सिक्किमकै पहिलो कपाल प्रत्यारोपण सर्जन बनिन् डा. मुक्ता शर्मा

सिक्किमकै पहिलो कपाल प्रत्यारोपण सर्जन बनिन् डा. मुक्ता शर्मा


छालाविज्ञान, एसटीडी साथै कुष्ठरोगमा एमडी गरेकी सिक्किमकी डा. मुक्ता शर्मा सिक्किमकै पहिलो कपाल प्रत्यारोपण (hair transplant) सर्जन बनेकी छन् । भारतको गान्तोक, सिक्किमनिवासी वरिष्ठ पत्रकार पुण्यप्रसाद शर्मा र साहित्यकार श्रीमती गीता शर्माकी सुपुत्री डा. मुक्ता शर्मा एक कुशल चिकित्सक हुनुका साथै उनले कपाल प्रत्यारोपण र एस्थेटिक डर्मेटोलोजीमा एक वर्षको फेलोशिप पूरा गरेर आफ्नो करिअरमा एक महत्त्वपूर्ण स्थान बनाएकी छन् । सिक्किम राज्यले नै एक कुशल चिकित्सक प्राप्त गरेको भन्दै यतिबेला उनको प्रशंसा भइरहेको छ।

डा. मुक्ताको उपलब्धिप्रति गर्व गर्दै सिक्कमबाट प्रकाशित हुने अंग्रेजी दैनिक ‘सिक्किम एक्सप्रेस’ले ‘यो उपलब्धिले डा. मुक्ता शर्माको विशेषज्ञतालाई त अवश्यै रेखाङ्कित गर्छ नै, साथसाथै सिक्किमको पहिलो कपाल प्रत्यारोपण (hair transplant) सर्जनको रूपमा पनि उनले आफ्नो पहिचान स्थापित गरेकी छन्, जो यस क्षेत्रको चिकित्सा परिदृश्यमा उल्लेखनीय उपलब्धि हो’ भन्दै समाचार प्रकाशित गरेको छ ।

आफ्नो फेलोशिप अवधि डा. मुक्ताले कठिन प्रशिक्षण र व्यावहारिक अभ्यास गरेर आफूलाई सफल पारेकी हुन् । फेलोशिप अवधि उनले प्रतिष्ठित शिक्षक इन्टरनेशनल सोसाइटी अफ हेयर रिस्टोरेशन सर्जरीका पूर्व अध्यक्ष डा. कपिल दुआ र एसोसिएशन अफ हेयर रिस्टोरेशन सर्जन्स, इन्डियाका अध्यक्ष डा. अमन दुआको मार्गदर्शनमा कपाल प्रत्यारोपणको तकनिकी प्रयोगमा सफलता हासिल गरिन् । यस प्रयास र सफलतासितै उनले आफ्नो एस्थेटिक डर्मेटोलोजीका लागि उनको जुनूनलाई पनि प्रज्ज्वलित गरेको छ, जसद्वारा उनलाई बिरामीको हेरचाहका लागि आफ्नो दृष्टिकोणलाई नयाँ र परिष्कृत गर्ने प्रेरणा समेत प्राप्त भएको छ।

जीवनमा पाएको यो नयाँ उँचाइ र सफलतासँगै सिक्किमे छोरी डा. मुक्ता आफ्नो क्षमतालाई बिरामीहरूको जीवनमा सकारात्मक प्रभाव पुऱ्याउने दिशामा काम गर्न उत्सुक छिन् । सधैँभरि सिक्ने र अनुभव बटुल्ने विचार बोकेकी मुक्ता एस्थेटिक डर्मेटोलोजीको सततः विकसित बन्दै गरेको क्षेत्रमा सबैभन्दा अघि रहने प्रतिबद्धता व्यक्त गर्छिन् ।