बेल्जियममा यसरी मनाइयो मोती जयन्ती

बेल्जियममा यसरी मनाइयो मोती जयन्ती


  • विशेष प्रतिनिधि, युरोप

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियमको आयोजनामा १५८औँ मोती जयन्तीलाई साहित्यिक रचनावाचन एवं श्रद्धाञ्जली अर्पण गरि सम्पन्न गरियो । अनेसासका केन्द्रिय उपाध्यक्ष डिल्ली अम्माईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सम्पूर्ण वक्ताहरूले नेपाली साहित्य र भाषाको उत्थानका लागि मोतीराम भट्टको योगदानको चर्चा गर्दै आफ्ना रचना पाठ गरेर युवाकविको सम्झना गरे । उक्त कार्यक्रममा सबै श्रष्टाहारुलाई स्वागत गर्दै अनेसास बेल्जियमका उपाध्यक्ष लोकनाथ शर्माले युवा कवि मोतीरामको बारेमा चर्चा गरेका थिए।

अनेसासका अध्यक्ष सौरभ कारंजितको सभापतित्वमा सञ्चालित मोती जयन्तिमा विशिष्ट अतिथिको रुपमा अनेसासका सल्लाहकारद्वय ब्रह्मदत्त वाग्ले र पंचम अधिकारी रहेका थिए भने आगन्तुक अतिथिको रुपमा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलाई स्वागत गरिएको थियो ।

त्यस्तै, अतिथिहरु क्रमशः नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा, ओएनएफकी अग्रज महिलानेत्री ईशा गुरुङ, कवि चन्द्र शर्मा, जन सम्पर्क समितिका महामन्त्री प्रकाशराज गिरी, अनेसासकी शुभचिन्तक मुना ताम्राकार लगायतको उपस्थिति रहेको थियो।

जयन्ति समारोहमा नेपालबाट आउनु भएका पत्रकार नेतालाई संघका अध्यक्ष सौरभ कारंजितले खादा लगाएर सम्मान गरे भने कथाकार पंचम अधिकारीको भर्खरै विमोचित कथा संग्रह ‘प्रवाशिको देश हुन्न’ तथा कवि ब्रह्मदत्त वाग्लेको कविता संग्रह ‘उपहार’को विधिवत रुपमा संस्थागत हस्तान्तरण गरिएको थियो। कवि वाग्ले तथा कथाकार अधिकारीले आफ्नो रचनाबारे मन्तब्य दिँदै आफ्नो सृजनानुभुतीहरु र अनुभव बताए । यस अबसरमा च्याप्टरका महासचिव तथा कार्यक्रम संचालक गोपाल दाहालले सचिव जमुना गैह्रेले पठाएको कविता समेत बाचन गरेका थिए।

कार्यक्रमको अन्त्य गर्दै सौरभ कारंजितले अब लक्ष्मी जयन्तीको भब्य तयारीमा लाग्न अनुरोध गर्दै आगामी अन्तराष्ट्रिय सम्मेलन बेल्जियममा गर्नको लागि केन्द्रसँग माग गर्न लागेको जानकारी गराए । त्यस्तै बेल्जियमका स्रष्टाहरुले गरेका सृजनाहरुलाई लक्ष्मी जयन्तीका अवसरमा सम्मान गरिने अग्रिम जानकारी पनि उनले दिए ।