तपाईंले जीवनमा कति पढ्नुभो भन्दा बढी के पढ्नुभो भन्ने कुराले अर्थ राख्दोरहेछ । कति हिँड्नुभो भन्दापनि कहाँ पुग्ने बाटो हिँड्नुभो भन्ने कुराले महत्व राख्दोरहेछ । कति समय बाँच्नुभो भन्दा कस्तो जीवन बाँच्नुभो.. त्यसले माने राख्दोरहेछ ।’
✍ बबिता बस्नेत
प्रकृति र मानिसको शरीरबीच गहिरो सम्बन्ध छ । आफू वरिपरिका रुखलाई हेरौँ, केही वर्ष अघिसम्म कल्कलाउँदो बिरुवा थियो, हुर्किंदै गयो, बढ्दै गयो, फूल फूल्न थाल्यो, फल लाग्न थाल्यो । फूल फुल्दै गर्दा मानिसहरूले ‘आहा…’ भने, ‘कति राम्रो !’ भनेर प्रशंसा गरे, बाटो हिँड्दै गरेका बटुवाले पनि एकछिन उभिएर हेरे, भमराहरू झुम्मिए, वरिपरिको माहोल नै रमणीय बन्यो । फल लागेपछिको अवस्थाको त झन् कुरै भएन, हेर्दै रमाइलो…, खान मिल्ने या नमिल्ने कुनै पनि फल फलेको बेला रुख झन् राम्रो देखियो । चराहरू झुम्मिए, मानिसहरूले फल टिपे र रमाउँदै खाए । कतिपय फललाई असिनाले झाऱ्यो, कति चिचिलैमा निमोठिए, घाम पाएनन् र कतिलाई चाहिँ हावा हुरीले झाऱ्यो । वर्षौंसम्म फल दिएको रुख हेर्दाहेर्दै बिस्तारै कम फुल्न थाल्यो र, थोरै फल दिन थाल्यो । पातहरू झर्न थाले, जिङ्ग्रिङ्ग पर्न थाल्यो । चराहरू बास बस्न छोडे, मानिसहरूको पनि आँखा जान छोड्यो । केही वर्ष जिङ्ग्रिएर अन्ततः रुख मऱ्यो, मर्छ ।
मानिसको जीवन पनि त्यस्तै हो । कलिलो बच्चा बढ्दै गएर युवा बन्यो । युवा महिला, पुरुष या एलजीबीटीआइक्यू जे भएपनि शारीरिक परिवर्तनहरू भए । जीवनमा कहिले उत्साह उमङ्ग छायो त कहिले निराशाले घेऱ्यो । फल लागेका वृक्षको पछिलागे जस्तै गरी धन सम्पत्ति, पद भएका मानिसहरूका पछि कतिपय मानिस लागे र खासै केही नभएकाहरूका पछि मानिसहरूको भीड लागेन । जीवनयात्रा अघि बढाउँदै जाँदा अनेक हुरी, खडेरी, खाल्डाखुल्डी, असिना जीवनमा पनि पऱ्यो । धान्न सक्नेले धाने, धान्न नसक्नेले संसार छोडेर पनि गए, जसरी कतिपय रुखहरू बीचैमा मरेका थिए । रुखका हाँगाहरू छिमलिए जस्तै मानिसका पनि कति इच्छा, आकाङ्क्षा र चाहनाहरू छिमलिए, कतिले मौलाउने मौका पनि पाए । रुखको बोक्राहरू सुक्दै गएर साँघुरिएझैँ मानिसको मुहारमा पनि चाउरी परेर वरिपरि रेखाहरू बस्न थाले, बसे । कालो कपाल फुल्न थालेपछि तिलचामले हुँदै सेतो रङ्गमा परिणत हुन थाल्यो, भयो । फल लाग्न छोडेको रुखलाई झैँ मानिसहरूले अलिक फरक ब्यवहार गर्न थाले । कुनैबेला आफ्ना बोली, शब्दहरू सुन्न अघि-पछि झुम्मिने मानिसका समूह कता गए थाहा भएन, तर आफूले भन्न खोजेको कुरा सुनिदिने कोही भएन । कता कता हराएजस्तो, एक्लिएजस्तो महसूस हुँदाहुँदै जिन्दगी सकियो, सकिन्छ ।
