बौद्ध धर्मलाई क्रिश्चियनको मारमा परेको छ भनेर स्वदेशी मात्रै होइन देशीविदेशी अन्तर्राष्ट्रिय पत्रपत्रिकामा समेत समाचार छ्यापछ्याप्ती आउँदा पनि नेपालको आफुलाई बौद्ध हुँ भन्ने, आदिवासी/जनजातिका नेता भन्नेदेखि बौद्ध संघ-संस्थाहरु चुइँक्क नबोल्नुको कारण के हुनसक्छ ?
✍ मोहन लामा रुम्बा
हाल लुम्बिनी विकास कोषको उपाध्यक्ष एवं माननीय सांसद ल्हारक्याल लामाले एउटा सार्वजनिक कार्यक्रममा बोल्दै भन्नुभएको थियो- ‘मलाई धेरै पटक हिन्दुविरुद्ध लड्नलाई हामी मिलेर जानुपर्छ भन्ने प्रस्ताव आएको थियो । पाँचतारे होटलमा गरिएका बैठकहरुमा पटक-पटक मलाई बोलाएर यस्ता प्रस्तावहरु राखिएका थिए । धेरै पटकको बैठकमा मैले धर्मको नाउँमा यसरी लडाइँमा जान हुन्न भन्दै आफ्नो कुरा राखेको थिएँ । यदि मैले उनीहरुको कुरा मानिदिएको भए आज मसंग पैसा मिलियन होइन बिलियन डलर हुने थियो !’
लारक्याल लामाले भन्नुभएका यही कुरा हामीले पनि वर्षौंदेखि भन्दै आइरहेको हो । निश्चय नै एकजना बौद्ध दर्शनमा विद्यावारिधि गरेको, सांसद/मन्त्री जस्तो गरिमामय ओहदामा बसिसकेको जिम्मेवार व्यक्तिबाट यस्तो कुरा बाहिर आउनु चानचुने कुरा होइन।
पाँचतारे होटलमा डिनर गर्दै हिन्दु बौद्धलाई धार्मिक रूपमा फुट गराएर भिडन्त गराउने योजना बुन्ने यस्तो गम्भीर कुरा कुनै चानचुने शक्तिले गर्न सक्ने कुरै होइन । नेपालमा यहाँको बहुसंख्यक हिन्दु र बौद्धलाई फुटाएर इसाईकरण गराउन खोज्ने शक्तिले नै यी सबै गरिरहेको हो भन्नेमा कुनै दुविधा छैन ।
कुनै पनि मुलुकमा दुईवटा शक्ति मात्रै बसिरहेको छ र, त्यसमा तेस्रो शक्तिले प्रवेश गर्नु छ भने त्यो दुईवटा शक्तिबीच एकापसमा लड्ने अवस्था सिर्जना गरेर मात्रै तेस्रो शक्तिले स्थान ओगट्न सफल हुन्छ । हाम्रो नेपालमा हिन्दु र बौद्ध पहिलो र दोस्रो शक्ति हुन् । यी दुई बीचमा फाटो ल्याउन सकेमात्रै तेस्रो शक्तिले घुसपैठ गर्ने आधार बन्छ । यो त विश्वमा जतासुकै प्रयोग भैरहेको फर्मुला नै हो ।
नेपालमा यहाँको रैथाने जातजाति बीचमा फाटो ल्याउने योजना नयाँ होइन । धेरै अगाडिदेखि चलखेल भैरहेको थियो तर राजाको प्रत्यक्ष शासनको अवधिमा यी सबै योजनाहरु कार्यान्वयन गर्न त्यति सहज नभएर थन्केको मात्रै थियो । बहुदलीय व्यवस्था आएपछि खुल्लमखुल्ला कार्यान्वयन हुँदै गइरहेको मात्रै हो ।
बौद्ध समुदायलाई हिन्दुको भय र त्रास देखाएर एकातिर भुलाएर अर्कोतिर बौद्ध धर्मावलम्बी समुदायलाई नै बिस्तारै इसाईकरण गर्दै गइरहेको छ। कयौं दुर्गम क्षेत्रमा बस्ने बौद्ध समुदाय पुरै इसाई धर्म अंगालेर त्यहाँ रहेकोे गुम्बा नै खाली भैरहेको खबर धेरैतिरबाट आइरहेको छ।
बेल्जियन नागरिक तिबों पहिलो पटक नेपाल घुम्न आउँदा ऊनी घुम्दै धादिङ जिल्लाको दुर्गम क्षेत्रमा पर्ने बौद्ध धर्मावलम्बी तामाङहरुको बस्ती रहेको तिप्लिङ पुगेको थियो । त्यहाँ पुग्दा एउटा पुरानो टिनले छाएको गुम्बा देख्यो । उ गुम्बानजिकै पुग्यो तर गुम्बा बन्द रहेको भेट्यो । पछि स्थानीयलाई बोलाएर खोल्न लगाएर हेर्दा आलूको गोदाम बनाएको रहेछ । स्थानीयहरु सबै शनिबार-शनिबार चर्च जानेरहेछ भनेर रिपोर्टिङ गरेको थियो ।
