डिभोर्स नै अन्तिम विकल्प हो त ?

डिभोर्स नै अन्तिम विकल्प हो त ?


आज म पति-पत्नी बीचको सम्बन्ध बिच्छेद र यसले पार्ने असरका सम्बन्धमा सानो विवेचना गर्दैछु । बढ्दो सम्बन्ध बिच्छेदले दुवैतर्फका परिवार र बच्चालाई पार्ने असर, पति-पत्नी सङ्गै बस्न नसक्ने कारण, वातावरण र अनावश्यक ब्यक्तिगत स्वतन्त्रताका नाममा पश्चिमीकरणले परिवारमा ल्याएको विखण्डनप्रति नियाल्दै छु ।

पति–पत्नी दुवैको पारिवारिक हस्तक्षेप, अरुको देखासिकी, पाश्चात्य संस्कारको कुप्रभाव, अनावश्यक आर्थिक प्रतिस्पर्धाको लहडले पारिवारिक विघटनमा टेवा पुऱ्याउँछ है, समयमै सचेत बन्ने कि… भन्दै खबरदारी गर्दैछु ।

विभिन्न सम्बन्ध वा नाताहरूमा उत्कृष्ट सम्बन्ध मानिन्छ पति-पत्नीको सम्बन्धलाई । ईश्वरले माथिबाट बनाएको जोडीको उपमा पनि दिइन्छ । हिन्दु धर्मअनुसार विवाह बन्धनमा बाँधिदा अग्निलाई साक्षी राखी सात जन्मसम्म साथ निभाउने बाचा गरिएको हुन्छ । ब्राह्मणद्वारा उच्चारण गरिने वेदका मन्त्रहरूले पनि अटुट सम्बन्धको परिकल्पना गरेका हुन्छन् । हाम्रो संस्कारमा यस्तो आपसी सम्बन्धलाई न्यायालयमा गरिने ‘कोर्ट म्यारिज’ भन्दा निकै उत्कृष्ट दर्जा दिइन्छ । हाम्रो वैवाहिक परम्परा त्यसै उच्च श्रेणीको भएको होइन । यहाँ विवाहमा गरिने प्रत्येक कर्मको धार्मिक, सैद्धान्तिक र वैज्ञानिक कारण छन् ।

विवाह बन्धनमा बाँधिदै गर्दा कुनै नवजोडीले सोचेका हुँदैनन् ‘निकट भविष्यमा हामी एकआपसमा अलग हुनेछौँ’ भनेर ।

परापूर्वकालमा रचिएका हाम्रा धर्मशास्त्रले पनि पति-पत्नीको सम्बन्धलाई निकै सुरक्षित सम्बन्ध मानेको छ । धर्मशास्त्रले पति-पत्नीबीचको शारीरिक सम्बन्धलाई पनि समान अधिकार र उपभोगको कल्पना गरेको छ ।

यति महत्वपूर्ण वैवाहिक सम्बन्धलाई हल्कारूपमा बुझ्न र लिन खोज्दा समाजमा अप्रिय घटनाहरू दोहोरिँदैछन् । पति-पत्नीको सम्बन्ध हाम्रा हजुरआमा र आमाको पालामा जस्तो सोच्यौँ र त्यस्तै आशा गऱ्यौँ भने त्यो सम्भव हुनै सक्दैन ।

सुखी, दुःखी, मार्मिक सम्वेदनशील, हाँसो, रुवाइ यी भावनात्मक कुराहरू ब्यक्तिका निजी हुन्छन् । ब्यक्तिपिच्छे यी गुणहरू फरक-फरक हुन सक्छन् । तर आम पति-पत्नी आफूलाई जे ठिक लाग्छ उसले पनि त्यही गरोस् भन्ने ठान्छन् । पतिले सोचेको कुरा पत्नीले सोचिदिनुपर्ने, पत्नीलाई मनपर्ने तत्व पतिलाई पनि मन परिदिनुपर्ने, पतिको हरेक व्यवहार पत्नीले मानिदिनुपर्ने, पत्नीको हरेक व्यवहार पतिलाई मन पर्नुपर्ने ! हो… यही सोचले पति–पत्नीबीच मतभिन्नता सुरु हुन्छ । प्रायः पति-पत्नीबीचको मतभिन्नता यिनै र यस्तै कुराहरूबाट सुरु हुन्छ ।