जहाँ गए पनि आकाश उस्तै छ, घाम, जून र ताराहरू उस्तै छन् । मानिसलाई चाहिने कुरा पनि उस्तै छन् । हरेक मानिसलाई खुसी चाहिएको छ, सुख, शान्ति र आफ्नोपन चाहिएको छ । मानिसलाई आफन्तको अभाव छैन, तर आफ्नोपनको अभाव छ ।
जिन्दगीको यो वास्तविकतालाई आत्मसात गर्न त्यति सहज छैन, हुँदैन । त्यसैले त उमेर बढ्दै जाँदा हुने शारीरिक परिवर्तनले हामीलाई पटक-पटक झस्काइरहेको हुन्छ । यति चाँडै मेरो अनुहारमा कसरी चाउरी पऱ्यो ? निधारमा यति धेरै रेखा बस्ने बेला भइसक्यो र ? एउटा, दुइटा गर्दै कति धेरै कपालहरू फुल्न थाले, कपाल फूल्ने बेला भयो र ? यो प्राकृतिक हो… यस्तै हो… भनेर आत्मसात गर्ने भन्दापनि ‘यति चाँडै कसरी यस्तो भयो !’ जस्तो लागिरहेको हुन्छ । स्वस्थ हुँदा र रोग लागेपछिको जिन्दगीका रङ्गहरू फरक हुन्छन्, यात्राहरू फरक हुन्छन् । कहिलेकाहीँ मान्छेले हेर्ने दृष्टिकोणहरू पनि फरक हुन सक्छन् । सजिला र अप्ठ्यारा समयले मान्छे चिन्न सहज बनाइदिन्छ, तथापि कसैलाई चिनेर या नचिनेर हुनेचाहिँ केही होइन । जिन्दगी एउटा अनुभूति हो, तपाईंले जसरी बाँच्नुभयो यो त्यस्तै बन्ने रहेछ । खुशीहरूमा जिन्दगी हाँसेझैँ लाग्छ, दुःखहरूमा रोएझैंँ लाग्छ । आफूलाई कस्तो बनाउने ? खासमा हाम्रो आफ्नै सोचमा निहीत छ, तर प्रायः हामीमध्ये धेरैले आफूलाई कस्तो बनाउने भन्ने कुरा अरुलाई जिम्मा दिइरहेका हुन्छौँ । परिणामतः कसैले फरक ब्यवहार गऱ्यो भने हाम्रा भावनाहरू मात्र तलमाथि हुँदैनन्, जिन्दगी नै खस्किएको अनुभूति हुन्छ । यदि आफूले आफैलाई समय दिएर आफ्नो बारेमा र प्रकृतिको बारेमा अलिकति गहिरिएर सोच्ने हो भने हाम्रो जीवनमा भएका, हुने गरेका घटनाहरू त्यति धेरै असामान्य लाग्दैनन् । कतिपय घटना सन्दर्भमा हामीलाई समय फेरियो जस्तो लाग्छ । खासमा फेरिएको समय होइन, फेरिएका त हामी हौँ ।
मुहारमा कोरिएका अनुभवका रेखाहरूले जिन्दगीलाई झस्काउने भन्दा पनि बाँकी दिनहरू खुशीसँग बिताउन प्रेरणा लिनुपर्ने देख्छु । कसले के खायो, के लायो, किन त्यस्तो गऱ्यो, कसरी त्यहाँ पुग्यो.. जस्ता चासो/चियोचर्चाका कुराबाट मुक्त हुनासाथ जीवन सहज हुन्छ । ‘यो विषयमा केही लेख्नैपर्छ कि के हो !’ भन्ने कुरा माइण्डमा राखिदिने मेरी एक साथीका भनाइले मलाई केही क्षणसम्म उनलाई कसरी पो सम्झाउने हो जस्तो बनाएको थियो । उनले भनेकी थिइन्- ‘कपाल रङ्ग्याउने कलर नभएको भए म त कहिल्यै पनि ऐना हेर्ने थिइन होला ।’ प्रकृतिले फरक बनाउँदै गएको आफ्नो रुप र शरीरसँग आत्तिन थाल्यो भने मान्छेले बाँच्नै नपाइ मृत्युवरण गर्छ । प्रकृति र मृत्युको वास्तविकतालाई स्वीकार्न सक्यो भने कपाल फुल्यो या आफ्नो समय सकिन लाग्यो भनेर धेरै चिन्ता लिनु पर्दैन । ऐना हेर्ने बेलामा दुःखी हुनु पर्दैन । जीवनमा जे निश्चित छ त्यसलाई स्वीकार्दै अघि बढ्ने हो, मुहार चाउरी पऱ्यो भनेर मन खिन्न गर्नु पर्दैन.. मन र मष्तिष्क नचाउरिए पुग्छ ।
हिजोआज भेटिएकामध्ये धेरै मानिसले बुढेसकालमा के होला ? सन्तानले हेर्ने हुन् कि हैनन्, बिरामी भइयो भने उनीहरू कहाँ हुन्छन् होला भनेर चिन्ता गरेको पाइन्छ । हाम्रो समाजमा सन्तानलाई बुढेसकालको लट्ठी अर्थात् सहारा मान्दै आएको कारणले यस्ता चिन्ताहरू मनमा आएका हुन् । हाम्रो पुस्ता नै शायद यस्तो पुस्ता हो जसले बाबुआमालाई आफ्नो उत्तरदायित्व ठान्यो, ठानिरहेको छ । अबको पुस्ताले बाबुआमालाई हेर्ने दृष्टिकोणमा ‘उत्तरदायित्व’ त्यति धेरै महसूस नगर्न पनि सक्छ । उनीहरूको हुर्काइ र हाम्रो पुस्ताको हुर्काइ फरक छ, एकर्कालाई हेर्ने दृष्टिकोण र ब्यवहार फरक छ । सन्तानका लागि भनेर साँचेर राख्ने हाम्रो चलनमा पनि अब परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ । आफूले आवश्यकताअनुरुपको उपभोग नगरी सन्तानका नाममा जतन गरेर राख्दा आफूले मात्र नभइ सन्तानले पनि उपयोग गर्न नपाएका घटनाहरू आफू वरिपरि नै भइरहेका छन् । बाबुआमाले खर्च नगरी जोगाएर राखेको सम्पत्ति सन्तानले उपयोग नगरी आफ्नो गन्तब्यतिर लाग्न पनि सक्छन् ।
स्वस्थ हुँदा र रोग लागेपछिको जिन्दगीका रङ्गहरू फरक हुन्छन्, यात्राहरू फरक हुन्छन् । कहिलेकाहीँ मान्छेले हेर्ने दृष्टिकोणहरू पनि फरक हुन सक्छन् । सजिला र अप्ठ्यारा समयले मान्छे चिन्न सहज बनाइदिन्छ, तथापि कसैलाई चिनेर या नचिनेर हुनेचाहिँ केही होइन ।