त्यस्तै, सोलुखुम्बु जिल्लाको बुडमा रहेको अन्दाजी ६०० वर्ष पुरानो च्याम्बलिङ (कोनगा येक्ता छोलिङ) गुम्बा अहिले धादिङ जिल्लाको तिप्लिङमा जस्तै ढोका बन्द हुने अवस्थामा पुगेको छ । त्यस गुम्बा वरपरका स्थानीय शेर्पा भक्तजनहरु अधिकांश बौद्ध धर्म छोडेर इसाई धर्म अंगालेपछि गुम्बामा अहिले एकजना मात्रै लामा बसिरहेको अवस्था छ भनेर सल्लेरी समाचारदाताले रिपोर्टिङ गरेका थिए ।
उक्त रिपोर्टरले गरेको रिपोर्ट जस्ताको तस्तै –
… करिव छ सय वर्ष पुरानो मानिने गुम्बामा विगतमा पाठपूजा गर्न आउने बुद्ध धर्मावलम्बीहरू हिजोआज एक जना पनि नआउने गरेको गुम्बाको रेखदेख गरी बसेका लामा दोर्जी शेर्पाले बताउनुभयो । यो सात पुस्ता पुरानो ऐतिहासिक गुम्बा हो र यो पूरै सङ्कटमा पर्न थालेको छ। अहिले त पहिले जस्तो बुद्धमार्गीहरु आउँदैआउँदैनन्, लामा शेर्पाले भन्नुभयो।
बुद्ध धर्म त्यागेर क्रिश्चियन धर्म मान्न थालेपछि गुम्बाको अवस्था नाजुक हुँदै गएको बताउने लामाका अनुसार गुम्बामा पाठपूजा त हुँदैहुँदैनन् भन्दा पनि फरक पर्दैन। पाठपूजा भइहाले पनि तालिकामा जसको पर्छ उसको परिवार मात्र आउँछन्, सबैजसो मानिसहरू बुद्धिस्ट बाट खिस्टियन बनेकाले गुम्बाको अस्तित्व नामेट हुँदै गएको हो, लामाले दाबी गर्नुभयो।
गुम्बामा कोही नआएपछि आफूलाई पनि बस्न मन नलागेको उहाँको तर्क छ । कोही आउँदैनन, कुनै समय पूजा गर्ने मानिसले खचाखच भरिने गुम्बा हिजोआज रित्तै हुँदा आफैलाई वैराग चलेर आउँछ, भक्तजन बस्ने भवन भत्किन लागेको देखाउँदै लामाले भन्नुभयो। अब गुम्बा भत्किए पनि कसैले हेर्ने छैन, उहाँले भन्नुभयो । त्यसैले यहाँ बस्नुभन्दा जानु नै जाति भन्दै आफ्नो गुम्बा सोलुखुम्बुको प्राचीन महत्त्व बोकेको तेङबोचे गुम्बा सँगसँगै निर्माण भएको दाबी पनि गर्दै हुनुहुन्थ्यो।
शेर्पा जातिको बाहुल्यता भएको सोलुखुम्बु जिल्लामा क्रीस्चियनहरुले खाङ्री मिसनअन्तर्गत क्रिश्चियनकरण तीब्र पारिरहेको छ। खाङ्री चर्च बुङकी रोज म्यारी लेप्चाका अनुसार यस अवधिमा सोलुखुम्बुको लुृक्ला, फाक्दिङ, खरीखोला, वाकु र बुङ लगायतको स्थानमा चर्च निर्माण गरिसकेको र बाँकी चार वटा स्थानमा समेत चर्च बनाउने लक्ष्य रहेको छ। (दुर्गम आवाज अन्लाइन- विवश कुलुङ राई)
बेलायतबाट प्रकाशित हुने द गार्डियन पत्रिकामा प्रकाशित रिपोर्ट अनुसार- मकवानपुर जिल्लामा मनहरी भन्ने एउटा सानो बजार छ । उक्त क्षेत्र तामाङ जाति र चेपाङको बाहुल्यता भएको क्षेत्र हो । यस्तो सानो क्षेत्रमा पनि दुई मस्जिद, पाँच बौद्ध गुम्बा, १० वटा मन्दिर र ३५ चर्च निर्माण गरेको रहेछ, अधिकांश मान्छे क्रीस्चियन बन्न पुगेको रहेछ भन्दै अन्तर्राष्ट्रिय रूपमा चर्चित पत्रीकाले स्थलगत रिपोर्टिङ गरेको थियो। (द गार्डियन- पीट प्याटिसन, ४ भाद्र २०७४ आइतबार)
