भारतीय सहयोगमा भक्तपुरमा विद्यालय भवन

भारतीय सहयोगमा भक्तपुरमा विद्यालय भवन


भारत सरकारको सहयोगमा निर्मित भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको भवनको उद्घाटन गरिएको छ ।

‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको रु. एक करोड १३ लाख आर्थिक सहयोगमा निर्माण गरिएको सो भवनको सोमबार (३१ भदौ) प्रतिनिधिसभाका सांसद दुर्लभ थापा क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापा, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिमसिना (भट्टराई) र काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँहरुले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गर्नुभयो ।

उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । भारत सरकारको अनुदान सहयोग विद्यालयलाई आवश्यक अन्य सुविधासँगै तीन तले विद्यालय भवन निर्माण गरिएको हो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, भक्तपुरमार्फत यो परियोजना कार्यान्वयन गरिएको हो ।

सन् १९५२ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको महेन्द्र शान्ति माध्यमिक विद्यालय सन् १९९५ मा माध्यमिक तहमा स्तरोन्नत भएको थियो । नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा कुल विद्यार्थी संख्या आठ सय छन्, जसमध्ये ४५ प्रतिशत छात्राहरु छन् ।