आफूमा आएको शारीरिक, मानसिक, आर्थिक, भावनात्मक कुनै पनि परिस्थितिलाई सामना गर्नका लागि हामी तयार हुनुपर्छ । परिस्थितिलाई आत्मसात गर्ने शक्ति भएन भने मानिसको अवस्था कुनैपनि बेला नाजुक बन्न सक्छ । वृद्धा अवस्थालाई कसरी युवा जोशले भरिपूर्ण बनाउने, चाउरिएको मुहारबीच कसरी निर्धक्क खित्का छोडेर हाँस्ने, आफैले बनाउने हो । उमेर वर्षसँग भन्दा बढी उर्जासँग सम्बन्धित छ । युवा अवस्थाको पोटिलो गालाबीचमै पनि मानिस उर्जाविहीन हुनसक्छ र वृद्धा अवस्थामा युवाको जाँगर हुनसक्छ । कपाल र मुहारमा मात्र होइन बिस्तारै-बिस्तारै हाम्रा दृष्टिले नदेख्न सक्छन् । दृष्टि धुमलिए पनि हाम्रा दृष्टिकोणहरू सही भए भने जिन्दगी बाँच्न सहज हुन्छ । कानले सुन्न छोड्न सक्छन्, हिँडडुल गर्न गाह्रो पर्न सक्छ, भविष्यमा आफ्नो रूप र अवस्था कस्तोसम्म हुनसक्छ भन्ने बारेमा हामी स्पष्ट हुँदै अघि बढ्यौँ भने मेरी साथीले झैँ फुलेको कपाल ऐनामा हेर्दा अप्ठ्यारो मान्नु पर्दैन ।
‘समय’ जिन्दगीमा निकै महत्वपूर्ण कुरा हो । आएको समय, गएको पनि समय । आउँदैछ जस्तो लाग्ने पनि समय, जाँदैछ जस्तो लाग्ने पनि समय । जन्मिदाको पनि समय, मर्दाको पनि समय । यही समय हो जहाँ हामी जन्मन्छौँ, यही समय हो जहाँ हामी हुर्किन्छौँ र आफ्नो जीवनका विविध पाटा बिताउँछौँ, यही समय हो हामी मर्छौं । अनि यही समय हो हामी बाँचिरहेका छौँ ।
मेरो यात्रा संस्मरण पुस्तक ‘समय साक्षी’मा मैले लेखेकी छु- ‘प्रकृतिमा जस्तै जीवनमा पनि उज्याला र अँध्यारा समयहरू छन् । एकातिर दिन हुँदा अर्कोतिर रात । दिन र रातको बीचमा हुने साँझ र बिहानलाई प्रायः मानिसले महत्व दिँदैनन् । समयभित्रका समय भन्न मिल्ने साँझ र बिहानले दिन र रातमा हामीले बाँचेको समय कस्तो थियो भनेर बताइरहेका हुन्छन् । प्रकृतिमा जस्तै मानिसको जीवनमा पनि उज्याला र अँध्यारा समयले परिक्रमा गरिरहन्छन् । जहाँ गए पनि आकाश उस्तै छ, घाम, जून र ताराहरू उस्तै छन् । मानिसलाई चाहिने कुरा पनि उस्तै छन् । हरेक मानिसलाई खुसी चाहिएको छ, सुख, शान्ति र आफ्नोपन चाहिएको छ । मानिसलाई आफन्तको अभाव छैन, तर आफ्नोपनको अभाव छ । संसारभरका मानिसको जीवनमा कुनै न कुनै कुराको अभाव छ । यिनै कुराको खोजीमा मानिस एउटा संसारबाट अर्को संसारमा पुगेका छन् । तपाईंले जीवनमा कति पढ्नुभो भन्दा बढी के पढ्नुभो भन्ने कुराले अर्थ राख्दोरहेछ । कति हिँड्नुभो भन्दापनि कहाँ पुग्ने बाटो हिँड्नुभो भन्ने कुराले महत्व राख्दोरहेछ । कति समय बाँच्नुभो भन्दा कस्तो जीवन बाँच्नुभो.. त्यसले माने राख्दोरहेछ ।’ हो, हामी कति समय बाँच्यौँ भन्दापनि कस्तो जीवन बाँच्यौँ भन्ने कुराले अर्थ राख्छ । जीवनमा भोलि कहिल्यै आउँदैन, त्यसैले भोलिको धेरै चिन्ता नगरी आज निर्धक्क बाँचौँ ।
प्रतिक्रिया