त्यस्तै अर्को गोर्खा जिल्लाको उत्तर क्षेत्रमा पर्ने चुमनुब्री भन्ने एक गाउँ एक दसक अगाडि सम्म बौद्ध बाहुल्य भएको गाउँ थियो। उक्त गाउँमा अहिले ४ घर बाहेक सबै क्रीस्चियन भएको छ । (अन्नपूर्ण पोस्ट साउन ७, २०८१ सोमबार) त्यहाँ एउटा ऐतिहासिक पुरानो चैत्य रहेछ, भत्केर जिर्ण भएर ढल्न पुगेको रहेछ, गाउँले सबै क्रिश्चियन भएपछि बौद्ध चैत्यको हालत त्यस्तो हुनपुगेको रहेछ।
यी माथिल्ला केहि घटनाहरु नमूनाका लागि मात्रै प्रस्तुत गरेको हुँ, दुर्गम क्षेत्रमा बौद्ध बाहुल्य भएको गाउँहरु बिस्तारै सबै रित्तिदै छ। यही गतिमा क्रिश्चियनकरण अगाडि बढ्ने हो भने अबको केहि दसकमा बौद्ध धर्म नेपाल बाट लगभग सकिनेमा कुनै शंका छैन।
नयाँ पत्रिकामा ‘सात वर्षभित्र एक गाउँ एक चर्च बनाउने ग्लोबल मिसनको योजना’ शिर्षकमा एउटा आलेख आएको थियो –
गृह मन्त्रालयअन्तर्गतको सुरक्षा निकायले गरेको एक अनुसन्धानअनुसार पछिल्लो समय इसाईकरणसम्बन्धी गतिविधि तीव्र बनेको छ। राज्यका निकायहरूले अनुसन्धान र कारबाहीमा चासो नदिँदा प्रलोभनमा पारेर धर्म रुपान्तरण दर बढेको उक्त निकायले जनाएको छ । ग्लोबल मिसन नेपाल नामक संस्थाले सन् २०३० भित्र नेपालको ‘एक गाउँ एक चर्च’ लाई लक्ष्य भन्दै आफ्नो वेबसाइटमै राखेको छ। सुरक्षा निकायबाट गृह मन्त्रालय पुगेको अनुसन्धान रिपोर्टले पनि यसलाई उल्लेख गरेको छ।
(नयाँ पत्रिका २o७९ फाल्गुण १४)
लगभग नेपालको ८०% प्रतिशत गाउँमा चर्च घर निर्माण भैसकेको छ, खुलेयाम रूपमा नेपाल सरकारकै स्वीकृतिमा क्रीस्चियनकरण गराउन अरबौं रुपैयाँँ ओइराई रहेकोे छ।
राजधानी पत्रीकामा प्रकाशित एक समाचार- नेपालका ४० जिल्लामा इसाई संघसंस्थाले विभिन्न कार्यक्रममा लगानी गरेको छ। समाज कल्याण परिषद्का अनुसार इसाई नामसँग जोडिएका ६५ वटा एनजीओ गैरसरकारी संस्थाले नेपालको शिक्षा, स्वास्थ्य, दलित, आदिवासी, बालबालिका, कृषिलगायतका क्षेत्रमा साढे २ अर्ब रुपैया बढी लगानी गरेको पाइएको समाचारमा छ ।
‘कुन कुन क्रिस्चियन एनजीओ भनेर हेरेका छैनौं । समग्रमा भन्दा बढी लगानी क्रिस्चियनहरूकै छ,’ समाज कल्याण परिषद्का सूचना अधिकारी हरि तिवारीले भने, ‘समग्रमा हेर्दा ७० प्रतिशत लगानी क्रिस्चियन संघसंस्थाकै रहेको देखिन्छ ।’
(राजधानी दैनिक फागुन १०, २०७५)
नेपालीहरुलाई क्रिश्चियनकरण गराउन यसरी पैसाको खोला बगाइरहेको छ। यतिविघ्न पैसाको खोला बगाएको देखेर तत्कालीन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी नै छक्क परेकी थिइन् । उनले आफ्नो मन्त्री छँदै एउटा अन्तर्वार्ता दिएकी थिइन् । ‘१२ खरी’का रमेश वाग्ले र रोमन आचार्यले लिएको एउटा अन्तर्वार्ताको अंश हेरौं-
तपाईंहरू निकट लोकतान्त्रिक गैरसरकारी संस्था महासंघले नै विरोध गरेको देखियो नि ?
