुलुकी अपराध संहिता ऐन २०७४ छ । यी कानूनहरूमा बालबालिकाको दुरुपयोग गरे भने कस्तो सजाय भोग्नुपर्छ भन्ने दण्ड सजायको व्यवस्था गरेको छ ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पीडित बालबालिकाको सङ्ख्या :
मानव बेचबिखन अनुसन्धान ब्युरोले आर्थिक वर्ष २०७५/७६ मा सातै प्रदेशमा ५ बालक र ७४ बालिका पीडित भएको, २०७६/०७७ मा २ बालक ३२ बालिका पीडित भएको, २०७७/०७८ मा सातै प्रदेशमा २ बालक ५८ बालिका, २०७८/०७९ मा सातै प्रदेशमा ४० बालिका पीडित भएको, २०७९/०८० मा सातै प्रदेशमा ४९ बालिका पीडित भएको र २०८०/८१ मा सातै प्रदेशमा ३८ बालिका मानव बेचबिखन मुद्दामा पीडित भएको सङ्ख्या रहेको छ । यसमा बालकभन्दा पनि बालिकाहरू नै ज्यादा जोखिममा रहेका देख्न सकिन्छ । यस आँकडामा मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश र उपत्यका बालिकाहरूको लागि अत्यन्त जोखिम रहेको ब्युरोको टिप्पणी छ । प्रहरीको अनुसन्धानले देखाएको आँकडा डरलाग्दो अवस्थाको चित्रण हो ।
हुन त प्रहरीमा अधिकांश नाबालकहरू चोरी मुद्दामा अभियुक्तको रुपमा आएका हुन्छन् । बालबालिकाले काम गऱ्यो भने कसैले पनि पत्याउँदैन, त्यसैले लागुऔषध लगायत अरु अपराधकको भुमरीमा बालबालिकाहरू परिरहेका हुन्छन् । बालबालिकाहरूलाई अपराधमा संलग्न गराउने काम कसैले गर्नु हुँदैन । प्रत्येक अभिभावकहरूले आफ्नो बच्चाहरूको पूर्णरुपमा रेखदेख गर्नुपर्छ । बच्चा कहाँ जान्छ, कस्ता साथीसङ्गी छन्, समाजिक सञ्जालमा बच्चाहरू कुन भूमिकामा प्रस्तुत भइरहेका छन्, यस्ता सवालमा अभिभावकहरू चनाखो रहनुपर्छ । तर हामीकहाँ स्कुलमा बच्चा पठाउनेबित्तिकै आभिभावकहरूले बालबच्चाको रेखदेख नगर्ने प्रवृत्ति देखिएको छ ।
भनिन्छ बालबालिकाले गल्ती गर्छन् तर अपराध गर्दैनन् । यसबारे राज्यले ठोस कदम चालेन भने वर्तमान समय नै बालबालिकाहरूको लागि राम्रो हुनै छैन । बालबालिका भोलिका कर्णधार हुन् भन्ने उक्ति हाम्रो लागि लज्जास्पद सावित हुनेछ यदि निर्दोष बालबालिकाहरू अपराधमा मुछिए भने । अभिभावकहरूले आफ्नो बालबच्चाहरूमा निगरानी राख्नुपर्ने हुन्छ किनकि ‘आजको निगरानी सुन्दर भविष्यको लागि लगानी’ भन्ने कुरालाई अभिभावकहरूले बुझ्नु आवश्यक छ ।
प्रतिक्रिया