आफूले झैँ उसले सोचिदिनुपर्ने, बुझिदुनु पर्ने, गरिदिनुपर्ने, जहाँ भन्यो त्यहीँ हिँडिदिनुपर्ने, जे भन्यो त्यही खाइदिनुपर्ने, लाइदिनुपर्ने । यस्तै यस्तै सामान्य कुरा र विचारबाट आपसी सम्बन्धमा खटपट सुरु हुन्छ ।

पति नै सबै हो, उबिना जिन्दगी नै रहँदैन भन्दै पतिको मृत्युमा आफ्नो जीवन समाप्त भएको ठानी सती जाने समय भन्दा हामी निकै नै अगाडि बढिसकेका छौँ । हाम्रा जिजुआमाहरूले भोगेको कष्ट अहिलेका नारीले भोग्नैपर्छ भन्ने छैन । समाजमा कहिँकतै अझै पनि महिलाहरूमा संस्कारी, चरित्रवान, असल, कोमल आदि गुण हुनुपर्छ भन्ने भाष्य यथावत छ । तर यी गुणहरू महिला र पुरुष दुवैको व्यवहारमा देखिएमात्र दाम्पत्य जीवनमा सुख र खुशी मिल्छ भन्ने सबैले ख्याल राख्नु जरुरी छ । आफ्नो दाम्पत्य जीवन के-कसरी चलाउँदा आफुलाई सन्तुष्टि मिल्छ भन्ने कुरा पति-पत्नी दुवैको आपसी व्यवहारले नतिजा दिने कुरा हो । आफ्नो निजी सम्बन्धमा अरु कसैको प्रवेश हुन नदिनु नै आपसी सम्बन्धको डोरी कसिलो र बलियो हुनु हो ।

यसो भन्दैगर्दा पति-पत्नीबीच कुनै प्रकारको गालीगलौज, तिरस्कार, मानसिक तनाव तथा आत्मसम्मानमा चोट पुग्ने कार्य बारम्बार दोहोरिन्छन् भने दमन, कुण्ठा, चरित्रहत्या जस्ता कुरा सहेर पिल्सिएर पति-पत्नी एकसाथ बस्नुपर्छ भन्न खोजेको हुँदैहोइन । कतिपय इस्युहरू कम्प्रमाइज गर्न सकिने खालका हुन्छन् । कहिलेकाहीँ सम्बन्ध बनाइराख्नको लागि एउटा आगो हुँदा अर्को पानी बन्नुपर्ने हुन्छ ।

परम्परा एउटा रुखको पातजस्तै हो, जसमा फेरबदल भइरहन्छ । मुना पलाउनु, मौलाउनु, पहेँलिनु र अन्तमा झर्नु ! तर संस्कार रुखको जरासमान हो, जसलाई सबै मिलेर मलजल गरी बलियो बनाइन्छ तर फेरबदल हुँदैन ।

हाम्रो जीवनशैली परिवर्तन हुँदैजाँदा संस्कारमा पनि परिवर्तन देखिँदैछ । सदियौँदेखि मान्दै आएको संस्कारलाइ जगेर्ना गऱ्यौँ भनेमात्रै हाम्रो पहिचान जोगिनेछ । यस्ता कुरामा पश्चिमिकरणतर्फ फस्दै गयौँ भने भावी सन्ततिलाई सुम्पने कुनै तत्व र ज्ञान हामीसँग रहनेछैन ।

अहिलेको विश्वब्यापीकरणमा पति-पत्नीबीच विचार नमिल्दा, ब्यवहार नमिल्दा, स्तर नमिल्दा, संस्कार नमिल्दा परस्परमा ‘इगो’ देखापर्ने गर्छ । यो समयमा अब एकसाथ अगाडि बढ्न सकिँदैन जस्तो लागेमा आपसी सल्लाहमा अलग हुन सकिन्छ र, हुनु पनि पर्छ । सधैंको झैझगडा, एकआपसमा दोषारोपण, आपसी वैमनष्यताले मानसिक तनाव झेल्नुभन्दा पति-पत्नी अलग हुनु बुद्धिमता हुन्छ ।