म आउनेबित्तिकै लाइन लागेर राजदूतहरू आउनुभयो । म देशको इज्जत नै बिग्रिने गरी काम गर्न सक्दिनँ । तर पनि अझै म माथि नै आक्रमण हुन्छ । अब चाँडोभन्दा चाँडो मन्त्रालयको कामलाई डिजिटलाइजेसन गरिँदै छ । यसलाई पारदर्शी बनाउने काम हुन्छ । मैले आउनेबित्तिकै ५० वटा फाइल स्वीकृत गरेँ । मेरो टिमले अध्ययन गरेर मात्र फाइनल स्वीकृत गर्छ । मैले यहाँ केही प्रोजेक्ट रोकेर राख्नुपरेको छ । उद्देश्य राम्रो नदेखेर कतिपय फिर्ता गरेँ । कतिपय रोकेर राखेकी छु ।
तपाईं आएपछि प्रोजेक्ट किन रोकिए त ?
रोक्नुपर्ने बाध्यता देखियो नि ! यतिसम्म कि खुलेआम इसाई धर्मको प्रचार गर्ने उद्देश्य राखेर प्रोजेक्ट ल्याइएका छन् । धर्म प्रचार गर्ने उद्देश्य देख्दादेख्दै कसरी स्वीकृत गर्नु ? सचिवबाट तोक लागेर आएका छन् । घरघरमा बाइबल पढाएर हिँड्ने प्रोजेक्ट स्वीकृत गर्न कसरी सकिन्छ ?
खुलेआम धर्म प्रचारकै उद्देश्य राखेर प्रोजेक्ट आउँदा रहेछन् ?
हो । खुलेआम क्रिस्चियन धर्म प्रचारको उद्देश्य राखेर प्रोजेक्ट आउँदा रहेछन् । पहिला पनि उनीहरूले त्यसरी स्वीकृति लिएर काम गरिरहेका रहेछन् । यही मन्त्रालयबाट स्वीकृत दिएर काम भएको भेटियो । तर, अरूले स्वीकृत गरेको भनेर मैले पनि गर्नु त भएन नि ! त्यसकारण छिटो पारदर्शी बनाउनु छ । (१२ खरी प्रकाशित मिति: बिहीबार, माघ २०)
तत्कालीन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको यो भनाइले स्थिति कति गम्भीर मोडमा छ भनेर बुझाउँछ।
यसरी बर्सेनि अरबौं अरब रुपैयाँ पैसाको ओइरो खन्याएर नेपालमा युद्धस्तरमा बौद्ध समुदायलाई इसाईकरण गराइरहेको छ र यसको मारमा सबैभन्दा बढी बौद्ध धर्म परेको छ। बौद्ध धर्मलाई क्रिश्चियनको मारमा परेको छ भनेर स्वदेशी मात्रै होइन देशीविदेशी अन्तर्राष्ट्रिय पत्रपत्रिकामा समेत समाचार छ्यापछ्याप्ती आउँदा पनि नेपालको आफुलाई बौद्ध हुँ भन्ने, आदिवासी/जनजातिका नेता भन्नेदेखि बौद्ध संघ-संस्थाहरु चुइँक्क नबोल्नुको कारण के हुनसक्छ ?
कारण त्यही हो एकातिर गाउँ-गाउँमा सर्वसाधारण बौद्धलाई क्रिश्चियनकरण गर्दै जाने अर्कोतिर हिन्दु र बौद्धलाई लडाइँमा होमेर राख्ने योजना बुन्ने नै क्रीस्चियन मिसनरीको हो। त्यसैले यहाँको जनजाती आदिवासीको नाउँमा नेतागिरी गर्नेहरूलाई तारे होटलमा डिनर गराउँदै विभिन्न जातजातिको नाउँमा संघसंस्था खोलाएर हिन्दुविरुद्धमा मात्रै उफ्रिन डलर दिंदै उफारीरहेको छ।
हिन्दुविरुद्धमा उफ्रिन ल्हारक्याल लामालाई पनि त्यस्तै प्रस्ताव गएको रहेछ, तर उनले त्यो प्रस्ताव स्वीकार गरेनन् । यदि उनीहरुको प्रस्ताव स्वीकार गरेको भए मिलियन होइन बिलियन रुपैयाँ आउँथ्यो भनेर यही अर्बौं रुपैयाँ ल्याएर क्रिश्चियानिटी फैलाउने मिसनरीलाई इंगित गरेर भनेको हो ।
त्यसैले, लारक्याल लामाको कुरा हाम्रा लामाहरुले कहिले बुझ्ने होला… ?!
प्रतिक्रिया