शुद्धिकरण अभियान नै अशुद्ध भएपछि…

शुद्धिकरण अभियान नै अशुद्ध भएपछि…


  • विशेष प्रतिनिधि, नवलपरासी

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विगतका दिनमा चलाएको सदस्यता शुद्धिकरण अभियान आफैमा अशुद्ध भएको ठहर भएको छ । जिल्ला, प्रदेश तथा केन्द्रीय समितिमा समेत आफ्नो आसेपासे तथा विभिन्न पेशामा आबद्ध भएकोलाई नेपाल पत्रकार महासंघको सदस्यता प्रदान गरेको पाइएको छ । यस्तै, पश्चिम नवलपरासीमा सदस्यता शुद्धीकरणको नाममा सक्रिय र क्रियाशील पत्रकारहरुको नाम हटाइएको छ भने शिक्षण पेशा, एनजीओकर्मी, ब्यवसायी र निष्क्रिय तथा मृतक समेतको नाम पत्रकार महासंघ नवलपरासीको सदस्यता प्रदान गरिएको छ।

केन्द्रीय समितिले जारी गरेको सर्कुलर अनुसार स्थायी, अस्थायी, करार कर्मचारी तथा अन्य पेशामा आबद्ध रहेका तथा पत्रकारिता क्षेत्रमा लामो समयदेखि निष्क्रिय रहेका र अन्य मापदण्ड बनाइ नेपाल अधिराज्यभर शुद्धिकरण अभियान चलाएको थियो । तर, पश्चिम नवलपरासीमा भने पत्रकारितामा सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गरेका, पत्रकारिताको मूल प्रवाहमा आफ्नो सीप र मेहनत खर्चिएका पत्रकारलाई छानीछानी सदस्यता खोसेको र आफ्नो नियत र स्वार्थमा आसेपासेको सदस्यता बहाली गरेको सक्रिय पत्रकार बृजराज कुश्वाहाले आरोप लगाएका छन् ।

पत्रकार कुश्वाहाले शुद्धीकरणको नाममा पक्षपात गरी सदस्यता नवीकरण नगरेको, योग्य पत्रकारहरुलाई सदस्यता प्रदान नगरेको भन्दै नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीले कार्यसमिति बचाउ अभियान चलाएकोप्रति असन्तुष्टिसमेत जनाउनुभयो । कार्यसमितिमा रहेको तर मिडियामा र पत्रकारीता पेशामा निष्क्रिय रहेकोलाई समेत भोटबैंक बनाएर सदस्यता बचाइएको आरोप लगाएका छन् ।

त्यस्तै, प्रेस युनियन नवलपरासीको अध्यक्ष उमेश बिक ले ‘विधि र प्रकिया मिच्दै क्रियाशील पत्रकार हटाउनु र गैरपत्रकारलाई मतदाता नामावलीमा समावेश गरेको प्रति आपत्ति जनाएका छन् । पत्रकार महासंघ नवलपरासी शाखामा शुद्धिकरण अभियानलाई लजास्पद बनाइएको अध्यक्ष बिकले आरोप लगाएका छन् । शुद्धिकरणको नाममा आफ्ना आसेपासे, निष्क्रिय, कर्मचारी, शिक्षक तथा ब्यवसायीलाई मापदण्डको धज्जी उडाउँदै केन्द्रीय समितिबाट भाद्र २९ गते जारी गरिएको सदस्यको सूचिले प्रमाणित गरेको छ।

जनताको आवाजको रूपमा पत्रकार रहेपनि पत्रकारको छाता संगठनका रूपमा रहेको नेपाल पत्रकार महासंघ आफै सक्रिय पत्रकारलाई शुद्धिकरणका नाममा हटाएर मापदण्डविपरीत सदस्यताको सूचि प्रकाशन गरेको प्रति लामो समयदेखि सक्रिय पत्रकारिता पेशामा क्रियशील युनियन अध्यक्ष बिकले आपत्ति जनाएका छन् । साथै, अन्य जिल्लामा नयाँ सदस्यताको लागि आह्वान गरिए पनि नवलपरासी पटक पटक पहल गर्दा समेत नयाँ सदस्यता नखुलाइकोले नयाँ पत्रकारको लागि अन्याय गरिएको बताए ।

महासंघ श्रमजीवी पत्रकारहरुको छाता संस्था हो भन्नेमा कसैको विमति छैन, तथापि नेपालका अधिकांश श्रमजीवी पत्रकारहरुमा एक सञ्चारमाध्यममा गर्ने पूर्णकालीन पत्रकारिताले जीविका धान्ने सदस्यहरुको संख्या निकै थोरै छ । यो संख्या मोफसलमा जाँदा थप साँघुरिँदै जान्छ । श्रमजीवीको यस बाध्यतालाई महासंघको नेतृत्व हातपार्ने जस्तोसुकै निकायमा रोजगारी गर्ने कर्मचारीहरुलाई पनि सदस्यता प्रदान गर्ने नीतिगत स्वार्थले महासंघमा नराम्रोसँग संस्थागत रुप लिएको देखिन्छ ।

सदस्य संख्या बढाएर नेतृत्व आफूमैत्री बनाउने ध्येयको कोपभाजनमा पुगेको महासंघले सदस्यता वितरणमा सञ्चारमाध्यमबाहेक कर्मचारी, विद्यालय, व्यवसाय, ठेकेदार कम्पनी आदिमा काम गर्नेलाई पनि सामेल गराएको पाइयो । जसले महासंघलाई विशुद्ध पत्रकारहरुको छाता संस्था हुनबाट त रोक्यो नै । अंकगणित हेरेर प्रदान गरिने सदस्यताले त्यसभन्दा डरलाग्दो गरी महासंघको वैधानिकतामाथि नै ठूलो संकट पैदा गर्ने स्थानमा पुर्‍याएको छ ।