सकेसम्म कसैले पनि गाँसिएको सम्बन्धलाई टुक्र्याउन खोज्दैन । तर यसो भन्दैगर्दा हिजोआज हामीकहाँ महिला स्वतन्त्रताको नाममा अलिक बढी नै विकृति फैलिएको छ ।

गत श्रावण महिनामा चलेको कोटिहोम र कथावाचिका देवी प्रतिभाले बोलेको प्रसङ्ग पनि यहाँ जोड्न चाहेँ ।

आम भागवत् कथावाचकले झैँ देवी प्रतिभाले पनि धार्मिक कथामार्फत नैतिक शिक्षा, धार्मिक र ऐतिहासिक परम्पराका साथै हिन्दु संस्कारका महत्वपूर्ण तत्वहरूसँग श्रोतालाई जोडेकी थिइन् । हाम्रा अहिलेका महिलावादी हुँ भन्नेहरूलाई नैतिकता र संस्कारका कुरा त्यति मन पर्दैन, विरोध गरिहाल्छन् । भएको पनि त्यही नै हो । ‘पति-पत्नीको सम्बन्ध बिच्छेद भन्ने कुरा धर्मशास्त्रमा कहीँ उल्लेख छैन’ । बस् यत्ति बोल्दा ब्यक्तिगतरूपमै आलोचित हुनुपऱ्यो देवी प्रतिभा । कथावाचनको शिलशिलामा उनले शास्त्रमा उल्लेख गरिएका कुरा ब्यक्त गरेकीमात्र हुन्, तर उनले आफ्नो ब्यक्तिगत धारणा सुनाएजसरी आलोचना गरियो ।

समकालीन समाजमा ब्यक्तिगत स्वतन्त्रता छ । तर नैतिक शिक्षाको पनि बहुतै खाँचो छ हाम्रो समाजलाई । देवी प्रतिभाको भनाइले महिलाको स्वतन्त्रता र आत्मसम्मानलाई अवमुल्यन गर्ने, महिला अधिकारलाई खुम्च्याउने एकथरीको धारणा छ । यो भनाइले महिलालाई पुरुषले दास बनाउने र परम्परागत भूमिकामा सीमित राख्ने, स्वतन्त्र निर्णय लिन नसक्ने, थिचिएर दबिएर बस्न बाध्य हुनेछन् भन्दै महिला अधिकारकर्मीहरूले विरोध जनाए ।

तर अहिले समाजमा धेरै परिवर्तन आइसकेको छ । महिलाहरू शिक्षा, स्वास्थ्य, राजनीति, सीप ब्यवसाय तथा रोजगारी जस्ता तमाम कुरामा आत्मनिर्भर हुँदैआएका छन् । र, यी काम गर्न स्वतन्त्र पनि छन् । उनीहरू आफै उचित-अनुचित, असल–खराब छुट्याउन सक्ने सामर्थ्य राख्छन् ।

