- युरोप प्रतिनिधि
तीज पर्वको केवल सांस्कृतिक भूमिका मात्र नभइ यसले आर्थिक, सामाजिक, र महिला सशक्तिकरणका दृष्टिकोणबाट पनि महत्त्वपूर्ण भूमिका खेल्दछ भन्ने गरिन्छ। यस्ता सांस्कृतिक पर्वलाई संयमपूर्वक र अर्थपूर्ण तरिकामा मनाउनाले स्थानीय अर्थतन्त्रलाई सक्रिय राख्न, सामाजिक समानता प्रोत्साहित गर्न, र महिलाहरूको सशक्तिकरणमा योगदान पुर्याउन सक्छ । तिज पर्वलाई आधुनिक रुझानसँग मिलाएर मनाउँदा यो पर्वले सामुदायिक मेलमिलापलाई ससक्त बनाउँछ। पारिवारिक मेलमिलाप र माइतका अग्रज तथा चेलीबेटीबिचको सम्बन्धलाई मुल्यवान बनाउन मद्दत गर्दछ।
पंचायत कालमा भ्रष्टाचार तथा क्रुर सासन पद्धतिको विरुद्ध सामूहिक रुपले प्रतिकार गर्न पनि तीज पर्व बिशेष हुन्थ्यो। अहिले संकल्प र दृष्टिकोणको सवालमा तीजका गीतहरुमा प्रगतिशील तथा देश भक्तिको भावना कमजोर हुँदै गैरहेको छ। परम्परागत लोकसंगीतको जगेर्ना गर्न र महिला मुक्तिको लागि प्रेरणा दिन यो पर्वले इतिहाँसमा महत्वपुर्ण योगदान पुर्याउँदै आएकोमा अहिले चेतना प्रवर्द्धनको सवालमा देशभक्तिको भावना भन्दा अलिक उत्ताउलो र छाडा प्रवृतिले ठाउँ लिने थालेकोमा समाजशास्त्रीहरुले चिन्ता ब्याक्त गर्न थालेका छन्।
अहिले प्रवाशको नेपाली समुदायमा समेत तीज पर्व ब्यापक रुपले मनाउदै प्रचलन बढेको छ । बेल्जियमको आन्त्वेर्पेन शहरमा अघिल्लो वर्ष जस्तै यो वर्ष पनि नेपाली चेलीहरुले नाचगान गरेर तीज मनाएका छन् । नपाली मिलन केन्द्र बेल्जियमको आयोजनामा भएको तीजलाई नेपाली राजदुत गेहेन्द्र राजभण्डारीको सहभागिताले उत्साह थपेको आयोजकले स्वीकारेका छन् ।
सयौँ नेपालीहरुको सहभागिता रहेको औपचारिक कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा लगायतले तीजको शुभकामना दिइरहँदा नेपाली चेलीहरुले अतिथिहरुको सम्मानमा ताली बजाए र खादा लगाएर उनीहरुको सम्मान गरे ।
त्यस्तै अघिल्लो हप्ता बेल्जियमकै लुभेन शहरमा पनि बेल्जियमको सांस्कृतिक कलाकारहरुको संगठन इना बेल्जियमले तिजको दर खाने कार्यक्रम राखेको थियो। उक्त कार्यक्रमलाई पनि कलाकारहरुले उल्लासपूर्ण बनाउन योगदान पुर्याएका थिए । त्यहाँ पनि तीजलाई यिनै अतिथिहरुले शुभकामना दिएका थिए।
त्यस्तै बेल्जियमका ब्रुज लगायत शहरहरुमा तीज लगायत नेपाली पर्वहरुलाई आफ्नैपनले मनाउने क्रम बढ्दै गएको छ। पारिवारिक,सामाजिक र संस्थागत रुपले नेपाली पर्वहरु मनाउने क्रम बेल्जियममा मात्र नभएर युरोप, अमेरिका, म्यान्मार, थाइल्याण्ड,जापान, मध्यपुर्व, इजरायल लगायत नेपाली समुदायको पहुँच भएको स्थानसम्म क्रमिक रुपले बढ्दै गएको छ। यसले नेपाली सांस्कृतिक पहिचानलाई वैश्विक परिचय दिलाउन कहिँ न कहिँ योगदान पुऱ्याइरहेको छ।
प्रतिक्रिया