यहाँ विवेचना गर्न खोजिएको विषयबस्तु के हो भने- वैवाहिक सम्बन्ध बिच्छेद नै समस्याको समाधान हुँदैहोइन । दाम्पत्य जीवनमा आउने आरोह-अवरोहलाई केही समय दुवैले शान्तिपूर्वक सोचौँ र आत्मसात गरौँ । आ-आफ्ना गल्ती र कमी-कमजोरी केलाउँ । दुवैले आ-आफ्नो गल्तीलाई प्रायश्चित गरौँ । दुवैको परिवारलाई इज्जतिलो व्यवहार गरौँ । आपसी सम्बन्धमा केटाको बाबु-आमा होस् कि केटीको बाबु-आमा होस् – प्रवेशमा रोक लगाउँ । बार-बार उही गल्ती नदोहोऱ्याउँ । आफ्नो वैवाहिक सम्बन्धलाई साथीभाइ वा आफन्तसँग तुलना कहिल्यै नगरौँ । आफ्नो आर्थिक अवस्थालाई अरुसँग तुलना कदापि नगरौँ । आफूसँग जे छ त्यसैमा रमाउन सिकौँ । आफ्नै हातका पाँच औंला त एक समान हुँदैनन् भने आफन्त र साथीभाइको हैसियत र आफ्नो हैसियत कसरी एक समान होला ? यस्ता कुरामा अलिक ध्यान दिने गरौँ । यति गर्दा पक्कै पनि आपसी सम्बन्धमा सुधार आउनेछ, परिवर्तन देखिनेछ । यति गर्दागर्दै पनि जिन्दगीको रथ एकसाथ अगाडि बढाउन सकिँदैन भन्ने लागेमा कानुनीरूपमा अलग्गिनु नै बुद्धिमानी हुनेछ ।

पति-पत्नीबीचको सम्बन्ध प्रगाढ बनाउन र ब्यवस्थित गर्न केही समय त पर्खनु नै पर्छ । घरको छाना ढलान गरेको भोलिपल्टै त्यहाँ डाङ्डुङ् गर्दै उफ्रन थाल्यौँ भने त्यो ढलान सेट हुन पाउँदैन र पानी चुहिने हुन्छ । ढलान सेट हुन कम्तिमा पनि २१ दिन लाग्छ । त्यस्तै दही जमाउदाँ १०/१२ घण्टा त पर्खनैपर्छ । यदि जम्न नपाउँदै चलायौँ भने त्यो दही बन्नै पाउँदैन । हो, यस्तै हो पति-पत्नीको सम्बन्ध पनि । यहाँ पनि सम्बन्ध प्रगाढ हुन नपाउँदै गिजोलियो वा हस्तक्षेप भयो भने पति-पत्नीको आपसी सम्बन्धमा दरार आउन सक्छ । सामान्य दही जम्नलाई त समय लाग्छ भने दुई अन्जान परिवारका अन्जान दुई सदस्य ‘एक’ हुनलाई केही समय त अवश्य लाग्छ नै ! त्यसैले सम्बन्ध बिच्छेद मात्र समस्याको समाधान होइन ।

शारीरिक दुर्वलता, स्वास्थ्यमा जटिलता जस्ता समस्या हुँदाहुँदै पनि पति वा पत्नी मिहिनेत, विवेक, असल चरित्र, त्याग र समर्पणले महान् बन्न सक्छन् ।

अन्तमा,
गतवर्ष नेपालमा करिव चालिस हजार पाँच सय जोडीको सम्बन्ध बिच्छेद भएछ । यो तथ्यांकले हाम्रो समाजको भयावह दृश्य देखाउँछ । सम्बन्ध बिच्छेद मात्र समस्याको समाधान पक्कै पनि होइन । खराबी ब्यक्तिमा हुन्छ । यसमा माइती वा घर पक्षलाई तारो बनाउनु मुर्खता मात्र हो ।

कैयौँ युवा युवतीहरू सम्बन्ध बिच्छेदकै कारण एक्लिएका छन्, पिल्सिएका छन् । मानसिक सन्तुलन गुमाइरहेका छन् । उनका परिवारमा विचलन आएको छ, परिवार टुक्रिएर बिचल्ली बनेको छ । ‘डिभोर्सी कपल’का सन्तान टुहुरा बनेका छन् । ती अन्जान सन्तानको के दोष ? सन्तानलाई बाबु-आमा दुवैको ममताको आवश्यकता छ । बाबु-आमा दुवैले आ-आफ्नो नयाँ घरजम गर्लान् तर ती अबोध बच्चाको भविष्य अन्धकार बनाइ बाबु-आमा खुशी रहन सक्लान् ? त्यसैले सम्बन्ध बिच्छेद मात्र समस्याको समाधान होइन है ! कमी-कमजोरी आफूभित्रै खोजौँ र प्रायश्चित तर्फ लागौँ ।